Erani Mahal
पाल्पामा धान उत्पादन बढ्ने
1
पाल्पा – यो वर्ष पाल्पामा धान उत्पादनमा बृद्धि हुने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । धान खेतीका लागि पर्याप्त पानी परेको र धान खेती गर्ने क्षेत्रफल बढेकाले यो वर्ष धान उत्पादन बढ्ने ज्ञान केन्द्रले जनाएको छ । समग्रमा यो वर्ष धान उत्पादन हुने कुल भूभागको ९५ प्रतिशतमा खेती भएको थियो । विगतमा ९० प्रतिशत भूभागमा मात्र धान खेती हुँदै आएकोमा यो वर्ष लकडाउनका कारण र आकाशे पानी पर्याप्त परेका कारण टारी खेतमा समेत खेती भएको केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । आफूहरूले गरेको नमूना परीक्षणमा हाइब्रिड धानको उत्पादन बढेको देखिएको र अन्य जातका धानको जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो । गत वर्ष आठ हजार ६०० हेक्टरमा धान खेती भएकोमा यो वर्ष बढेर नौँ हजार हेक्टरमा रोपाईँ भएको उहाँले बताउनुभयो । यस वर्ष पाल्पाका किसानले समेत धान उत्पादनमा बृद्धि भएको बताएका छन् । किसानले पर्याप्त पानी पाएका कारण धान उत्पादन बढेको बताएका छन् । पाल्पाको अन्नभण्डार माडी रुप्सेका किसान धनबहादुर थापाले गत वर्षभन्दा यो वर्ष प्रतिरोपनीमा झण्डै एक मुरी धान बढी फलेको बताउनुभयो । ‘पोहोर पाँच रोपनी खेतमा २५ मुरी धान फलेकोमा यो वर्ष ३१ मुरी धान फलेको छ उहाँले भन्नुभयो । टारी खेतमा यो वर्ष पानी पर्याप्त पुगेकाले धान धेरै फलेको उहाँले बताउनुभयो । थापाको मात्र होइन, कसेनीका मानबहादुर कुमालले पनि यो वर्ष धान विगतका वर्षमा भन्दा धेरै फलेको बताउनुभयो । यो वर्ष विगतमा भन्दा पानी परेको र रोग पनि खासै नलागेका कारण धान धेरै फलेको उहाँको अनुभव छ । पोहोर धान रोपेपछि सेते रोग लागेको र पाक्ने बेलामा पोके रोग लागेपनि यो वर्ष माडीमा खासै रोग नदेखिएको उहाँले बताउनुभयो । पाल्पाको अर्को फाँट रामपुरमा समेत यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । पाल्पाका अधिकांश स्थानका किसानले यो वर्ष धान उत्पादनमा बृद्धि भएको बताएपनि कृषि ज्ञान केन्द्रले भने अझैँसम्म यकिन तथ्यांक दिन सकेको छैन । ज्ञान केन्द्रले कोरोनका कारण कतिपय स्थानीय तह बन्द भएकाले धान उत्पादनकाे तथ्यांक आउन ढिला भएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update