Erani Mahal
‘परदेशी –२’को सुटिङ यूनिट पाल्पामा
adilip 2
पाल्पा – चलचित्र ‘परदेशी –२’को सुटिङ अहिले पाल्पामा भईरहेको छ । गत बिहीबारदेखि माथागढी गाउँपालिकाको विभिन्न स्थानमा चलचित्रको सुटिङ भएको हो । कोरोना महामारीका कारण यो चलचित्रको सुटिङ लामो समयदेखि रोकिएको थियो । लकडाउनअघि ७० प्रतिशत बढी सुटिङ सकिएको चलचित्रको अहिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बाँकी सुटिङ गरिएको हो । बिहीवार माथागढी –४ झडेवा देवगीर पुगेको सुटिङ यूनिटलाई स्थानीयबासीले स्वागत गरेका थिए । झडेवा यस चलचित्रका निर्देशक नारायण रायमाझीको गाउँ हो । स्थानीयको स्वागतपछि बिहीवार देवगीरमै चलचित्रको सुटिङ गरिएको थियो । बिहीवार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो । बिहीवार र शुक्रबार दुई दिन आफ्नो दृश्य सकेर दीलिप काठमाडौं फर्किसक्नुभएको छ । छायाँकनका क्रममा दीलिपले पाल्पा आउन पाउँदा आफू सधै उत्साहित हुने बताउनुभयो । [caption id="attachment_15249" align="alignnone" width="768"] -तस्वीर : सुशिल नेपाल[/caption] चलचित्रका अभिनेता प्रकाश सपूत, प्रशान्त तामाङ्, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारहरु सुटिङका क्रममा पाल्पामा हुनुहुन्छ । माथागढीको झडेवा, कसेनी, सराई लगायतका स्थानमा चलचित्रको छायाँकन हुने निर्माणपक्षले जनाएको छ । निर्देशक रायमाझीले १७ गतेसम्म पाल्पामा छायाँकन गरिने ईरानीमहललाई बताउनुभयो । उहाँले चलचित्रको कथाले दर्शकको मनछुने बताउनुभयो । रमेश विजीले लेख्नुभएको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गर्नुभएको हो । चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहेको छ । गायन क्षेत्रमा ख्याति कमाउनुभएका प्रकाश यसै चलचित्रमार्फत अभिनेताका रुपमा देखा पर्दै हुनुहुन्छ । नारायण रायमाझीको निर्माण/निर्देशन, प्रकाशको अभिनयमा डेब्यू, अन्य चर्चित कलाकारहरुको अभिनय भएका कारण पनि चलचित्रलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । नारायण रायमाझीले निर्देशन गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएका थिए । उहाँले आफूले बनाउने चलचित्रको छायाँकन पाल्पामा पनि गर्दै आउनुभएको छ । यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update