Erani Mahal
पाल्पामा ७९ प्रतिशत काेराेना संक्रमित निकाे भएर घरमा फर्किए
1585316796corona-test-lab-1
पाल्पा – पाल्पामा हालसम्म ८७१ जना कोरोना सङ्क्रमित निको भएर घरमा फर्किएका छन् । जिल्लामा हालसम्म १ हजार १०४ जना कोरोना सङ्क्रमित भएकामा ८७१ जना अर्थात ७९ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका हुन् । योसँगै पाल्पामा सक्रिय सङ्क्रमित २२३ जना मात्र रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय समुदायमा समेत कोरोना सङ्क्रमण बढेपछि मृत्यु हुने सङ्क्रमितको सङख्या भने बढेको छ । पाल्पामा हालसम्म कोरोना सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा सङ्क्रमितको झण्डै १ प्रतिशत मानिसको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश कुनै न कुनै दीर्घ रोगबाट समेत ग्रसित रहेका थिए । पाल्पामा पहिलो पटक गत भदौँ २७ गते समुदायमा बस्दै आएकी तानसेनकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । त्यसपछि डेढ महिनाको अबधिमा समुदाय स्तरका मात्र ३९४ जनामा सङ्क्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा हालसम्म जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा निकायका व्यक्तिलाई समेत सङ्क्रमण भएको छ । पछिल्लो समय लक्षण सहितका सङ्क्रमित हुने क्रम बढेको बताइन्छ । काेराेना सङ्क्रमणले विकास निर्माणकाे कामदेखि दैनिक प्रशासनिक काममा समेत बाधा उत्पन्न भएकाे छ । काेराेना सङ्क्रमणले जिल्लाका कतिपय स्थानीय तह दुइ हप्तासम्म बन्द भएका छन् । कतिपय सरकारी कार्यालयले समेत सेवा बन्द गरेकाे छ । यसले सरकारी तथा गैरसरकारी संस्थाबाट हुने नियमित काममा बाधा उत्पन्न भएकाे छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update