Erani Mahal
मलमासमा शुभकार्य गर्न नहुने !
pap
काठमाडाैँ - हिन्दू परम्परा अनुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार बेलुकी ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउनुहुन्छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उहाँले बताउनुभयो । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ । भट्टराईले भन्नुभयो “दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन ।” धार्मिक, सांस्कृतिक अध्येता डा। गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउनुहुन्छ । उहाँका अनुसार विशेष संस्कारका कर्महरु, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन । मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update