Erani Mahal
रामपुरकाे सामुदायिक वनमा बृक्षारोपण गरियाे
116435080_757436198350334_840162968431210189_n
पाल्पा- गोरखदल गण रामपुर सुरक्षा गुल्म रामपुरले रामपुर नगरपालिका ४ खोप्टारमा रहेको रानीबन तथा बड्वान सामुदायिक बनको पार्क क्षेत्रमा बृक्षारोपण गरेको छ । रामपुर नगरपालिका सँगको समन्वयमा गुल्मले सब डिभिजन बन कार्यालय र उपभोक्तासँग मिलेर बनमा बृक्षारोपण गरेको हो । गुल्मका सेनानी हरि तिवारीको नेतृत्वमा ४० जनाको नेपाली सेनाको टोलीले शान्तिदिप पार्क तथा लखन थापा पार्क क्षेत्रमा खाल्डो खनेर बृक्षारोपण गरेको हो । रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले पार्कमा बृक्षारोपण गर्दै कालीगण्डकी करिडोरको छेउ र कालीगण्डकी नदीको नजिकमा रहेको पार्क र यस बन क्षेत्रलाई हरियाली बनाउदै सबैको आकर्षणको थलो बनाउनुपर्नेमा जोड दिनुभयो । बिरुवा लगाउनु ठुलो कुरा रहेनछ,हुर्काउनु ठुलो कुरा हो आचार्यले भन्नुभयो–बोट विरुवा हुर्काएर र पार्कलाई व्यवस्थित गरेर जाउ जाउ भन्ने खालको बनाउन उपभोक्तालाई अनुरोध गर्दै नियमित काम गर्दै गए अन्य संरचना बनाउन नगरपालिकाले साथ दिने बताउनुभयो । गोरखदल गण रामपुरका सेनानी हरि तिवारीले बोल्दै यस क्षेत्रका नागरिकलाई चिसो हावा दिने शितलता प्रदान गर्ने संरक्षण गरिएका सामुदायिक बनका बोटबिरुवाले भएकाले यसमा चासो र चिन्तन समुदायको हुनुपर्ने बताउनुभयो । समुदायको सहकार्यमा नेपाली सेनाले समुदायको हितमा हुने बृक्षारोपण लगायतका काम बिगतदेखि नै गर्दै आइरहेको बताउदै सामुदायिक काममा सदैव आफुहरु लाग्ने बताउनुभयो । उहाँले कालीगण्डकी करिडोर निर्माणपछि बनको हरियाली र पार्क व्यवस्थित भएको खण्डमा यस क्षेत्रको संभावना तथा बजारको विकास हुदै आर्थिक रुपमा पनि उपभोत्ता सबल हुन सकिने भएकाले समुदायले सामुहिक रुपमा अग्रसर भएर यस्ता काम गर्नुपर्ने बताउनुभयो । बृक्षारोपण गर्ने र छाड्ने प्रबृत्तिले कम मात्रामा विरुवा सर्ने हुनाले गोडमेललाई महत्व दिदै उहाँले समुदायको सहकार्यमा बिरुवा गोड्न समेत पुनः आउने विश्वास दिलाउनुभयो । रामपुर नगरपालिका, नेपाली सेना, सब डिभिजन बन कार्यालय, टोल विकास संस्था सहित उपभोत्ता मिलेर सब डिभिजन कार्यालय रामपुरको नर्सरीमा भएका बिभिन्न ७ थरिका बिरुवा लगाएको हो । बनमा चिउरी, गोल्डमोहार, बेल, इपिलिपी, म्याङ्गो स्टिम, मसला र बकाइनो गरि ४ सय २० विरुवा लगाइएको हो । बृक्षारोपणमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत क्रृषिराम आचार्य, सब डिभिजन बन कार्यालयका प्रमुख मरिचकुमार लामा, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भीम बहादुर कार्की, कार्यलपालिका सदस्य साबित्रा गौतम सहित सहभागी पत्रकार र उपभोत्ताले विरुवा रोप्नुभएको हो । टोल संयोजक थमन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मल्लले नेपाली सेना र नगरपालिकाले रानीवन तथा वड्वान बन पार्क क्षेत्रमा बृक्षारोपण गरेकोमा धन्यवाद दिदै यो विरुवा लगाउन जत्तिकै हुर्काउन पनि उत्तिकै महत्वपुर्ण रहेकाले यसको लागि चनाखो हुने बताउनुभयो । उपभोत्ता लुक बहादुर बिर्कटाले समुदायको पसिना बगेको बनमा थप नेपाली सेनाका जवानको पसिनाको कर्मले हरियाली छाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update