Erani Mahal
कृषि यन्त्रले धान भित्र्याउन सहज बन्दै
gopa dhan khetii
पाल्पा – कृषि क्षेत्रमा आधुनिक कृषि सामग्रीको प्रयोग बढेपछि पाल्पाका किसानलाई धान खेती स्याहार्न सहज भएको छ । दश वर्षअघिसम्म तीन महिना लगाएर धान खेती स्याहार्ने यहाँका किसानले अहिले धान पाकेपछि एक महिनामै घरभित्रै भित्र्याउँछन् । केही वर्ष अघिसम्म धान स्याहार्न मान्छेको मात्र प्रयोग हुन्थ्यो । अहिले थ्रेसर, ट्याक्टरको प्रयोग बढेको माथागढी–३, कसेनीका किसान छेमबहादुर आलेले बताउनुभयो । पहिले यस क्षेत्रमा पाकेको धान घरभित्र भित्र्याउँदासम्म तीन महिना लाग्ने गरेकोमा अहिले थोरै मान्छे र कृषि सामग्रीको सहयोगमा एक महिनामै काम सकिने उहाँले बताउनुभयो । केही वर्ष पहिले धान काट्न, ओसार्न, धान झार्न, बोक्न, पराल स्याहार्न मान्छे र गोरुको प्रयोग हुन्थ्यो अहिले बिस्तारै आधुनिक कृषि सामग्रीको प्रयोग बढ्दै गएको छ । धान स्याहार्दा कृषि सामग्रीको प्रयोग गरे खर्च कम हुने, धेरै मानिसलाई खाजा खुवाउनु नपर्ने र छोटो समयमै काम सकिने माडी रुप्सेका किसान दामोदर घर्तीले बताउनुभयो । उहाँका अनुसार यो वर्षदेखि पाल्पाका केही स्थानमा धान काट्ने मेसिन समेत भित्रिएकाले धान काट्न र भित्र्याउन सहज भएको बताउनुभयो । कृषि सामग्रीको प्रयोगले धान स्याहार्दा मानिसको भन्दा आधा खर्च कम हुने ट्याक्टर तथा थ्रेसर व्यवसायीको भनाई छ । धान झार्न र ओसार्न थ्रेसर र ट्याक्टरको प्रयोगले मानिसले भन्दा आधा कम खर्चमा काम सकिने तानसेन–९, अम्लिहानका थ्रेसर व्यवसायी तारा ढकालले बताउनुभयो । अहिले ज्यामीको नास्ता र ज्याला खर्च पनि बढेकाले माडीफाँटका अधिकांश किसानले धान स्याहार्न थ्रेसर र ट्याक्टर, ट्रिपरको प्रयोग गरेका उहाँले बताउनुभयो । पाल्पाको रामपुर, अर्गली, कचल, दोभान, गेझा, पूर्वखोला झडेवा लगायतका फाँटका किसानले समेत पछिल्लो समय आधुनिक कृषि सामग्रीको प्रयोगले धान तथा पराल स्याहार्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update