Erani Mahal
प्रदेश सरकारकाे लगानीमा माथागढीकाे बाँधबारीमा पक्की पुल निर्माण सुरू
badhbari pul1
पाल्पा – चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको बाँधबारीमा पक्की पुल निर्माणको काम सुरु भएको छ । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी, वडा नं २ रुप्से र वडा नं. ३ कसेनी र बगनासकाली गाउँपालिका २ पोखराथोकको सिमानामा पर्ने बाँधबारीमा पक्की पुल निर्माण सुरु भएको हो । पुल बनेपछि जुनसुकै समयमा चर्चरे– सराई हुँदै चिदीपानी आर्यभाङ्ज्याङ् सडक खण्डमा यात्रा गर्न सहज हुनेछ । लुम्विनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको लगानीमा बाँधबारीमा पक्की पुल बन्न लागेको हो । ४० मीटर लम्बाई र ११ मिटर चौडाई सहितको पक्की पुल निर्माण हुने र निर्माण व्यवसायीले सम्झौतापछि काम सुरु गरिसकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर प्रेम बस्यालले जानकारी दिनुभयो । सम्झौता भएको मितिले १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी काष्ठमण्डप÷तिरुपति जेभी, सुनवललसँग गत भदौँ २५ गते सम्झौँता भएको छ । पुल निर्माणको कुल लागत ४ करोड ८ लाख ४९ हजार रुपियाँ रहेको बस्यालले बताउनुभयो । पुल निर्माणको काम समयमै सक्न निर्माण व्यवसायीले आवश्यक सामग्री निर्माण स्थलमा झारिसकेको र जग खन्ने काम सुरु भईसकेको जनाएको छ । निर्माण कम्पनीका प्रतिनिधि राजेश यादवले पुल निर्माणको काम एक वर्षभित्रै सक्ने गरी काम भईरहेको बताउनुभयो । प्रदेश सभासद् नारायण आचार्य यस क्षेत्रका जनताको लामो समयदेखिको माग प्रदेश सरकारले पूरा गरेको बताउनुभयो । उहाँले यो सडक खण्ड अन्तर्गत चर्चरेमा समेत पुल बनेकाले अब सिद्धार्थ राजमार्गको १७ किलोमिटर दुरी छोट्याउन पुलले सहयोग गर्ने बताउनुभयो । उता प्रदेश सरकारकै लगानीमा चर्चरे– सराई–आर्यभज्ज्याङ सडकखण्डको चर्चरेमा पुल निर्माणको काम २० प्रतिशत सकिएका सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ । चर्चरे र बधबारीमा पुल बनेपछि यस क्षेत्रका जनताकाे जीवनस्तरमा परिवर्तन हुने प्रदेश सभासद् रमा घर्तीले बताउनुभयाे । उहाँले पुल बनेपछि माथागढी, तिनाउ, बगनासकाली सहित रामपुर र स्याङ्जा क्षेत्रका जनता लाभान्वित हुने उल्लेख गर्नुभयाे । प्रदेश सरकारले अम्लिहान पुलपछि चर्चरे र बधबारीमा पुल निर्माणको काम गरेको हो । पाल्पाको माडी क्षेत्रका जनताको आर्थिक, सामाजिक जीवनमा परिवर्तन ल्याउने विस्वास गरिएको छ । अम्लिहान पुल नौँ महिनामै सकिएकाले चर्चरे र बधबारीको पुल समेत एक वर्षभित्रै सक्ने अपेक्षा गरिएको छ । प्रदेश सरकार आएपछि यस क्षेत्रमा लगातार विकास निर्माणको काम भएको भन्दै यस क्षेत्रका नागरिक खुसी भएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update