Erani Mahal
आज दशैँको मुख्य दिन, टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा
Tika-jamara
काठमाण्डौ – नेपालीहरुको महान चार्ड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेट उत्तम रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले बताउनुभयो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । कतिपय जिल्लामा आज एक दिनमात्रै र कतिपय जिल्लामा आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् । साथै आ–आफ्नो घरमै बसेर दशैं मनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update