Erani Mahal
पाल्पामा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा  पाँचजना पक्राउ
Pakrau
पाल्पा - किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पाल्पामा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–३ भूतखोलाका २४ वर्षीय एकबहादुर दिशा, ४६ वर्षीय वसन्त सैंजु, बगनासकाली गाउँपालिका–२ पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयाे । १६ वर्षीया किशोरीका बुवाले दिएको किटानी जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धानका क्रममा थप दुईजनालाई शनिबार पक्राउ गरिएको छ। रिब्दीकोट गाउँपालिका–३ खस्यौलीका २१ वर्षीय मनिस रूचाल र रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का २० वर्षीय अमृत रावतलाई पक्राउ गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयाे । उनीहरुले जेठ १० मा तिनाउ गाउँपालिकाको वडा नम्बर २ र ३ को सिमानामा पर्ने सिद्धार्थ राजमार्ग नजिकैको सार्वजनिकस्थलमा किशोरीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले बताएको छ। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मादक पदार्थ सेवन गरेका उनीहरूले ती किशोरीलाई जबरजस्ती रक्सी पिलाएको अनुसन्धानमा खुलेको छ। बुटवलबाट पाल्पा आफ्नो घरतर्फ आउँदै गरेकी किशोरीलाई बाटोमा नियन्त्रणमा लिएर बलात्कार गरी राति १० बजे बाटोमा छाडिदिएका थिए। दोभान प्रहरी चौकीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेकी ती किशोरीको उद्वार गरेको थियो । पीडितले दिएको वयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। ती किशोरीकी आमा बुटवल बस्दै आएकी छन् भने बुबा पाल्पा गाउँमा बस्ने गर्छन्। घटनामा संलग्न उनीहरूविरूद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update