Erani Mahal
पाल्पा सीसीएमसीको बैठक, कोरोना रोकथामका लागि गरियो यस्ता निर्णय
CCMC_palpa
पाल्पा –कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहजिकरण, सहयोग, समन्वय र अनुमगन लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नका लागि पाल्पामा जिल्लास्तरीय सीसीएमसीको बैठक बसेको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा तानसेनमा बसेको बैठकले विभिन्न ४ बुँदे निर्णय गरेको छ । यस्ता छन् निर्णय : १. हाल पाल्पा जिल्लामा जोखिमको अवस्था कायमै रहेको देखिएकोले कोभिड –१९ को संक्रमण रोकथामका लागि मास्कको अनिवार्य प्रयोग गर्ने÷गराउने ब्यवस्था गर्न, स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य मापदण्ड पालना गराउन आवश्यकता अनुसार परीक्षणको सहज व्यवस्था मिलाई तथा वडा तहसम्म सक्रियताका साथ परिचालन हुने गरी संक्रमण फैलिन नदिने व्यवस्था मिलाउन सबै नगरपालिका तथा गाउँपालिकालाई लेखी पठाउने । २. शिक्षण संस्थाहरुको पठनपाठन र परीक्षा सञ्चालनका सम्बन्धमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण पालना गर्ने व्यवस्था गर्ने र सम्बन्धित पालिकाबाट नियमित अनुगमनको व्यवस्था मिलाउने । प्राथमिक तहका स–साना विद्यार्थीहरुका लागि विशेष सतर्कता अपनाई शिक्षणको उपयुक्त व्यवस्था गर्न आवश्यक हुने भएकाले सो को व्यवस्थापनका लागि समेत सबै पालिकाहरुलाई लेखी पठाउने । ३. यस जिल्लामा संक्रमितलाई सर्वसुलभ र सहज उपचारको व्यवस्था मिलाउन, सरकारको नीति अनुरुप उपचार व्यवस्थापन गर्न र उपचार कक्षको उपयुक्त गुणस्तर कायम गरी व्यवस्थापन गर्न जिल्लाका सम्बन्धित सबै अस्पतालहरुलाई निर्देशन दिने । जिल्ला स्वास्थ्य कार्यालयले सो को अनुगमन गर्ने । ४. संक्रमितलाई नियमित रुपमा सम्पर्क गरी सल्लाह, सुझाव, उपचार, परामर्श गराउने व्यवस्था उपलब्ध गराउने व्यवस्था सम्बन्धित पालिकाले मिलाउने । सो को व्यवस्थापनको अनुगमनको व्यवस्था जिल्ला स्वास्थ्य कार्यालयले गरी आगामी बैठकमा प्रतिवेदन पेश गर्ने ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update