Erani Mahal
रुसले दर्ता गर्‍यो विश्वको पहिलो कोरोना भाइरस विरुद्धकाे भ्याक्सिन
corona
एजेन्सी- रुसले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा राष्ट्रपति भ्यादिमिर पुटिनले गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नका लागि यो डोज प्रभावकारी रहेको उहाँले बताउनुभयाे । ‘मैले बुुझेअनुसार कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन यसै बिहान रुसमा दर्ता भएको छ,’ राष्ट्रपति पुटिनले सरकारका सदस्यहरुलाई भन्नुभयाे, ‘म ती सबैलाई धन्यवाद् दिन्छु, जसले भ्याक्सिन निर्माणमा काम गरे । यो पुरै विश्वका लागि महत्वपूर्ण क्षण हो ।’ पुटिनले रुसमा स्वेच्छाअनुसार भ्याक्सिन लगाउने कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनले यस भ्याक्सिन लगाउन कसैलाई बाध्य नगरिने बताए । आफ्नी एक छोरीले पनि यस भ्याक्सिन लगाइसकेको खुलासा पुटिनले गर्नुभयाे । ‘मलाई थाहा छ कि यसले स्थिर इम्युनिटी विकास गर्छ, प्रभावकारी काम गर्छ र म दोहोर्याएर भन्छु, यसले सबै परीक्षण पास गरिसकेको छ,’ उहाँले भन्नुभयाे । कोभिड–१९ का कारण अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै २ करोडभन्दा धेरैमा संक्रमण देखिएको छ । पुटिनले स्वास्थमन्त्री मिखाइल मुरास्र्कोलाई भ्याक्सिनबारे थप जानकारी उपलब्ध गराउन भनेका थिए । मुरास्र्कोले आगामी जनवरीसम्म सबैसमक्ष भ्याक्सिन पुगिसक्ने आशा गरे । अहिले भने स्वास्थ्यकर्मी र शिक्षकहरुलाई प्राथमिकतामा राखिएको छ । विश्वका अति प्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र भारतपछि रुसको नाम आउँछ । रुसमा ८ लाख ९५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १५ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ५० लाखभन्दा धेरै, ब्राजिलमा ३० लाखभन्दा धेरै र भारतमा २० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update