Erani Mahal
वीरता र राष्ट्रियताको प्रतिक भगवती जात्रा पाल्पामा आज मनाइदै, काेराेनाकाे कारण रथयात्रा नगरिने
Jatra-
पाल्पा - नेपाली वीरता र राष्ट्रियताको प्रतिकका रुपमा दुइ सय २ वर्ष देखि निरन्तर रुपमा मनाइदै आएको पाल्पाको भगवती जात्रा आज तानसेनमा मनाइदैछ । यस वर्ष काेराेना जाेखिम भएका कारण सरकारले समेत कुनै जात्रा महाेत्सव गर्न निषेध गरेका कारण रथयात्रा र बजार परिक्रमा भने नहुने भएकाे छ । २०० वर्ष पहिला पाल्पाका तैनाथवाला कर्णेल उजिरसिंहले ब्रिटिस साम्राज्यवादको आक्रमणबाट नेपाललाई जोगाई जीतगढी किल्लामा विजय हासिल गरेको हर्सोउल्लासमा मनाइने भगवती जात्रा आज विहान ११.३० बजेको साइतमा नित्यपूजा गरी मनाइदै छ । जीतगढी किल्ला अहिले बुटवल नजिकै पर्दछ । कृष्णाजन्माष्टमीको अर्को दिन मनाइने उक्त जात्राका लागि भगवती मन्दिर व्यवस्थापन समिति, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघलगायतका संघसंस्थाले तयारी पूरा भएको बताएका छन् यस वर्ष जात्रालाइ नित्यपूजा गरेर मनाउन थालिएकाे भगवति मन्दिर व्यवस्थापन समितितका अध्यक्ष राजेश्वर उदयले बताउनुभयाे । त्यसबेला नेपालमा चार स्थान, कुमाउ–गडवाल(नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेजका सेनासँग लडाई भएकोमा जीतगढीमा मात्र नेपालको सेनाले विजयी हासिल गरेको थियो । वि.स १८७१/७२ देखि अंग्रेजसँग भएको भीषण लडाईका क्रममा जीतगढी किल्लाबाट अंग्रेजका सेनालाई पराजित गरेर उजिरसिंहको नेतृत्वको नेपाली सेनाले त्यहाँबाट भगाएका थिए । त्यसपछि जीतगढी किल्ला विजयी गरेको उल्लाससहित एक सय ९४ वर्षअगाडिदेखि विजयी उत्सव निकाल्ने प्रचलन चलेको हो । तात्कालिन जितगढीको युद्धका लागि दलवल सहित तानसेन देखि हिंड्नु अघि कर्नेल उजिरसिंह थापाले तानसेन दरबार छेवैमा रहेको भगवतीको प्रतिमा अगाडि उभिएर “अंग्रेजलाई जितेर फर्केमा जीर्ण मन्दिरको जिर्णाेद्वार गर्नुका साथै अविर जात्राको परम्परा बसाल्ने भाकल गरेका थिए ।” छ महिना सम्मको जितगढीको युद्धपछि आफ्नो पल्टनलाई सुरक्षित मूकाम फिर्ता ल्याई भगवतीको नवनिर्मित मूर्ति प्रतिष्ठापित गरी जात्राको परम्परा चलाएको इतिहासविद निर्मल श्रेष्ठ बताउँछन् । अहिले यसको गरिमा र महत्व झन बढेर गएको बताउदै उनले राष्ट्रियता र स्वाभीमानको प्रतिकात्मक अर्थ भगवती जात्रा र कर्णेल उजिरसंहले दिएको बताए । जात्रा संचालनका लागि दुई लाखबढी खर्च हुँदै आएकाे छ । काेराेनाले गर्दा पशु बली पनि नदिइने जात्रामा मन्दिरभित्र पशुवली दिएर भगवतीको रथ तानसेनका विभिन्न स्थानमा परिक्रम गर्ने चलन छ । मन्दिर व्यवस्थापन समितिका अनुसार पन्चवलीका रूपमा तीन वटा पाँडो, पाँच बोका, एक हाँस, एक कुखुरा र भेडा एक वली दिने चलन छ । यस्तै कर्णेल उजिर सिंह थापाको नाममा एक बोका र एक पाँडो वली दिने प्रचलन रहदै आएको छ तर अहिले काेराेना महामारीले गर्दा नित्यपूजाकाे बाहेक सबै बलिहरु बन्द गरेकाे समितिले जनाएकाे छ । भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमी सा“झदेखि नै जाग्रामबसी विहान ११ बजे स्थानीय भगवती मन्दिरदेखि शुरु हुने रण उजिरेश्वरी भगवतीको रथले तानसेन नगरका विभिन्न स्थानहरूमा भोग, बलि र फूल प्रसाद ग्रहण गरी सा“झ ४.३० बजे पुनः मन्दिरमै बिसर्जन गर्ने परम्परा रहेकाे थियाे तर काेराेनाका कारण यस वर्ष सबै कार्यक्रम स्थगित भएकाे छ । जात्रामा नेपाली सेना, नेपाल प्रहरी, शिक्षण संस्थाका विद्यार्थी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्थानीय नरनारी भक्तजनहरूको लामबद्ध हुने जात्रामा नेपाल विभिन्न जिल्लाबाट आउने श्रद्धालुहरूको भीड लाग्ने गर्छ तर गत एक दशकयता जात्रामा बढ्दो उत्साह र उमंगमा कमी आउदै गएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठले बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update