Erani Mahal
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे दाेस्राे टर्मिनल निर्माण सुरु
1600751492-72s16
बुटवल - रुपन्देहीकाे भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलाे चरणकाे काम अन्तिम चरणमा पुगेसंगै दोश्रो टर्मिनल भवनको निर्माणको तयारी पनि सुरु भएको छ । विमानस्थल आयोजनाको पहिलो चरणको परियोजना अन्तरगत ९२.५ प्रतिशत भौतिक काम सम्पन्न भएको भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयाे । अब बाँकी काम चिनियाँ दक्ष तथा प्राविधिक र इन्जिनियरको पर्खाइका कारण रोकिएको छ । अब उपकरण जडानका कामहरु हुनेछन् । उपकरण विमानस्थल निर्माण क्षेत्रमा आईसकेका छन् । तर, त्यसको जडानमा चिनियाँ प्राविधिक आउनु पर्ने तर नेपालमा विदेशी नागरिकका लागि लागेको यात्रा प्रतिवन्धका कारण उनीहरु आउन सकेका छैनन् । आयोजना प्रमुख अधिकारीका अनुसार ३५ जना यस्ता दक्ष कामदार तथा इन्जिनियरलाई नेपाल ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार भइसकेको छ । उता, पर्यटन मन्त्री भट्टराई पनि यो आयोजनाका लागि रोकिएको कामदार ल्याउन संकट व्यवस्थापन केन्द्रको सिफारिस माग्दै प्रस्ताव गर्नुभएकाे छ । विमानस्थलको मूख्य संरचना ३ हजार धावनमार्ग, ट्याक्सी-वे तथा एप्रोनको सिभिलतर्फको काम पुरा भएको छ । यी संरचनामा विद्यूतीकरणको काम भने अहिले पनि जारी रहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयाे । अन्तर्राष्ट्रिय टर्मिनल भवन-१, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माणको काम पनि पुरा भएको छ । यी संरचनामा अहिले इन्टेरियर, उपकरण जडान र फिनिसिङका काम जारी छन् । विमानस्थललाई सुरक्षित बनाउन तारबारले गर्ने, घेर्ने तथा नाला लगाई व्यवस्थित गर्ने काम अहिले भइरहेको छ । यस आधारमा भौतिक संरचना ९२।५ प्रतिशत पुगेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार अब उपकरण जडानका काम बाँकी छन् । त्यसका लागि उपकरण आयोजना स्थलमा आइसकेका छन् । यसअघि लकडाउनको बीचमा यी उपकरण समेत भन्सारमा रोकिएका थिए । ती उपकरण जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना बनिरहेको छ । विदेशी इन्जिनियर र प्राविधिक नेपाल आइसकेपछि ती उपकरण जडान हुने बताइएकाे छ । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ । आयोजनाले उपलब्ध गराएको विवरणअनुसार लकडाउन सुरु भएयता भदौ २२ सम्म यो आयोजनाको भौतिक प्रगति ४.५ प्रतिशतले वृद्धि भएको हो । आयोजनामा लकडाउनकै बीचमा समेत २९ चिनियाँ नागरिकसहित २७५ जना कामदारले निरन्तर काम गरेका थिए । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरपर खाली स्थानमा माटो भर्ने काम समेत यही बीचमा सम्पन्न भएको छ । टर्मिनल भवनमा इन्टेरियरका काम पनि यही अवधिमा सुरु भएको उहाँले जानकारी दिनुभयाे । उहाँ अनुसार अब कन्भेयर बेल्ट जडान, विद्यूतीय सामग्री र सूचना प्रविधिसँग सम्बन्धित उपकरण जडानको काम प्राविधिक आइसकेपछि प्रारम्भ हुने भएको छ । यो आयोजना डिसेम्बर २०१७ मै सम्पन्न हुने गरी डिसेम्बर २०१४ बाट शुरु भएको हो । तर, त्यो अवधिमा ठेकेदार र पेटी ठेकेदारको झगडा, नदीजन्य निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दीको असर समेतो कारण देखाउँदै आयोजनाको म्याद थपिँदै आएको छ । गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । उपकरण जडानसहित दोस्रो चरणको काम भने एरोनटिकल रेडियो अफ थाइल्याण्डबाट भइरहेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहूलीयतपूर्ण ऋण सहयोग रहेको छ । यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ । तर, जग्गा अधिग्रहणका क्रममा भने यो विमानस्थलमा ठूलो रकम लगानी भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update