Erani Mahal
युट्युबले जगाएको बाख्रापालन माेह, लाखबाट कराेडमा पुग्याे लगानी !
bakhra
पाल्पा – तानसेन, १२ बौघापोखराथोकका ३७ वर्षका युवा मीनबहादुर आलेले बाख्रापालन व्यवसायमा लगानी बढाउँदै लैजानुभएको छ । २०७१ सालमा लुम्बिनी एग्रो बोयर बाख्रा फार्म दर्ता गरी दुई लाखबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिलेसम्म एक करोड ५० लाख रुपैयाँ बढी लगानी भएको दाबी गर्नुभयो । ‘सम्भावना देखेपछि लगानी बढाउँदै लगिएको हो, संरचना निर्माणदेखि बाख्रा किन्दासम्म एक कराेड ५० लाख रुपैयाँ बढी लगानी भएको छ’– उहाँले भन्नुभयो । उहाँको फार्ममा अहिले ६५ बोयर जातका बाख्रा छन् भने केही लोकल जातका बाख्रा पनि रहेका छन् । अहिलेसम्म लगानीमै खर्च भएकोले ठूलो आम्दानी लिन नपाएको उहाँले बताउनुभयो । भविष्यमा बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिने उहाँको विश्वास छ ।     युट्युबले जगाएको मोह बाख्रापालन व्यवसाय सुरु गर्नुअघि आले बैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । सुरुवातमा दुवई जानुभयो, त्यसपछि साउदी । विदेशमा उहाँलाई बस्नै मन थिएन् । कामबाट फुर्सद पाएको समयमा युट्युब हेर्दा बाख्रापालनसम्बन्धि भिडियोहरु देख्नुहुन्थ्यो, जसले उहाँलाई आकर्षित गर्यो । अनि उहाँको सोँच बन्यो, नेपाल फर्किएर बाख्रापालन गर्ने । ‘अन्ततः बिरामी परेको बहाना बनाएर गाउँमै बाख्रापालन गर्ने सपना बोकेर स्वदेश फर्किए’ उहाँले स्मरण गर्नुभयो–‘विदेशमा हुँदा परिवारको सम्झनाले सताउँथ्यो । गाउँठाउँमै केही गर्न पाए भन्ने हुन्थ्यो । युट्युबमा भिडियोहरु हेरेपछि मलाई बाख्रापालन गर्न मन लाग्यो । वास्तवमा बाख्रापालन गर्ने सोँच नै युट्युब हेरेपछि आएको हो ।’ दुई लाख ऋण लिएर बाख्रापालन आलेलाई बाख्रापालन गर्न सहज भने थिएन् । मेमोरी कार्डभरी बाख्रापालनसम्बन्धि भिडियो लिएर स्वदेश फर्किनुभएका उहाँलाई धेरैले बाख्रा पालेर फाइदा नहुने बताउथेँ । उहाँसंग लगानी गर्ने क्षमता पनि थिएन् । तरपनि, आफ्नो सोँच फेर्नुभएन् । हेफरको सहयोगमा संचालित समूहबाट दुई लाख रुपैयाँ ऋण लिएर व्यवसाय शुरु गर्नुभयो । बोयर जातको बाख्राबाटै व्यवसाय सुरु गर्ने मन भएपनि लगानी अभावका कारण लोकल बाख्राबाट व्यवसाय थाल्नुभएको थियो । परिवार, छिमेकी, साथीभाईको विश्वास जित्दै गएपछि क्रमश लगानी पनि बढाउँदै गएको उहाँले बताउनुभयो । उहाँले बोयर जातको बाख्रा राख्नुभएको दुई वर्ष भयो । यहाँ बोयर जातका बाख्राको वीउ अर्थात पाठापाठी उत्पादन गर्ने र वीउकै रुपमा बिक्री गर्ने गरिन्छ । लोकल बाख्रालाई बोयरबाट क्रस गराउने काम पनि हुने व्यवसायी आलेले बताउनुभयो । पछिल्लो समय फार्ममा स्थानीय सुशील आलेले ५० प्रतिशत लगानी गर्नुभएको छ । अहिले फार्मलाई व्यवस्थित बनाइएको छ । आधुनिक खोर निर्माण गरिएको छ । अन्य विभिन्न संरचनाहरु निर्माण छ । बारीभरी बाख्राका लागि चाहिने घाँस लगाईएको छ । मीनबहादुर र उहाँकी श्रीमती फार्ममा तलवमा काम गर्नुहुन्छ । बाख्रा बिक्रीको लागि वजारको समस्या छैन, उत्पादन गर्न सके खोरबाटै बिक्ने गरेको उहाँले बताउनुभयो । बाख्रापालनमा सरकारी स्तरबाट पनि केही सहयोग भएको उहाँले बताउनुभयो । दुई वर्ष पहिले प्रदेश सरकारबाट चार लाखको अनुदान कार्यक्रम परेको र अहिले कोभिड कोषबाट २० हजार रुपैयाँ सहयोग पाएको उहाँको भनाई छ । अब छोराछोरी रोजगारीको लागि भौतारिनुपर्ने छैन ! दुई छोराछोरीका बाबु मीनबहादुरले विगतमा आफू रोजगारीको लागि भौतारिएपनि छोराछोरी त्यसरी भौतारिनु नपरोस् भनेर स्वदेश फर्किएर व्यवसाय सुरु गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, –‘विदेशमा बसेर पैसा कमाउनुमात्र ठूलो कुरा होइन् । केही वर्ष विदेश बसेर केही पैसा कमाएपनि मैले छोराछोरीको भविष्य उज्ज्वल बनाउन नसकूँला ! अहिले आफ्नै ठाउँमा केही गरेँ भने भोलि छोरीछोरी विदेश जान पर्ने छैन् । उनीहरू रोजगारीको लागि भौतारिनुपर्ने छैन् ।’
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update