रक्तदान सम्बन्धी ज-जसले Volunteering गर्नुहुन्छ, उहाँको जिवनमा मिल्ने काहानी हो यो । यस क्षेत्रमा हुने गरेको गतिविधिलाई NBR,BFN ले उतार्न खोजेको छ । सबैले पढ्नुहोला । धेरै कुरा मनन गर्नुहुनेछ ।। एक डेढ घण्टा अघि पाकेको खाना थालमा पस्किएर खान मात्र के आटेका हुन्छौ । फेरी टिङ टिङ टिङ मोबाइलको घन्टी बज्छ । हतार हतार फोन उठाउछौँ ।
ए दाइ मेरो आमाको आगोले पोलेको भएको भोलि मिसन अस्पतालमा A positive blood चाइने भएको ले सहयोग गरिदिनु न म जिल्ला बाहिर बात आयको यता खोइ चिन्जान छैन ।।
-ए दाई, दाई भर्खरै ताहु मा दुर्घटना भयो । ब्लड बैंकमा नि ब्लड छैन रे । कतै पाइएन । हेल्प गरिदिनु न पिल्ज ।।
– सर भोलि लुम्बिनी मेडिकल कलेजमा टाउको को अप्रेसन छ । धेरै पछि पालो पाएका छौ । तर रगत नै पाइएन । के गर्ने दाई ।
– सर बुटवलमा डेङ्गु लागेर बिरामीको अवस्था साह्रै नाजुक छ । पेटलेट चाहिँदो रहेछ । खोजी दिनुहोस् न । हामीले कोही पाएनौ, चिनेका पनि छैनौ यता।
-दाई दाई मेरो दिदी गर्भवती हुनुहुन्छ। उहाँलाई बेथा लागि सकेको छ । ‘O` नेगेटिभ’ रगत जति खोजे पनि कतै पाइएन । कृपया केहि गरी सहयोग गरिदिनु न । तपाईंहरु ले भने पछि पाइन्छ रे । पिल्ज ज्यान बचाइदिनुहोस् दाइ,भाइ सर आदि सम्बोधनमा मनिलो आवजमा पिल्ज।
यस्ता फोन दिनहुँ कयौं पटक आउछ । हतार हतार सबै तिर फरवार्ड गर्यो । यता खबर गर्यो उता गर्यो । अधेरी रातमा डराइ डराइ रक्तदातालाई फोन गर्यो । बिरामीका आफन्तले नि कल गरेर सोधिरहनु हुन्छ । कहिले काँही त ३०/४० जनालाई कल गर्दा जम्मा १ जना बल्ल तल्ल रक्तदाता पाइन्छ । धेरै अनुरोध गरेर दातालाई राजि बनाउनु पर्छ कहिले त। र अन्तिममा बिरामीको आफन्तलाई कल गरेर रक्तदाताको ’boutमा जानकारी गरायो । ‘बल्ल ढुक्क भइयो’ आफैसँग बोल्यो । मन हल्का हुन्छ ।
अोहो ! खाना त खाएकै पो रै’नछु । झल्यास् भइन्छ । ला ! खाना त चिउरा पो भइसकेछ । केही छैन, यता चिउरा खाएरै पनि उता जीवन त बचाइयो नि आफैसँग गर्व गर्यो र मन बुझायो । यसो ततायो खायो अनि खाटमा पल्टियो ।
घण्टामा १० चोटि फोन गर्ने आफन्तजनले रक्तदाता पाएपछि चटक्कै माया मार्नु हुन्छ । अत्तोपत्तो हुँदैन । रक्तदाताले रक्तदान गर्नुभयो कि भएन केही थाहा हुँदैन । केस अर्को आइसकेको हुन्छ । फोन गरिराख्न मोबाइलको ब्यालेन्सले रोकिदिन्छ । नरोकोस् पनि त कसरी! बुबा आमा खाजा खान दिनुभएको पैसा जोगाएर गरेको रिचार्जले धेरै कल गर्न कहाँ पुग्छ र ! फेरी राती पसल बन्द भइसकेको पनि हुन्छन् नि ।
न त जागिर न त केहि फाइदा। आफ्नै बगलीबाट पैसा सक्यो । दु:ख गरेर रक्तदाता दियो । जानकारी कोही गर्दैनन् । फोन गर्दा नि कल ब्याक आउँदैन । “दाई तपाइँले दिनु भएको मान्छे आएर रक्तदान गर्नुभयो है” मात्र भन्दिए पनि के जान्छ र ? त्यति मात्र भने नि डाटा अपटेड गर्न त पाइन्छ । फेरी तिन महिना पछि रक्तदातालाई कल गरेर अरुको जीवन बचाइ दिनुहोस् भन्न त पाइन्छ । बारम्बार कल गरेर रक्तदातालाई डिस्टर्ब पनि कति गर्नु ।
अाक्रोश पनि आउँछ । अझ आफुले भोगेपछि आफ्नो रगत पनि दान गर्नु नि । अरूको जिवन पनि त बाँच्छ । मतलव गर्दैनन् । स्वार्थीहरू । मनमनै रिस उठ्छ । तर अस्ति त एक जना दाईले “भाई जिवन बचाइदियौ । धेरै धेरै धन्यवाद है तिमी र परिवारलाई र अरू संस्थालाई । जीवन भरी सम्झन्छु तिमीहरुको गुनलाई ।” पनि त भन्नु भएको थियो क्यारे । १०० मा ३/४ जना दाईले फोन गरेर जानकारी दिनुहुन्छ त । किन चिन्ता गर्छस् तँ । उहाँहरू जस्ताको लागि भएनि सेवा गर्न छोड्नु त भएन नि ।
आफैले आफैलाई सम्झायो । अबुझ र स्वार्थी छन् धेरै । बुझेर नि बुझ पचाउने त कति छन् कति । तर केही छैन, समय आउँछ नि बिस्तारै । मनमा अनेक कुरा खेलाउँदा खेलाउदै कति बेला निन्द्रा देबिको काखमा लुटपुटु भएको पत्तै पाँइदैन । र यसै गरी बित्दैछन् यस क्षेत्रमा सेवा गर्ने स्वयंसेवकहरुको दैनिकी ।।
नोट: रक्तदान गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक कार्य हो । यसले मानिसलाई स्वस्थ बनाउँछ , साथै जिवनरक्षा पनि गर्दछ । साथै यस क्षेत्रमा लागेका स्वयंसेवकलाई राम्रो व्यवहार गरौ । आफुलाई रगत चाहिँदा मात्र नभइ र अरूलाई चाहिँदा पनि सहयोग गरौ । यदि समाजसेवा गर्न चाहानुहुन्छ भने हामीसगँ जोडिन सक्नु हुनेछ।।
धन्यवाद !!
लेखक रक्तदान सम्बन्धि काम गर्ने स्वयमसेवक हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७ १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय