Erani Mahal
रामायणी पृष्ठभूमिमा आधारित‘लाटो साथी’को उपन्यास ‘शान्ताकुञ्ज’का पात्रहरु
Pus
हिमवद्देश नेपालका ऋषि ऋष्यश्रृङ्गले पुत्रकाम यज्ञ गरिदिदा यता चुडिन लागेको इक्ष्वाकुको वंश धानियो । उता अञ्जना र केशरीको वंश विस्तार भयो । श्रृङ्गी नभएका भए पुत्रेष्टि हुने थिएन । पुत्रेष्टि नभएका भए राम र हनुमानको अवतार हुने थिएन् । सूर्यवंशी राजा दशरथ अस्ताएपछि वैवस्वतमनुको वंशमा फेरि अर्को विहानी आउने थिएन । नयाँ सूर्योदय हुने थिएन । यो सबै ऋषिश्रृङ्गीकै पराक्रम हो । मधुवन महिमा हो । कपिलवस्तुको कीर्ति हो र हिमवद्देश नेपालको गौरव ! उल्लेखित कथन लाटोसाथी द्वारा लिखित तथा शान्ताकुञ्ज, मधुवनधाम, कपिलवस्तुद्वारा प्रकाशित रामायणी पृष्ठभूमिमा आधारित उपन्यास शान्ताकुञ्ज(२०७१)को निष्कर्षको सार हो । लाटोसाथीको आधिकारिक नाम प्रा.डा. विष्णुराज आत्रेय हो । माता शारदादेवी र पिता देवराज आत्रेयका सुयोग्य सुपुत्र विष्णुराज आत्रेयको जन्म वि.स. २००३ साल पौष २५ गतेका दिन रश्मि निलय कपिलवस्तुमा भएको हो । नेपालीमा नव्य व्याकरणाचार्य, राजनीतिशास्त्रमा एम.ए.विधावरिधीको शिक्षा हासिल गर्नु भएका आत्रेयज्यू नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य समेत रही नेपाली, संस्कृत र अबधी भाषामा तीन दर्जन भन्दा बढी पुस्तकाकार कृतिहरु प्रकाशित गरिसक्नु भएको छ । लाटोसाथीको यशस्वी कलमले हिमवद्देश नेपालको गौरवमय ऐतिहासिक अस्तित्व र सभ्यताको प्रतीकको रुपमा लेखिएको कालजयी उपन्यास शान्ताकुञ्जका पात्रहरुको यहाँ संक्षेपमा चर्चा गरिएको छ । १.शाान्ताः शाान्ता अयोध्याका राजा दशरथ र रानी कौशाल्याकी जेष्ठ सुपुत्री, मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रकी दिदी तथा ऋषि विभाण्डककी बुहारी हुन् । उनको जन्म अयोध्यामा भएता पनि सम्पूणर् लालनपालन अङ्गदेशमा भयो । यौवनवस्थामा मात्र उनले आफु राजा दशरथ र रानी कौशल्याकी पुत्री भएको थाहा पाईन् । आइमाईको मुख हेर्दै नहेर्ने भनी घोर तपस्या गरेका ऋषि श्रृङ्गीसँग यिनको विवाह भयो । यिनको चातुर्यताले अङ्गदेश र अयोध्या दुवैमा सहकाल आयो । यिनको आश्रम शाान्तकुञ्ज मधुवनधाम हो । शाान्ता यस उपन्यासको नायिका र प्रमुख पात्र हुन् । २. श्रृङ्गी : श्रृङ्गी हिमवद्देश नेपालमा ऋषि ऋष्यश्रृङ्ग हुन् । यिनी ऋषि विभाण्डक र हरिणी (जनावर) का पुत्र हुन् । ऋषि विभाण्डकले पुत्र श्रृङ्गीलाई कुनै पनि आइमाईले मायाजालमा फसाउन नसकुन भनेर योग साधनाद्वारा आफु भन्दा पनि धेरै विद्धान बनाए । तर अफसोच अञ्जानमै यिनी शान्ताको मायाजालमा फसे । शान्तासँग यिनको विवाह भयो । यिनले सहकाल ल्याएर अङ्ग देशको कल्याण गरे । ससुरा दशरथको अनुरोधमा पुत्रेष्टि यज्ञ गरिदिए । यिनकै यज्ञको प्रभावले विष्णु अवतार राम, रुद्र अवतार हनुमानका साथै भरत, लक्ष्मण र शत्रुघनको जन्म भयो र इक्ष्वाकु वंश धानियो । यिनी यस उपन्यासका नायक र पराक्रमी पात्र हुन् । ३.विभाण्डक : ऋषि विभाण्डक कश्यप ऋषिका पुत्र हुन् । कौशिकी टतमा यिनको आश्रम थियो । इन्द्रको ईश्र्याको कारण उर्वसीले यिनको तपोभंग गरिदिईन । बिना विवाह, बिना पत्नी यीनी एकाएक श्रृङ्गीका बाबु बने । आफुलाई नारीले फसाएकोले पुत्रलाई जीवनभर नारीको छाया पर्न नदिई हुर्काए । अन्ततः नारीसँग प्रतिशोध होइन सम्झौता गरी प्रारब्धको कर्म भोग्नु पर्ने रहेछ , भन्ने निष्कर्षमा पुगे । उपन्यासमा ऋषि विभाण्डक सचेत अभिभावकीय पात्रको रुपमा रहेका छन् । ४. हरिणी : उर्वसीले ऋषि विभाण्डकको तपस्या भङ्ग गरिदिदा विभाण्डकको रतस् र तेजस् जलमा खस्न पुग्यो । तिर्खाएकी हरिणीले जल पिउँदा रतस् र तेजस् निल्न पुगिन र उनलाई गर्भ रह्यो । गभिणर्ी हरिणीको हाउभाउ देख्दा ऋषिले ध्यानदृष्टिले हेर्दा आफ्नो पुत्र हरिणीको गर्भमा रहेको थाहा पाए र निगरानीमा राखे । शिशु श्रृङ्गीलाई जन्म दिनासाथ हरिणीको मृत्यु भयो । उपन्यास भित्रको मानवेत्तर पात्र हरिणी पूर्व जन्मको देवकन्या थिईन् । ५.दशरथ : दशरथ अयोध्याका राजा हुन् । युवराज छँदा गुरुकूलमा बालसखा अङ्गदेशका युवराज रोमपादसँग घनिष्ठता रह्यो । दीक्षित भई फर्कर्ने समयमा दुवै युवराजले विवाह र सन्तान प्राप्ती पछि पुत्र-पुत्री जे भएनि साट्ने र मित्रता अझ दरिलो बनाउने वाचा बन्धन गरे । रानी कौशल्याबाट जन्मिएकी पुत्री शाान्तालाई दशरथले नावालकै अवस्थामा मित्र राजा रोमपादलाई सुम्पिए । सन्तान प्राप्तिका लागि भनेर दशरथले सुमित्रा र कैकेयीलाई समेत विहे गरे । बूढेशकालमा ज्योतिषिको सल्लाह अनुसार त्यागिएकी छोरी ज्वाईलाई स्वीकार गरी अयोध्या ल्याई पुत्रेष्टि यज्ञ गर्नाले सन्तान प्राप्ति हुन्छ भनेपछि राजा दशरथले पुत्रेष्टि र अश्वमेधयज्ञ सम्पन्न गरे । उपन्यासमा राजा दशरथ सत्यवादी पात्रका रुपमा रहेका छन् । ६. रोमपाद : रोमपाद अङ्गदेशका राजा हुन् । युवराज छँदा दशरथसँग यिनले मित्रताको लागि सन्तान साट्ने प्रस्ताव गरेका थिए । यिनका सन्तान भएनन् । दशरथपुत्री शाान्तालाई यिनले सम्पूणर् राजकीय गुणले भरिभराउ हुने गरी शिक्षित र दीक्षित बनाए । शाान्तालाई पाएपछि अङ्गदेशमा सुख शान्ति र समृद्विले भरिपूणर् हुँदै गयो । राजकुमारी शाान्ता सहित योग्य राजकुमार ज्याईलाई राज्य सुम्पने उनको धोको थियो । तर पुरा हुन सकेन । उपन्यासमा राजा रोमापाद कर्तव्यपालक पात्रको रुपमा रहेका छन् । ७. कौशल्या: कोशल राजकुमारी कौशल्या राजा दशरथकी जेठी रानी हुन् । यिनले पुत्री शान्ता जन्माईन् । पतिको वाचाबन्धन पुरा गर्न सुत्केरी अवस्थामै पुत्रीलाई राजा रोमपादको हातमा सुम्पिइन् । यिनैले राजा दशरथलाई हर सुख दुःखमा साथ दिईन् । सन्तान प्राप्तिकै लागि भनेर सुमित्रा र कैकेयीसँग राजा दशरथको विहे गरिदिईन् । उपन्यासमा रानी कौशल्या आदर्शनारी पात्रको रुपमा रहेकी छिन् । ८.कपिल : कर्दम ऋषि र देवहुतिको कोखबाट नौ कन्या र एक पुत्र पैदा भए । यिनै एक पुत्र कपिल हुन् । यिनै कपिल मुनि साङ्यदर्शनका उपदेशक भए । उपन्यासमा कपिलमुनि, कपिलभूमि, कपिलधाम, कपिलगंगाको संक्षेपमा पुष्ट्याई गरिएको छ । ९.ब्राहमण : अङ्गदेशको छिमेकमा बस्ने एक गरीब ब्राह्मण थिए । उनी केही अपेक्षा गरी राजा रोमपादको दरवारमा माग्न आए । तर अफसोच सिपाहीहरुले उनको गिल्ला गरे । भोक तिर्खा र गरीवीले छट्पटिएका उनले श्राप दिए । ब्राह्मणको श्रापले अङ्गदेशमा अनिकाल पर्‍यो र चारैतिर हाहाकार मच्चियो । १०.जादुगर्नी : ऋषि ऋङ्गीलाई ल्याएर कार्य सम्पन्न गर्नाले सहकाल हुन्छ भनि ज्योतिषिले भनेपछि राजा रोमपादले एक इन्द्रजाली मायावी महिला जादुगर्नीलाई झिकाए । जादुगर्नी राजी भईन् । आइमाईको मुखै नदेखेका ऋषि ऋङ्गीलाई लिन शाान्ता समेत भई उनी गईन् । जादा र आउदा उनले चित्रविचित्र देखाईन् । जादुको प्रभावले ऋषि विभाण्डकले निर्माण गरेको सुरक्षा सीमा पनि तोडिदिईन् । आफ्नो मायाजालले अपूर्व मायाको मधुवन निर्माण गरिन् । शान्तालाई मायावी कोड सिकाईन् । शाान्ताले ऋषि ऋङ्गीलाई बशमा पारेको र मनपराएको थाहा पाएपछि खुसीले मायावी मधुवन शाान्ताको लागि दाइजो भरेर दिईन् । घटनाक्रम संक्षेपमै भएपनि यस उपन्यासमा जादुगर्नी, मायावी महिला चमत्कारिक पात्रको रुपमा रहेकी छिन् । ११.सुमन्त्र : सुमन्त्र अयोध्याका महामन्त्री हुन् । राजा दशरथको आज्ञा अनुसार उनी राजकुमारी शान्ता र ज्वाई ऋङ्गीलाई लिन जान्छन् । तर शान्ताले थुप्रै पीडामय गुनासो गरेकाले उनी रित्तै फर्कन्छन् । १२. सरयू : सरयू शान्ताकी धाई आमा हुन् । राजा दशरथ र रानी कौशल्याले शान्तालाई राजा रोमपादकहाँ छोडेर आउँदा सरयूलाई शान्ताको सुसारको लागि छाडेका थिए । यौवनावस्थामा एकदिन कुरै कुरामा धाइ आमा सरयूले शान्ता राजा दशरथकी औरस पुत्री र राजा रोमपादकी दत्तक पुत्री भएको गोप्य कुरा खुस्काए पछि शान्ता भुमरी भित्र बाँचेकी हुन्छिन् र परिवर्तनको संवाहकको रुपमा सक्रियता बढाउँछिन् । १३. अन्य पात्रहरु : उर्वसी, सुमित्रा, कैकेयी, रोमपादकी रानी, शान्ताका सखीहरु, अरुन्धती, अञ्जना यस उपन्यासका नारी पात्राहरु हुन् भने इन्द्र, वशिष्ठ, ज्योतिषि, त्रिकालदर्शी, श्रवणकुमार, सारथी आदि पुरुष पात्रहरु हुन् । गाई, गिद्ध तथा पशुपंक्षीहरुले समेत यस उपन्यासमा आवश्यक स्थानमा मानवेत्तर पात्रका रुपमा भूमिका निर्वाह गरेका छन् । संसारकै अनौठो प्रेम आख्यान रहेको औपन्यासिक कथा शान्ताकुञ्ज मधुवनधाम, कपिलवस्तु नेपाल केन्द्रित रहेको छ । शान्ताकुञ्ज उपन्यासमा कथानकलाई अघि बढाउन विभिन्न ऐतिहासिक पात्रहरुले संवाहकको कार्यसम्पादन गरेका छन् । पात्र/चारित्रीकरणको रुपमा मानव र मानवेत्तर प्राणीहरुलाई समय सन्दर्भ परिस्थितीको घटनाक्रम अनुसार उपन्यासमा उपस्थित गराउदै कथा र कथानकलाई कुतुहल तथा रोमाञ्चपूणर् बनाइएको छ । औपन्यासिक कथाको सुरुवात र अन्त्य सुन्न सुनाउन, बुझ्न बुझाउनका लागि सबैले एक पटक यो पठनीय, महनीय, मननीय, उदाहरणीय, अहरणीय, संङ्ग्रहणीय रामायणी पृष्ठभूमिका आधारित उपन्यास शान्ताकुञ्जको स्वाध्ययन गरी रस्वादन गरिएमा भौतिक आध्यात्मिक एंव बौद्धिक तीनै प्रकारको सुख र सन्तोष प्राप्ति हुनुका साथै मानव जीवन धन्य हुनेछ । लेखक पाल्पा साहित्य समाजकाे अध्यक्ष हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update