Erani Mahal
रामपुर नगरपालिकाले चलायो "कृषि एम्बुलेन्स सेवा"
Krisi Rampur
पाल्पा-जारी लकडाउनका बेला किसानले तरकारी बेच्न समस्या र उपभोक्ताले सहज मुल्यमा तरकारी पाउन नसकेपछि पाल्पाको रामपुर नगरपालिकाले पनि "कृषि एम्बुलेन्स सेवा" सुरु गरेको छ । यहीहप्ता कार्यपालिका बैठकबाट निर्णय गरेको रामपुर नगरपालिकाले शनिवारदेखि कृषि एम्बुलेन्स मार्फत वडाका टोलटोलमा पुग्ने गरि सहुलियत मुल्यमा विभिन्न तरकारी बिक्री गरेको हो । कृषि शाखामा र उत्पादनको परिमाणको आधारमा किसानको गाउँघरमा पुगेर तरकारी सङ्कलन गरेर उपभोक्ता माझ पुर्‍याएको रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । किसानलाई तरकारी बेच्न लकडाउनले गर्दा बोकेर हिड्ने अबस्था छैन भने बजारमा आएर किनेर खाने उपभोक्ताको अबस्था नहुदा घर र टोलमा समय तोकेर पुर्‍याउने व्यबस्था गरेका हौ-थापाले भन्नुभयो । पहिलो दिन शनिवार बिहान देखि बहखोला- डुम्रीगाउ- विजयपुर- मिलनचोक-मटेरी ठुलोटार, बेझाड हुँदै कृषि शाखा कार्यालयसम्म एम्बुलेन्समा तरकारी खरिद बिक्री गरेको नगरपालिकाले जनाएको छ । जहाँ साढे ८ क्वीन्टल तरकारी सङ्कलन भएको छ । चार क्वीन्टल करेला, एक क्वीन्टल ९ किलो काक्रो, एक क्वीन्टल २२ किलो घिरौला, १३ किलो लौका, २९ किलो बोडी, २६ किलो खुर्सानी, २१ किलो सिमी, ६ किलो भिन्डी, ६९ किलो बन्दा, ४१ किलो गोलभेँडा र २ किलो चिचिन्डा सङ्कलन गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभयो। संकलन सहित बिक्री गर्दै हिडेको कृषि एम्बुलेन्सबाट ताजा तरकारी खान पाउँदा उपभोक्ता खुशी देखिन्थे । आफ्नो बारीमा नफलेको तरकारी रोजेर घरमै किन्न पाउँदा निकै खुशी लागेको हरिकला रेग्मीले बताउनुभयो । विजयपुर कृषि सहकारीको समन्वयमा कृषि बिकास समिति संयोजक हुमनाथ न्यौपानेको संयोजकत्वमा कृषि शाखा प्रमुख रामहरी पाण्डेय, सहित कृषि प्राविधिकहरु आफै लागेर नगरपालिकाले तरकारी संकलन र उपभोक्ता माझ बिक्री गरेको हो । नगरपालिकाले तोकेको मूल्यमा नै तरकारी खरिद बिक्री गर्नुपर्नेछ । नगरपालिकाले खुर्सानी खरिद मूल्य ८० र बिक्री मूल्य १ सय, सिमिको खरिद मूल्य ३५ र बिक्री मूल्य ४५, घिरौला खरिद मूल्य ३५ र बिक्री मूल्य ४५, बन्दा ५ मा खरिद गरेर ८ , करेला ४० मा खरिद गरि ५०मा, काक्रा ४० मा खरिद गरि ५०मा बिक्री त्यसैगरी लौका ३० रुपयामा किनेर ४०मा बिक्री गर्ने, साग१० मा किनेर १५ मा बिक्रि गर्ने, चिचिन्डा खरिद मूल्य ४० बिक्री मूल्य ५०, भिन्डी खरिद मूल्य ५० बिक्री मूल्य ६०, गोलभेँडा ४० मा खरिद गरेर ५० मा बिक्री, भण्टा खरिद ५० बिक्री ६०, तने बोडी खरिद ६० बिक्री ८० रुपयामा गर्नुपर्ने गरि मूल्य निर्धारण गरेको छ । हप्तामा शनिवार, सोमवार र बुधवार कृषकको घर र कृषि सहकारी, टोलमा पुगेर तरकारी सङ्कलन गर्ने र उपभोक्ता माझ लगिनेछ । फलेका तरकारी बेच्न समस्या भएका बेला नगरपालिकाले संकलन र बिक्रि गरिदिदा बारीमा सड्छ कि भन्ने चिन्ता लागेको करेला, घिरौला, भेण्डी लगायतको तरकारी घर नजिकको टोलबाट बेच्न पाउँदा खुशी लागेको रामपुर ७ कि गिता भट्टराईले बताउनुभयो । बाहिरबाट ठुलो परिमाणमा रामपुर बजारमा तरकारी भित्रने गरेको थियो । अहिले बुटवल, कपिलवस्तु लगायतका जिल्लाबाट तरकारी ल्याउन नपाउदा र स्थानिय तरकारी बेच्न बोकेर लैजान सम्भव नहुदा किसानलाई न बेच्न न उपभोक्तालाई किन्न पाउने अबस्था थियो । यसरी घर-घरमा तरकारी बिक्रिका लागि ल्याएपछि उपभोक्तालाई तरकारी खरिद गर्ने समस्या हटेको छ भने किसानको तरकारीले बजार र मूल्य पाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update