Erani Mahal
पाल्पामा असारे विकास राेकिएन, कालाेपत्रे सडक समेत धुलाे र हिलाम्य !
hhhh
पाल्पा – जनप्रतिनिधि निर्वाचित भएपछि असारे विकास रोकिने धेरैले आशा गरेका थिए । केही गाउँपालिकाले असारे विकास रोक्ने प्रयत्नका कार्यक्रम समेत सार्वजनिक गरे । तर असारमा हुने कामलाई कसैले पनि रोक्न सकेनन् । पाल्पाका स्थानीय तहहरूमा असारे विकास झन बढ्दै गएको छ । केही जनप्रतिनिधिले आफ्नाे डाेजर चलाउन र गाउँपालिकाकाे बजेटमा ब्रम्हलुट गर्न नीति नै बनाएर डाेजरे विकासमा मात्र बजेट विनियाेजन गरेका उदाहरण छन् । पाल्पामा यो वर्ष जेठ महिनाको अन्तिम सातादेखि नै वर्षात् भईरहेको छ । वर्षात्ले हिउँदमा खनेका सडकमा समेत बाढी र पहिरो गएका छन् । सडक हिलाम्य भएर सवारी गुड्नै नसक्ने अवस्था छ । लाखौँ रकम खर्च गरेर खनेका सडकमा पहिरो गएर बाटो अबरुद्ध भएका बेलामा पाल्पाका विभिन्न स्थानमा सडक तथा अन्य पूर्वाधार निर्माणको काम भईरहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा असारको पहिलो सातादेखि सडक चौडा गर्ने काम भईरहेको छ । लाखौँ/करोड खर्च गरेर तानसेनको सुन्तलाजात तथा फलफुल विकास केन्द्रको कार्यालयदेखि बर्तुङ्सम्म र बर्तुङ्देखि गौडेपुलसम्म सडक चौडा गर्ने कार्य भईरहेको छ । असारमा गरिएको सडक चौडाले ठेकेदार र असारे विकास चाहने सम्बन्धित निकायलाई फाइदा नै होला । तर असार सुरु भएपछि झरीमा गरिएको सडक चौडाको कामले केबल जनताको कर रातो रङ्गसँगै तिनाउ र डुम्रे खोलामा बगिरहेको आम सर्वसाधारणको भनाई छ । सडक चौडा गर्नु राम्रो पक्ष भएपनि मौजुदा पक्की सडक ध्वस्त पार्ने र बाढी, पहिरो, भूक्षय निम्त्याउने गरी भएको असारे विकासलाई राम्रो मान्न नसकिने आम मानिसको बुझाई छ । पानी नपरेको र लकडाउनले सडकमा सवारीसाधनको नचलेको समयमा चुपचाप बस्ने, जब असारे झरी सुरु भयो तब काम थाल्नुले शंका र सास्ती बढाएको छ । सडक बिस्तारको जिम्मेवारी लिने ठेकेदार असारे झरीमा सडक बिस्तारमा लागेको देख्न सम्बन्धित निकाय चुप छ । अहिले सडक उधारेर कालोपत्रे सडकमा समेत क्षति गरेको छ । सडकमा यात्रा गर्ने आम यात्रुले हिलो, धुलो र ट्राफिकिङ्को समस्या भोग्नुपर्ने बाध्यता छ । सिद्धार्थ राजमार्गको सुन्तलाजातको कार्यालयदेखि माडी भ्यूसम्मको सडक बिस्तार र चौडाको काम कुन निकाय/ठेकेदारले काम गरेको हो ? कति काम गर्ने हो ? कति बजेटमा गरिएको हो ? भन्ने सूचना दिने बोर्ड समेत छैन । यसले सडक चौडाको काम अपारदर्शी रुपमा भईरहेको गुनासो छ भने असारे विकासको अन्त नहुने संकेत गरेको छ । (समाचार टिप्पणी)
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update