Erani Mahal
अर्याललाई ‘विनय कसजू ग्रामीण पत्रकारिता पुरस्कार’
Rajesh_kumar
पाल्पा - विनयकुमार कसजू स्मृती प्रतिष्ठानले पहिलो ‘विनय कसजू ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेशकुमार अर्याललाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरामा दुई दशकदेखि कार्यरत अर्याललाई पुरस्कार दिने निर्णय गरेको हो । रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पु¥याएवापत उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव जीवन भण्डारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष समेत रहनुभएका तानसेन नगरपालिका वडा नं. ९, दमकडाका स्थानीय बासिन्दा अर्याललाई कसजूको पहिलो स्मृती दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएको हो । उपयुक्त समयमा कसजूको गृहजिल्ला पाल्पामै समारोह आयोजना गरेर पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले कसजूको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको हो । वि.सं. २००४ सालमा पाल्पाको तानसेनमा जन्मिनुभएका कसजूका बालसाहित्यसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित छन् । गाउँले जनजीवनका लागि उपयोगी ‘देउराली’ पत्रिका निकालेर कसजूले नेपालमा ग्रामीण पत्रिकाको शुरुवात गर्नुभएको थियो । गत वर्ष आजकै दिन दिवङ्गत हुनुभएका ग्रामीण पत्रकारिताका अगुवा, सहित्यकार एवं पहिलो प्रमुख सूचना आयुक्त कसजूको स्मृतीमा केही महिना अगाडी प्रतिष्ठान स्थापना भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update