Erani Mahal
आठ महिनादेखि बन्द रानीमहल अझै खुलेन, कहिले खुल्छ ?
Ranimahal
पाल्पा - कोरोना भाइरसको महामारी शुरु भएसंगै बन्द भएको पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल अझै खुल्न सकेको छैन् । सरकारले गत शुक्रबार स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकीय स्थल खुला गर्ने निर्णय गरेपनि रानीमहल अझै खुला गरिएको छैन् । रानीमहल खुला नहुँदा टाढाटाढाबाट आएका पर्यटकहरु बाहिरबाटै फोटो खिचाएर फर्किरहेका छन् । यसको व्यवस्थापन र संरक्षणको जिम्मा पाएको तानसेन नगरपालिकाले अब स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रानीमहल खोल्ने तयारी थालेको जनाएको छ । नगरप्रमुख अशोककुमार शाहीले रानीमहल खोल्ने विषयमा छलफल भईरहेको बताउनुभयो । ‘कसरी खुला गर्न सकिन्छ भन्ने विषयमा छलफल भईरहेको छ । अब छिट्टै खुला गर्नेछौं’– नगरप्रमुख शाहीले ईरानीमहलसँग भन्नुभयो । उहाँले व्यवस्थापन पक्ष राम्रो बनाएर मात्र रानीमहल खुला गरिने बताउनुभयो । टाढाटाढाबाट पर्यटकको आगमन हुने हुँदा रानीमहल खोलिँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिने पनि बताउनुभयो । रानीमहल पर्यटकका लागि खोलिनुअघि त्यहाँ सरसफाई गर्न आवश्यक रहेको बताउनुभयो । ‘लामो समय बन्द रहेका कारण सरसफाई नगरी खुला गर्न मिल्ने अवस्था छैन् । दरबार परिषरमा झार पलाएको छ, परिषर फोहोर भएको छ । त्यसको सरसफाई गरेर मात्र दरवार खोल्ने तयारी हो । स्थानीयहरुसंग पनि छलफल गरिरहेका छौं, ’– नगरप्रमुख शाहीले भन्नुभयो । लकडाउन खुला गरिएपछि रानीमहलको गेट बन्द भएपनि आन्तरिक पर्यटकको भने चहलपहल छ । दशैं–तिहारको समयमा रानीमहल पुग्ने पर्यटकको चहलपहल बाक्लो थियो । तानसेन –१३ बौघागुम्बास्थित कालीगण्डकी नदी किनारमा रानीमहल दरबार अवस्थित छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update