Erani Mahal
तानसेन नगरपालिका जमानी बसेपछि सहुलियतमा विनाधिताे ऋण पाउँदै युवा
Tansen-nagarpalika-1
पाल्पा – तानसेनका युवा तथा उद्यमीले विनाधितो सहुलियत ऋण पाएका छन् । तानसेन नगरपालिका जमानी बसेपछि ५५ जना युवा तथा महिलाले विनाधितो दुई करोड १६ लाख कर्जा पाएका हुन् । कृषि तथा पशुपालन क्षेत्रका २३, महिला उद्यम गरिरहेका २४, दलित समुदायका चार, विदेशबाट फर्किएका दुई गरी ५५ जना युवाले सहुलियतमा ऋण पाएका हुन् । नेपाल बैँक पाल्पा शाखाले ऋण प्रदान गरेको हो । बैँकका शाखा प्रवन्धक सुरज घिमिरेले नगरपालिकासँग गत २०७७ असार १८ गते भएको सम्झौता अनुसार सहुलियत दरको कर्जा लगानी गरिएको हो । तानसेनका युवा तथा विपन्नलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले नगरपालिकासँग सम्झौता गरी कर्जा लगानी गरिएको घिमिरेले बताउनुभयो । बैँकले सात वटा शीर्षकमा नेपालमै पहिलो पटक स्थानीय तहसँग सम्झौता गरेर कर्जा प्रवाह गरेको प्रवन्धक घिमिरेले बताउनुभयो । बैँकले यी शीर्षकमा तीन लाखदेखि पाँच करोडसम्म कर्जा प्रवाह गरेको छ । महिला उद्यमी कर्जा अन्तर्गत तीन र अन्य कर्जा अन्तर्गत चार प्रतिशतमा यहाँका उद्यमीले कर्जा पाएका छन् । तानसेन नगरपालिकाले गत वर्षदेखि सुरु गरेको योजना अनुसार स्वरोजगार बन्न चाहने तर पूँजी नभएका महिला, युवा, विपन्न दलित महिलालाई सहुलियत कर्जा दिइएको हो । कर्जा प्रवाहबाट कृषि, परम्परागत तथा घरेलु उद्योग, महिला उद्यमशीलता, युवा स्वारोजगारजस्ता क्षेत्रको विकास हुने अपेक्षा गरिएको बैँकले जनाएको छ । नगरपालिका जमानी बसेपछि ऋणीले कागजपत्र पु¥याएको तीन दिनभित्रै कर्जा पाएका छन् । यसले उद्यमी बन्न चाहने युवा तथा महिलाका लागि सस्तो दरमा बैँकबाट ऋण पाउन सहज भएको छ । तानसेनले यो कार्यक्रमलाई सफल बनाउन तानसेन नगरपालिकाले गैरसरकारी संस्था ग्रामीण आर्थिक विकास संघ रेडामार्फत उद्यमीका लागि आवश्यक तालिम दिइरहेको छ । सहुलियतमा कर्जा प्रवाह गरेपछि उद्यमशीलतामा तानसेनका सय बढी युवा सहभागी भएको तानसेन नगरपालिकाले जनाएको छ । युवालाई स्वरोजगार बनाई उद्यमी बनाउन नगरपालिका जमानी बसेर विनाधितो सहुलियतमा कर्जा प्रवाह गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । यो कार्यक्रमले १०÷१५ हजारका लागि विदेश जाने युवालाई रोक्ने र स्वरोजगार बन्न सहयोग गर्ने उहाँले बताउनुभयो । तानसेनमा अहिले पनि धेरै जनशक्ति युवा जनशक्ति रहेकाले यसको प्रयोगबाट नगर र राष्ट्रको आय बढाउन सकिने नगरप्रमुख शाहीले बताउनुभयो । घरमै बसेर केही गरौँ भन्ने आत्मबल र जाँगर भएका युवालाई नगरपालिकाले निरन्तर प्रोत्साहन र सहयोग गर्ने शाहीको भनाई छ । अनुदान भन्दा पनि केही सीस र क्षमता भएकालाई सहयोग गर्ने हो भने त्यसले स्वाभीमानी नागरिक बन्न समेत सहयोग गर्ने नगरप्रमुख शाहीले उल्लेख गर्नुभयो । बैँकले यो सहुलियतमा कर्जा प्रवाहको कार्यक्रमलाई निरन्तरता दिदैँ जाने बताएको छ । तानसेन नगरपालिकाले हरेक वर्ष कम्तीमा दुई सय युवालाई स्वारोजगार बनाउने लक्ष्य लिएकाले यो कार्यक्रमले नगरपालिकाको लक्ष्यलाई पूर्णता दिने दावी गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update