Erani Mahal
शिक्षा र चेतना भए बिभेद आफैं हराउँछ
shanti adhikari
-शान्ति अर्याल अधिकारी बर्षौ अगाडिदेखि मनमा खेलिरहेको कुरा आज आज अक्षरमा उतार्ने प्रयास गर्दैछु । आशा छ, यो लेखसगै मेरो कौतुहलता पनि मेटिने छ । एक्काइसौं शताब्दीमा आईपुगेको हाम्रो समाज आज पनि जातिय विभेदको वितण्डा मच्चाईरहेको देख्दा दुख लाग्छ । हुनत वितण्डा नहोस पनि कसरी पुस्तौं देखि हामी त्यही संस्कार देख्दै र भोग्दै आईरहेका छौ । जतिबेला म सानै थिएँ केही सुन्ने देख्ने र सिक्ने उमेर थियो त्यतिबेला मलाई त्यही सिकाईन्थ्यो।जुन कुराले समाज ग्रसित थियो। जात र भातको नाउँमा एक अर्कालाई बिभेद गर्ने प्रचलन तिब्र थियो ।मान्छेले मान्छेलाई पशुको जस्तो ब्यबहार गरिन्थ्यो । तर पनि सहजै स्विकार हुने थियो, अचम्म लाग्ने गर्दथ्यो । शिक्षा र चेतना थिएन, अलि बोल्न सक्ने र 2/4 पैसा भयको मान्छे गाउँ को साहुजी वा मुखिया बन्ने चलन थियो । मुखियाकै ईसारामा गाउँ चल्नुपर्ने बाध्यता, सर्बसाधारण र तल्लो जात ठानिएका मान्छेहरूलाई श्रम शोषण आर्थिक शोषण गर्ने प्रचलन थियो । साहुको घरमा हली बस्ने, कूटो कोदालो बनाउनेदेखि लिएर कपडा सिलाउने सम्म आ-आफ्नै बालीघरे भन्ने राख्ने गरेको पाईन्थ्यो । तर, आज शिक्षा र चेतनाको स्तर केही माथी उठेको छ । हिजो जोत्नु हुँदैन भन्ने र यहासम्म कि जोते जात जान्छ भन्ने ठान्नेहरू आज आफै खेतबारी जोत्न लागीपरेका छन । हसिया कोदाली बनाउने, कपडा सिलाउनेहरूलाई तल्लो दर्जाको सम्झिनेहरू आज त्यसलाई पेशाको रूपमा ग्रहण गर्न लागेका छन । एकले अर्कोलाई सम्मान गर्नुपर्छ भन्ने धारणा कतै न कतै जागेको छ । यो देख्दा लाग्छ मान्छेमा चेतनाको स्तर बृद्दि भईरहेको छ । यो सबै समयले निम्त्याएको खेल हो । जस्तो देश उस्तै भेष भने जस्तो समय र परिस्थिति अनुरुप चल्न सक्नु नै महानता हो । तर केही मान्छेहरू भित्र रहेको पुरातनवादी, सामन्तबादी र हैकमवादी सोच र शैलीले समाज पिरोलिरहेको तितो यथार्थ भने छदैछ । जसको कारण आज पनि बिभिन्न बहानामा मान्छेले मान्छेलाई तिरस्कार गरिरहेको छ । नेपाल सरकारले पनि बर्षौ अगाडिदेखि बिभेद रहित समाज निर्माण गर्ने उद्देश्यले कानुन निर्माण गर्दै आईरहेपनि नेपालको कानुन दैवले जानुन भने जस्तो, कानुन पानामै सिमीत रहने समाजमा कुरिति र कु संस्कार मौलाउँदै जाने, हत्या हिंसा आतंक जस्ता गतिविधिहरू मौलाउँदै आइराखेको अबस्था हाम्रो आँखा अगाडि ऐना जस्तै छन । नेपालको अन्तरिम संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत रहेको धारा २४ मा छुवाछूत तथा भेदभाव बिरूद्धको हकको उपधाराहरु १,२,३,४,५ मा पनि स्पष्टसंग उल्लेख गरिएको छ । यो देख्दा लाग्छ देशमा साच्चिकै बिभेद रहित समाज निर्माण हुनेछ । मान्छेले मान्छेलाई तिरस्कार गर्ने छैन । सानो जात भएकै कारण कसैले ज्यान गुमाउनु पर्ने छैन । तर बिडम्बना देशको पराजनीतिक पूर्वाग्रह, केही गलत सोच र प्रबृत्ति भयका मान्छेहरूको कारण कानुन नै फितलो देखिने र न्यायालय माथी जनताले बिश्वास गर्न नसक्ने स्थितिको सिर्जना भैरहेको छ । जसको कारण समाजको स्वच्छ वाताबरणलाई धमिल्याउने तत्वहरुले जरा गाडिरहेका छन । बेलाबेला सुन्नु परेको यस्तो घटनाहरुबाट हामी उपल्लो भनिएका जातका मानिसहरु नै आजित भैसकेका छौं। अझै आफैले पीडा भोग्नेहरुलाई कस्तो भएको होला? सहजै अनुमान गर्न सकिन्छ। संबिधानमा लेखिएका नियम कानुन सजाउनका लागि होइनन पालना गर्नका लागि हुन्। कानुन सहि पालना भयो भने यस्ता घटनाहरु कम हुनेछन नत्र निरन्तर भैरहने छन्। जात र भातको कुरा गरेर आफुलाई महान ठान्नेहरूलाई पनि यति बुझाउन जरुरी देखिन्छ कि मान्छेमा जात हुन्छ त मात्र ३ वटा महिला, पुरुष र तेस्रो लिङ्गी । यसर्थ सामाजिक रूपमा कसैलाई तिरस्कार गर्नु पनि अपराध नै ठानिन्छ । पछिल्लो समय अन्तरजातीय बिवाह बढ्दै गैरहेको छ । यसो त डा.बाबुराम भट्टराई अर्थमन्त्री रहदा अन्तरजातीय विवाहलाई प्रोत्साहन नगरेका होइनन् । तर यसले समाजमा सकारात्मक सन्देश दिन भने सकेन । आज पनि अन्तरजातीय बिवाह घर परिवार र समाजलाई स्वीकार्य छैन जसको कारण धेरै युवा युवतीहरुले अकालमा ज्यान गुमाईराख्नु परेको छ। कतिपय घरबाट तिरस्कृत भएर बाहिर घर परिवारको माया ममता बिना बाच्नु परेको छ । यसो भन्दै गर्दा ठूला भनिने जातले मात्र जातिय विभेद निम्त्याउछन भन्न खोजेको होइन । अचम्म लागीरहेको तितो सत्य अर्को पनि छ, यहा हरेक जातजाति बिच पुन: आपसमै द्वन्द्व चलेको देखिन्छ । ब्राह्मणभित्र भातको कुरा गरिन्छ। अन्य जातिहरूबीच पनि आ-आफ्नै सानो र ठूलो भनेर बिभेद गरेको पाइन्छ। आखिर किन ? एकता नै बल हो चेतना नै शिक्षा हो भन्ने बुझ्नु जरुरी देखिन्छ । भनिन्छ, अरूबाट सम्मानको आशा राख्नेले अरूलाई पनि दिन जान्नु पर्छ । आफु माथि अन्याय भयो भनेर बोल्दै गर्दा आफुभन्दा तल्लो स्तरकोलाई म कस्तो ब्यबहार गर्दैछु भनेर बुझ्नु पनि जरूरी हुन्छ होइन र ? हरेक जातका केही पढेलेखेका र अलिकति बुझेका मान्छेहरू राज्यको बिभिन्न अंगमा पुगेका छन । त्यहाँ न जात न भात सबैलाई हजुर तपाईं सलाम ठोकेकै त छन । यसर्थ कसैलाई तिरस्कार गर्नु अपराध हो समाज त्यो तुच्छ सोचबाट माथि उठ्न सक्नु पर्छ । तिरस्कृत भयौ भनेर जातिय, धार्मिक र सांस्कृतिक सहिष्णुताको बिरूद्ध नारा लगाउनेहरु पनि आफुलाई परिवर्तन गर्न सक्नु पर्छ । शिक्षा र चेतनाको स्तर बृद्दि गर्दै सही कार्यको समर्थन र गलत कार्यको बिरोध गर्न सक्नु पर्छ । आफै भित्र भएका कुसंस्कार र कुरितिलाई हटाउन सक्नुपर्छ । समाजमा न्यायका खातिर लड्न खोज्नेहरू त्यही समाजमा रहन सक्ने बाताबरण पनि सिर्जना गर्न सक्नु पर्दछ । यदि तपाईभित्र हरेक कुरालाई बुझ्न सक्ने क्षमता छ अलिकति चेतनशिल हुनुहुन्छ, समाजले मन नपराउने गतिविधिहरू जस्तै रहनसहन रितिरिवाजहरूमा अलिकति ध्यान दिन सक्नु हुन्छ भने ढुक्क हुनुहोस्, तपाईंलाई कसैले बिभेद गर्ने सामर्थ्य राख्ने छैन । यसर्थ, बिभिन्न जातजातीको प्रतिनिधित्व गरी सदनमा पुगेकाहरूले पनि जातियताको नारा लगाएर द्वन्द्व निम्त्याउने कार्य गर्नुभन्दा हरेक नागरिकलाई शिक्षित र चेतनशिल बनाउनतर्फ ध्यान दिनुपर्ने देखिन्छ । अन्त्यमा, धेरै अन्तरजातीय बिवाहहरू भैरहेका छन तर सबैले मोर्नु परेको छैन । यसर्थ जातियताको द्वन्द्व मच्चाउनु भन्दा बास्तविकतालाई बुझी दोषि उपर कारबाही गर्नु उपयुक्त होला । बगनासकाली पाल्पा हाल लिस्बन, पोर्चुगलबाट
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update