Erani Mahal
चाडपर्वमा मासु कति/कसरी खाने ?
nnn
चाडपर्वमा मासु खाने प्रचलन कल्चरजस्तै बनिसकेको छ । कतिपय ग्रामीण क्षेत्रमा वर्षमा एक/दुईपटक मात्र मासु खानेले पनि दशैंतिहार जस्ता चाडपर्वमा घरमा खसी नै ढाल्छन् । केहीवर्ष अगाडिसम्म देशका अधिकांश भू–भागमा यस्तै अवस्था थियो । अहिले आएर शहरी भू–भागमा त मासु दैनिक खानपानको हिस्सा नै बनिसकेको छ । यदि तपाईंले पनि दशैंतिहार जस्ता चाडपर्वमा मासु खाँदै हुनुहुन्छ भने खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूको सुझाव छ । मासु कति खाने ? ‘मासुमा अत्यधिक मात्रामा प्रोटिन पाइन्छ । ‘सुगर, प्रेसर र पायल्स भएकाहरूले मासु खाँदा निकै ध्यान दिनुपर्ने हुन्छ,’ वरिष्ठ आयुर्वेद डाक्टर प्रेमनारायण श्रीवास्तव भन्नुहुन्छ । धेरै उमेरका मानिसले रातो मासु सकेसम्म कम खाने र खसीबोकाको सट्टामा कुखुरा अथवा माछाको मासु खाँदा स्वास्थ्यलाई फाइदा हुने उहाँले बताउनुभयाे । माछा र कुखुरामा कम बोसो हुने हुँदा स्वास्थ्यलाई कम असर गर्ने र अझ माछामा पाइने ओमेगा ३ ले शरीलाई थप फाइदा पुर्‍याउने बताइन्छ । सागपात र सलादको परिकार प्रशस्त खाएर मासु कम खान डाक्टर श्रीवास्तवको सुझाव छ । १०० ग्राम मासुमा २५ ग्राम प्रोटिन पाइन्छ, साथै भिटामिन, मिनरल र जिंक पाइने राम्रो स्रोत पनि मासु हो । बच्चालाई २५ देखि ३० ग्राम र बयस्कलाई ६० देखि १०० ग्राम प्रोटिनको आवश्यकता पर्छ । आवश्यकभन्दा बढी प्रोटिनजन्य खाना खाएमा पचाउन शरीरलाई गाह्रो हुने र असर गर्ने भएकाले उमेर, दैनिकी र स्वस्थ्य स्थितिअनुसार मासु खान डा. श्रीवास्तवको सुझाव छ । बेलुकाको समयमा मासु खाँदा रातिको समयमा पचाउन गाह्रो हुने भएकाले सकेसम्म रातिको समयमा मासु नखाउन उहाँकाे सुझाव छ । मासु कसरी खाने ? चिल्लो, पिरो र मसलेदार मासु मन पराउनेहरू धेरै छन् । मासु उमेर समूह र स्वास्थ्य स्थितिअनुसार फरक–फरक तरिकाले तयार गरेर खान सकिने चिकित्सकको सुझाव छ । ‘बालबालिकाले बढी चिल्लो, पिरो र मसलेदार खाना पचाउँदैनन्, त्यसैले उनीहरूलाई थोरै र सकेसम्म उमालेको मासु दिँदा राम्रो हुुन्छ,’ डा. श्रीवास्तवले भन्नुभयाे । मासु उमालेर खाँदा स्वाद मिठो नलाग्न सक्छ, तर स्वादभन्दा पनि स्वास्थ्यको दृष्टिले मासुमा चिल्लो र मसला कम राखी उमालेर पकाउनु राम्रो हुने उहाँकाे भनाइ छ । श्रीवास्तवका अनुसार एकैपटक धेरै मासु खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । मसलेदार, चिल्लो र पिरो मासु खाँदा कब्जियत हुन सक्ने, वाकवाकी लाग्न सक्ने, पेट दुख्न सक्ने र पखाला लाग्न सक्ने उहाँले बताउनुभयाे । मधुमेह र रक्तचाप भएका रोगीहरूले मासु खाँदा सकेसम्म बोसो नभएको र उमालेर मात्र थोरै मात्रामा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयाे । पायल्सका बिमारीले त चिल्लो र मसलेदार खाना खानै नहुने चिकित्सककाे सुझाव छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update