Erani Mahal
पाल्पाको बल्ढेङ्गढीमा सामुदायिक वनभित्र डोजर लगाएर बाटो निर्माण
d 1
भुवन कार्की पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढी स्थित ठूलोचिउरी सामुदायिक वनमा जंगलभित्र डोजर चलाएर बाटो निर्माण गरेको पाइएको छ । काठ निकासीकै प्रयोजनको लागि डोजर लगाएर जंगलभित्र करिब डेढ किलोमिटर मोटरबाटो खनिएको हो । उक्त बाटोबाट हाल काठ ओसारपसार गर्ने कार्य जारी रहेको छ । लकडाउनकै बेला पनि हाल बेलुकामा ती काठ ओसारपसारको काम गरिएको छ । वन कार्यालयको स्विकृति बिना नै काठ संकलन गरेर तराईतर्फको समतल क्षेत्रमा जम्मा गर्ने गरिएको छ । धेरैजसो काठ चोरी निकासी हुने यस क्षेत्रमा जंगलभित्र मोटरबाटो नै निर्माण गरिंदा केही सालका रुख समेत ढालेर ब्यवस्थापन गरिएको छ । बाटो केही महिनाअघि नै निर्माण गरिएको पाइएको छ । हाल यसलाई प्रयोगमा ल्याइएको हो । वन ऐन अनुसार यसरी सामुदायिक वनभित्र बाटो खोल्न पाईदैन । यो बाटो केवल काठ निकासीका लागि मात्र प्रयोग हुनेगरी निर्माण गरिएको छ । ठूलो चिउरी सामुदायिक वन उपभोक्ता समितिका सचिव सुरेश रायमाझीले मोटरबाटो आफूहरुले नै निर्माण गरेको स्वीकार गरे । उनले उपभोक्ता समितिको निर्णयमा दुई लाख रुपैयाँको लागतमा डोजर लगाएर निर्माण गरेको बताउनुभयो । वनका अध्यक्ष शेरबहादुर पेङ्नी भने सम्पर्कमा आउन चाहेनन् । लोमो प्रयासमा पनि उनको फोन उठेन । यसरी गैरकानुनी रुपमा सामुदायिक वनभित्र मोटरबाटो खन्नेलाई वन कार्यालयले के कारवाही गर्छ त्यो भने हेर्न बाँकी छ । लकडाउनको मौका छोपेर यही बाटोबाट काठ ओसारपसार गर्ने गरिएको छ । काठ संकलन गर्न यो बेला वन कार्यालयले कसैलाई पनि अनुमति दिएको छैन । उता बल्ढेङगढी सवडिभिजन वन कार्यालयका प्रमुख प्रेम चौधरीले जंगलभित्र डोजर चलाएर बाटो निर्माण गरिएकोबारे आफूलाई कुुनै जानकारी नभएको भन्दै तत्कालै त्यसको अनुसन्धान थालिने बताउनुभयो । जिल्ला वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले त्यस्तो बदमासी गरेको पाईए वन ऐन अनुसार कारवाही हुने उल्लेख गरे । त्यस स्थलतर्फ आज नै कर्मचारीहरु पुग्ने बताउनुभयो । लकडाउनको बेला सम्बन्धीत कार्यालयको स्वीकृतिबिना काठ संकलनको काम थालिएपछि काठको चोरी निकासी बढ्ने अनुमान गरिएको स्थानीयहरु बताउँछन् । जंगलभित्र बाटो निर्माण गरिएकोबारे धेरैजसो उपभोक्ता भने अनबिज्ञ छन् । उक्त बनका उपभोक्ता स्थानीय पुरन लम्तरीले बाटो खन्ने तथा काठ संकलन गर्ने कुनै नयाँ निर्णय नभएको उल्लेख गरे । बाटो निर्माण गर्दा कुनै पनि औपचारिक निर्णय नगरिएको उनको भनाई छ । तस्विरमा ः डोजर लगाएर निर्माण गरिएको मोटरबाटो र हाल संकलन गरिएका सालका काठहरु । तस्विर ः भुवन कार्की
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update