Erani Mahal
सलह कीराकाे केही झुण्ड पाल्पामै बस्याे, बालीमा नाेक्सान गर्ने चिन्ता
tr
पाल्पा – शनिबार बेलुकी बुटवल हुँदै पाल्पाको दोभानबाट जिल्लाका विभिन्न स्थानमा छिरेको सलह कीरा आइतबार पनि देखिएको छ । जिल्लाको तिनाउ गाउँपालिकाको विभिन्न स्थानमा सलह कीरा देखिएको र त्यसले बालीमा समेत आक्रमण गर्न थालेको त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । यस्तै रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ छहरामा पनि सलह देखिएको छ । यस्तै बगनासकालीको बराङ्दी, चिर्तुङ्धारा, रिब्दीकोटको विभिन्न स्थान ख्याहा, देउराली लगायतका स्थानमा समेत सलहको बथान देखिएको स्थानीय बासिन्दाको भनाई छ । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सलहको समूह शनिबार बेलुकी पाल्पा छिरेको र पाल्पाका केही स्थानमा बास बसेको जानकारी दिनुभयो । उहाँले आइतबार तिनाउको वडा नं. २ मा सलहको अनुगमन गरेर जानकारी लिएको बताउनुभयो । सलह पाल्पाको कुन–कुन स्थानमा बसेको र त्यसले पार्ने क्षतिका बारेमा अध्ययन् भईरहेको ज्ञान केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । नेपालको सीमा नाका हुँदै रुपन्देहीको बुटवल हुँदै सलहको झुण्ड पाल्पा आएको थियो । सलहको समूहलाई भगाउन स्थानीय बासिन्दाले भाडाकुँडाबाट आजाव निकाल्ने, धुँवा उडाउने जस्ता क्रियाकलाप गरिरहेका छन् । तर सलहको कीराको नियन्त्रण गर्न भने समस्या रहेको किसानको भनाई छ । आइतबार सलहको केही समूह गुल्मीको रिडी, कालीगण्डकी, रुरु क्षेत्रमा पुगेको छ । यस्तै स्याङ्जा र अर्घाखाँचीमा समेत सलहको समूह पुगको स्थानीय बासिन्दाको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update