Erani Mahal
जोखिम मोलेर चाडपर्व नमनाऔं !
gam bayembu
- गम बयम्बु मगर सरकारको मुख ताक्दा ताक्दा आफ्नै मुख बिग्रिएको ख्याल नभएका जनता हौं हामी । कोरोना भाइरस संक्रमण हुने जोखिमको बारेमा यो चाडबाडको बेलामा मात्र होईन । जब नेपालमा संक्रमण पुष्टि हुनेको संख्या वृद्धि हुँदै जान थाले । तब देखि नै जनतालाई सरकारी उच्च तह देखि स्थानीय तह सम्म निर्देशन दिएर सुरक्षित रहने मापदन्डहरू तय गरि दैनिक व्यवहारमा पालन गर्न सल्लाह दिएकै हो । कोरोना संक्रमण रोक्न सकेन । संक्रमितहरूलाई सही तरिकाले उपचार र व्यवस्थापन गर्न सकेन । यो सरकारको व्यवस्थापकिय पक्षमा कमजोरी हुन सक्छ । गर्दा गर्दै पनि संक्रमणको ग्राफ तीव्र हुँदै जान थालेपछि सरकारले लकडाउन घोषणा गर्यो । केही हद सम्मलाई त्यसले पनि केही मात्रामा ग्राफलाई उकालो लाग्न दिएन । तर लकडाउनको कारण जनताको जनजीवन कष्टकर र असहज हुन थाल्यो । लामो समय सम्म घर भित्र थुनिएर रोगबाट त बचिएला तर भोकबाट मरिने डर भयो भनेर जनताबाटै लकडाउन खुलाउन पर्ने आशय सहितको आवाज र माग उठ्न थाल्यो । यो कुरा जायज पनि थियो । मान्छे रोेगले मात्रै होईन भोकले पनि मरिन्छ । यसरी जनताको गुनासो र माग आउन थालेपछि सरकारले लकडाउन हटाउने निर्णय गर्यो । त्यस पछिका दिनहरूमा कोरोना संक्रमितको संख्यामा सोंचे र अनुमान गरे भन्दा दिनुदिन बढ्दै जान थालेको छ । विगतमा एक दिनमा पाँच सय बढी संक्रमित पुष्टि भएको समाचार सुन्नु पर्दा अत्यासले आधा जिब्रो टोकेर, अब के हुने होला ? भन्ने जनताहरू, आज एकै दिनमा पाँच हजार बढी कोरोना संक्रमित पुष्टि भएको दु:खद नमिठो समाचार सुन्नु पर्दा कहलिनु बाहेक कुनै विकल्प छैन । सरकारले कोरोना भाइरस संक्रमितहरूलाई सरकारी खर्चमा उपचार गराउन नसक्ने घोषणा गरिसकेको छ । आफ्नो जिम्मेवारीबाट हात झिकिसकेको छ । तर नागरिकको हितको पक्षमा वकालत गर्ने जानकारहरूले सरकारको यस खालको निर्णयलाई गलत निर्णय भएकोले फिर्ता लिनु पर्छ भनिरहेको छ । संविधानत; संविधानको धारा ३५ मा उल्लेख गरिए व्यवस्था बमोजिम नागरिकले पाउनु पर्ने स्वास्थ्य उपचारको सवालमा कुरा उठिरहेको छ । सरकारले जनता बाँचुन या मरून गर्न नहुने बहस चल्न थालेको छ । यो सरकारको उच्च तहका जिम्मेवार निकाय र अधिकारीहरूले सोंच्नु पर्ने विषयको कुरा हुन् । अब यति हुँदा हुँदै प नि, अझैँ कति सम्म सरकारको मुख ताकेर बस्ने हामी ? कहिले सम्म सरकारको भर परेर बस्ने ? र अर्को कुरा हाम्रो राम्रो बानी के छ भने हर्काको आलोचना गर्ने तर आफ्नो कर्तव्य थाहै नपाउने । या थाहा भएर पनि, बुझेर पनि बुझ पचाउने । के हामी सधैँ अरुको लिने मात्रै हौं र ? हामीले अरूबाट आशा गर्छौं भने अरुलाई दिन पनि पर्छ है भनेर सोंच्न पर्दैन र ? सरकारी तहबाट पाउनु पर्ने हरेक सेवा सुविधामा सरकारको मुख ताकेर बस्ने हामीले हाम्रो जिम्मेवारी निर्वाह गरिरहेका छौं या छैनौं ? आफैले आफुलाई मुल्याङ्कन गरेर हेरेका छौं कि छैनौं ? तपाईं हामी आफैं सोंच्नु पर्ने बेला आएको छ । कोरोना भाइरस विरुद्धको भ्याक्सिन हाल सम्म पत्ता नलागेको सर्वविदितै छ । तर भ्याक्सिन पत्ता नलगाएको अवस्था भए पनि कोरोना संक्रमणको न्यूनिकरण र जोखिम बाट सुरक्षित हुन सक्ने बैकल्पिक उपायहरूको बारेमा त करिब थाहा भैई सकेको कुरा हो । त्यसो भए हामीले कोरोना संक्रमण हुनबाट जोगिनलाई सही तरिकाले मास् क प्रयोग गरेका छौं कि छैनौं ? सामाजिक (भौतिक ) दुरी कायम गरेका छौं कि छैनौं ? भिडभाड र जमघट हुन निरुत्साहित गर्नमा सहयोग गरेका छौं । या हामीले जानीजानी पार्टी, मेला महोत्सब पुजा पाठ, भोज भतेर जस्ता क्रियाकलापरू गरेर लापर्वाही गरिरहेका छौं । हामी आफैंले आफुलाई हेरौं । म कुन अवस्थामा छु र मैले के गर्दैछु । के गर्नु पर्ने हो । के नगर्नेु पर्ने थियो । सोंच्ने समय हो यो । कोरोना संक्रमण हुनबाट बच्नको लागि अब सरकारको मुख ताकेर बस्ने समय छैन । संक्रमण भैइहाले सरकारले उपचारमा सहयोग गर्नु पर्छ भन्ने आश गर्ने मात्र हो । संक्रमण हुन बाट सुरक्षित रहने उपायहरू अपनाउने र कसरी आफु सुरक्षित रहने तपाईकै हातमा भर पर्छ । सरकारको मुख ताक्दा ताक्दा आफ्नै मुख नबिगरौं । आफ्नै स्वास्थ्यलाई आफै ख्याल गरौं । धर्मिक र साँस्कृतिक हिसाबले ठुलो पर्वको रुपमा मनाउने नेपालीहरूको महान चाड बडा दसैंको समय हो यो । यदि कोरोना महामारीको अवस्था नहुँदो हो त यतिखेर देशै भरि दसैंको रौनकता र रमाईलो हर्षोल्लासमय हुने थियो । दुनियाँ आज कोरोना महामारीको आक्रन्त परिस्थि संग जुध्न परेको छ । हुँदा हुँदै पनि दसैं पर्व आइसक्यो । त्यसको लगत्तै तिहार पनि आउँदैछ । चाडबाड आफ्नो तिथि र मितिमा वर्षै पिच्छे आईरहने एउटा प्रक्रिया जस्तै हुन् । आउँछ र जान्छ पनि । तर हालको अवस्थामा चाडबाडलाई भन्दा कोरोना संक्रमण जोखिमबाट बच्नलाई बढी प्रथामिकता दिनु पर्ने देखिन्छ । विश्व व्यापी रुपमा फैलिएको कोरोनाको यस विषम परिस्थितिलाई ध्यानमा राखी सरकारले जो जहाँ र जुन अवस्थामा रहनु भएको छ । त्यही बसेर चाडपर्व मनाउन आह्वान गरिसकेको छ । सम्भव रहे सम्म दसैंको टीका र आशिर्वाद लिने दिने काम पनि अनलाई/भर्चुअल माध्यमबाट गर्न र गराउन आग्रह गरिसकेको छ । यी हामी सबैको लागि राम्रो कुरा हुन् । चाडबाड र रमाईलो भन्ने कुरा जीवन रहे न गर्ने हो । यदि आफ्नै स्वास्थ्यको टुङ्गो छैन भने जोखिम मोलेर किन तडकभडक गरेर चाडपर्व मनाउने ? त्यसैले यसपालीको दसैंलाई सामान्य र कोरोना संक्रमण हुन बाट सुरक्षित हुने गरि आफ्नै घरपरिवारमा सिमीत रहेर मनै देखि रमाइलो गरेर मनाऔं । कोरोना संक्रमणबाट बच्ने उपायहरूको बारेमा घर परिवार देखि सचेतना बढाऔं । जस्तो परिस्थिति आईपरे पनि आफ्नो मनलाई खुशी पार्न सकेन भने जति सुकै महान पर्व, महान सफलता हात परे पनि खुशी रहन सकिँदैन । मनलाई खुशी राखौं । परिस्थिति जटिल छ । मनोबल बढाऔं । रोक नलागोस् । दसैं अर्को साल पनि आउँछ । त्यही बेला भव्य रुपमा मनौंला । दसैं र तिहारको हार्दिक मंगलमय शुभकामना छ । 🙏~जदौ~🙏 निस्दी गाउँपालिका-६ अर्चले, पाल्पा मिति- २०७७, कार्तिक- ०६ गते
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update