Erani Mahal
रामपुरका नगरउपप्रमुख आचार्य क्वारेन्टाइनमा रहेका महिलाको अबस्था बुझ्दै
Ra (2)
पाल्पा- रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा एक टोलीले क्वारेन्टाइनमा रहेका महिलाहरुको अबस्था बुझेको छ । उपप्रमुखको संयोजकत्वमा गठित बिषयगत संरक्षण समितिले रामपुरको वडा नम्बर २ र ९ को विभिन्न क्वारेन्टाइनमा रहेका विशेष गरि महिला र सबै व्यक्तिको स्वास्थ्य अबस्था, व्यबस्थापन तथा उनीहरुको आबश्यकताका बिषयमा क्वारेन्टाइनमा नै पुगेर अबलोकन एवं अनुगमन गरेको हो । टोलीले रामपुर नगरपालिका २ को कृष्णदेवी माबि भलायटार र कालिका प्रावि खयरबोट वडा नम्बर ९ को जनशान्ति मा बि अर्बसिङ र देउराली आमा समुह भवन क्वारेन्टाइनमा रहेकाहरुको अबस्था बुझेको हो । १० महिने बालक सहित देउराली क्वारेन्टाइनमा रहनु भएकि २६ बर्षिय महिलाको लागि स्थानियको घरबाट खाटको व्यबस्था गरिएको छ । पि फर्ममा अन्य कपडा व्यबस्थापन गरेर मिलाइएकोमा आमा र बच्चाको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै २ खाटको व्यबस्था गरेको उपप्रमुख आचार्यले बताउनुभयो । यस क्वारेन्टाइनमा बिच्छी किरा लाग्ने गुनासो आएपछि क्वारेन्टाइन सार्ने बिषयमा समन्वय गर्ने उहाले बताउनुभएको छ । जनशान्ति माबिमा एक पुरुषलाई बुधबारदेखी सामान्य पखाला लागेको बाहेक अन्यको स्वास्थ्य अबस्था राम्रो रहेको नगर उपप्रमुख आचार्यले जानकारी दिनुभयो । पखाला लागेकोले तत्काललाई औषधि दिएको छ भने निरन्तर सम्पर्कमा रहेर सार्ने अबस्थालाई तयार रहेको टोलिले जनाएको छ । अनुगमन अबलोकन गरिएका कतिपयको पिसिआरको लागि स्वाब लिएको धेरै समय भएपनी रिपोर्ट आएको छैन । पछिल्लो समय आएका केहीको २ दिन अघि पहिलो स्वाब संकलन गरिएको छ भने केही पहिलो पिसिआर रिपोर्टमा पोजेटिभ आएर पुनः दोस्रोपटक स्वाब दिएर क्वारेन्टाइनमा नै बसेका हुनुहुन्छ । बाहिरबाट संगै गाउँ आएका, पहिलो पिसिआरमा पोजेटिभ आएका, महिलाहरुलाई क्वारेन्टाइनमा छुट्टाछुट्टै व्यबस्थापन गरिएको छ। भलायटार क्वारेन्टाइनमा २४ बर्षिय एक गर्भवती समेत ५ जना महिला रहनुभएको सो क्वारेन्टाइनमा आचार्यले महिलाहरुको सहजता, परेको अफ्ट्यारो र विशेष अबस्थाका महिलालाई पुर्‍याउनुपर्ने सहयोगका बारेमा चासो राख्नुभएको थियो । सुत्केरी हुने दिन डेढ महिना रहेकोले गर्भवतीको स्वास्थ्य अबस्थामा ख्याल गर्न अन्यलाई आग्रह गर्दै कुनै समस्या आइहाले तुरुन्त सम्पर्क गर्न अनुरोध गर्नुभयो । औषधि र स्वास्थ्यकर्मी सहित विभिन्न केन्द्रमा पुगेको उपप्रमुख, स्वास्थ्यकर्मी सहितको टोलीले गर्भवतीलाई आइरन र क्यालियम प्रदान गरेको छ । कोरोनाको जोखिमको आपतकालिन अबस्थामा क्वारेन्टाइनमा बस्दा आफ्नो स्वास्थ्यको धेरै कुरामा ख्याल गर्न अनुरोध गर्दै उहाले सामाजिक दुरी र खानपानमा ध्यान दिदै आत्मबल बढाउन अनुरोध गर्नुभयो । आबश्यक सिटामोल, जिवनजल, प्रेसरको नियमित औषधि खाने ५० बर्षे महिलालाई प्रेसरको औषधि दिइएको नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत कमला श्रेष्ठले जानकारी दिनुभयो । आबश्यकता अनुसार महिलाका लागि सेनेटरी प्याड बितरण गरेको छ । कालिका प्राबिमा १२ जना मध्य १ महिला हुनुहुन्छ । पिसिआरमा अन्यको पोजेटिभ आएको र एक जोडी दम्पती मध्य श्रीमतीको पोजेटिभ र श्रीमानको नेगेटिभ आएको थियो । रामपुर ८ निसर्दीका उहाहरु हाल दुबैजना क्वारेन्टाइनमा हुनुहुन्छ । जनशान्ति माबी अर्बसिङमा ३० जनामा २ महिला र देउराली आमा समूह क्वारेन्टाइनमा ११ जनामा १० महिने बालक सहित २ महिला हुनुहुन्छ। बालकका लागि सेरल्याक्स र ल्याक्टोजन र टोलिमा गएका कर्मचारीले बल र गाडी किनेर सो बालकलाई दिएकोमा उहाहरु निकै खुशी हुनुभएको महिला शाखाकी पुजा परियारले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहनुभएका दुधे बालककी २६ वर्षे आमा र ४४ बर्षिय हजुरआमाले बन्दका बेला बन्द कोठा जस्तैमा रहदा ख्याल गरेकोमा धन्यवाद दिनुभयो । बिषयगत संरक्षण समिती सदस्य तथा प्रहरी निरीक्षक भिम बहादुर कार्कीले क्वारेन्टाइनमा रहेकाहरुको नियमित ख्याल र सहज बनाउन तथा आइपर्न सक्ने समस्याबाट बचाउन पोजेटिभ देखिएका, रिपोर्ट नआएका, महिला, सुरक्षाकर्मी, रेखदेख गर्ने मानिसलाई छुट्टाछुट्टै ब्लकमा राखिएको बताउनुभयो । महिला शाखा प्रमुख प्रतिमा मल्लले महिला मैत्री व्यबस्थापनमा जोड दिन अनुगमन गरिएको बताउनुभयो । जनशान्ति माबिमा थर्मोमिटर गन राख्ने, साथै जोखिम न्युनिकरणका लागि हेरालु समेतलाई माक्स सेनिटाइजरको नियमित प्रयोग गर्न भनिएको र यसको व्यबस्थापनमा ध्यान दिने टोलीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update