Erani Mahal
पाल्पाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो (फोटोफिचर)
10
पाल्पा – पाल्पाका किसानहरुलाई यतिबेला धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको अन्नभण्डार भनेर चिनिने माडीफाँटको पोखराथोक, कसेनी, मदनपोखरा, चिर्तुङधारा, सराई, रुप्से, चिदीपानी क्षेत्रका किसानहरु धान स्याहार्नमा ब्यस्त देखिन्छन् । चिदीपानीका किसान रामचन्द्र नेपालले धान पाकेपछि कार्तिक ५ गतेदेखि काट्न शुरु गरेको बताउनुभयो । यसवर्ष दशैं पर्व र धान पाक्ने समय एकैपटक भएपछि दशैंको बेलामा धान स्याहार्ने चटारो रहेको नेपालले बताउनुभयो । उहाँले भन्नुभयो –‘दशैंको दिन मात्र काम गरेनौं । नत्र हरेक दिन धान स्याहार्नमा ब्यस्त छौं ।’ उहाँले १५ जनाको समूहले धान काट्ने र थन्क्याउने काम गरेको बताउनुभयो । खहरेका किसान छमबहादुर आलेलाई पनि अहिले धान स्याहार्ने माचो छ । आफ्नो खेतको धान काटेर सकिएको बताउँदै थ्रेसरको प्रयोगले धान झार्ने, केलाएर घर लैजाने, पराल सुकाउने काम बाँकी रहेको उहाँले बताउनुभयो । रुप्से दोहोराकी जमुना रेग्मीले पनि केही दिनयता धान काट्ने र कामले बेफुर्सदिलो बनेको बताउनुभयो । आफ्नो धान केही दिनपछि काट्ने तयारी रहेको बताउँदै उहाँले अहिले छिमेकीको धान काट्ने काममा व्यस्त भएको बताउनुभयो । यहाँका अधिकांश किसानले परिममा काम गर्दै आएका छन् । यसवर्ष धान उत्पादन विगतमा भन्दा राम्रो भएको माडीफाँटका किसान बताउँछन् । थ्रेसरको प्रयोगले सहज धान काटने काम आफूहरुले गरेपनि धान झार्ने काम किसानहरु आधुनिक थ्रेसरबाट गरिरहेका छन् । थ्रेसरको प्रयोगले आफूहरुलाई धान स्याहार्न धेरै सहज किसानहरुको भनाई छ । हिजोआज धान भित्रयाउनमा थ्रेसरको प्रयोग बढेको बताउनुहुन्छ, थ्रेसर व्यवसायी राजकुमार पन्थी । थ्रेसरको प्रयोगबाट दैनिक १५ देखि २० किसानको धान झाट्ने काम भईरहेको पन्थीले बताउनुभयो । थ्रेसरको प्रयोगले धान झाट्ने काम छिटो, छरिटो र शुलभ हुने भएकाले किसानहरु यसतर्फ आकर्षित भएको पन्थीको भनाई छ । सबै तस्वीर : सुशिल नेपाल
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update