Erani Mahal
मुख्यमन्त्री शंकर पोखरेलद्वारा भगवती जात्राकाे अवशरमा शुभकामना, पाल्पामा सार्वजनिक विदा !
भगवती जात्राको शुभकामना 001
पाल्पा- मुख्यमन्त्री शंकर पोखरेलद्वारा भगवती जात्राकाे अवशरमा शुभकामना दिनुभएकाे छ । मुख्यमन्त्री पाेखरेलले एक विज्ञप्ति जारी गर्दै जात्राकाे अवसरमा प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा दिएकाे जानकारी समेत दिनुभएकाे छ । मुख्यमन्त्रिकाे शुभकामना सन्देशमा भनिएकाे छ : विजयउत्सवको रुपमा मनाइदैं आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइ विशेष गरी पाल्पाली जनसमुदायप्रति बधाई तथा शुभकामना व्यक्त गर्दछु । भगवती जात्रा पुर्खाले राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहास सम्झाउने उत्सव हो । दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता–धीरता गाथाको स्मरण गराउँछ । यस जात्राले हामीलाई राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिड्न प्रेरित गरेको छ । पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाईलाई सम्झदै हामी त्यही सत्मार्गमा हिडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रुपमा अघि बढौं । विसं. १८७१—७२ को नेपाल—अंग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल गरिएको हो । जीतगढीको लडाई मोर्चामा आफ्नो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्ततः नेपाल कब्जा गर्ने अंग्रेजको योजनालाई उनले विफल बनाइदिएका थिए । अंग्रेज फौजलाई परास्त गरी विजय हासिल गर्ने कर्णेल उजिरसिंह सहित सबै योद्धाप्रति उच्च सम्मान व्यक्त गर्दछु । कर्णेल उजिरसिंहकै अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरिँदै आएको छ । जात्रालाई निरन्तर रुपमा आयोजना गर्न खट्ने सबैप्रति पनि सम्मान व्यक्त गर्दछु । यसवर्षदेखि प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढिरहेको बेला नागरिकको सार्थक सहयोग आवश्यक छ । कोरोना विरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । जात्रा र पर्व मनाउँदा सामाजिक दुरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोना विरुद्धको अभियानलाई सार्थक बनाऔं । भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढंगले सामाजिक दुरी कायम गरी मनाउन म हार्दिक अपील गर्दछु । कोभिड—१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढंगले मनाउने नै छौं । अन्त्यमा, भगवती जात्राको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना । प्रदेश सरकारकाे निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि एक सूचना निकालेर पाल्पामा आज सार्वजनिक विदा भएकाे जानकारी दिएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले हस्ताक्षर गर्नुभएकाे सूचनामा प्रदेश सरकारकाे निर्णय बमाेजिम पाल्पामा सार्वजनिक विदा दिइएकाे बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update