Erani Mahal
तानसेनमा अव्यवस्थित पार्किङ् र सडक हडप्ने कार्य राेकिने !
tansen-bazar
पाल्पा – तानसेनमा बढेको अव्यवस्थित पार्किङ् र सडक हडप्ने कार्यलाई व्यवस्थित गर्न सरोकारवालाको बैठक बसेर विभिन्न निर्णय गरेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बिहीबार तानसेनमा बसेको बैठकले तानसेन नगरपालिकाले सात दिनभित्र पार्किङ् स्थलको निर्धारण गर्ने र मर्मतसंभार गर्ने निर्णय गरेको छ । नगरपालिकाले नै पार्किङ् स्थलको व्यवस्थापकीय कार्य समेत गर्ने निर्णय भएको छ । यस्तै बैठकले पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले तानसेनको सडक अगाडि पसलेले अनाधिकृत रुपमा राखेका सामान तीन दिनभित्र हटाउन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रहरी, ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली बनाएर २०७७ मङ्सिर ७ गतेदेखि तानसेन बजारमा राखेका अनाधिकृत सामान हटाउने र पार्किङ् गरिएको सवारीसाधनको अनुगमन गर्ने र कानुनी कारबाहीमा जाने निर्णय भएको छ । यस्तै सवारीसाधनको आवतजावत व्यवस्थित गर्न जेब्रा क्रसिङ्, पार्किङ्को सुबिधा तथा अन्य सुधारको लागि अध्ययन् गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी न्यौपाने, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, प्रहरी प्रमुख सन्तोषकुमार भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका उपाध्यक्ष थानेश्वर गैरे, ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकी लगायतको सहभागिता रहेको थियो । पछिल्लो समय तानसेनमा अव्यवस्थित रुपमा पार्किङ गर्ने कार्य बढेको, पसल अगाडि व्यापारीले सडक जाम गरेर व्यापार गर्ने गरेको, तानसेनका सडक भद्रगोल देखिएको गुनासो बढेको थियो । सोही गुनासोलाई मध्यनजर गर्दै प्रशासन तथा सरोकारवालाको बैठकले तानसेनमा व्यवस्थित पार्किङ् र अनाधिकृत सडक हडप्ने कार्य रोक्न यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update