Erani Mahal
पाल्पामा एकैदिन तीन दुर्घटना : एक जनाकाे मृत्यु, चार घाइते
bike_accident
पाल्पा – पाल्पामा एकै दिन तीन स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको निस्दी–७, ज्यामिरेमा ना ८ ख ७९०५ नम्बरको ट्रिपर दुर्घटना हुँदा ट्रिपर चालक सिन्धुपाल्चोक जिल्ला सागाचोक गढी नगरपालिकाका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ । चुनढंगा लिएर नवलपरासीतर्फ लागेको ट्रिपर मंगलबार दिउँशो दुर्घटनामा परेको हो । यस्तै जिल्लाको तानसेन–५, धरमपानीमा लु ६४ प ९८५९ नम्बरको मोटरसाइकलले धरमपानीको भित्री सडकमा एक जना बालकलाई ठक्कर दिदा बालक गम्भीर घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट तानसेन शिवपोखरीमा मावल आएका नवलपरासी त्रिवेणी गाउँपालिका–५, का ४ वर्षका बालक प्रयास पछाई गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बालकको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । [caption id="attachment_14925" align="alignnone" width="768"] प्रतिकात्मक तस्वीर[/caption] यस्तै जिल्लाको रामपुर–५, मा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । रामपुर पाँचकुनेबाट विजयपुर जाँदै गरेको लु २२ प ४०२८ नम्बरको मोटरसाइकल र किसानबारीतर्फ जाँदै गरेको प्र.०२–०९९ प ३०९४ नम्बरको मोटरसाइकल मंगलबार दिउँशो ठोक्किदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन् । घाइते हुनेहरुमा रामपुर–३, बगाहा बस्ने ३४ वर्षका सूर्यबहादुर मल्ल, झापा जिल्ला मेची नगरपालिका १० का ३५ वर्षीय गोविन्द सापकोटा र रामपुर– ५ बस्ने १७ वर्षका विवश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । प्रहरीले थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update