Erani Mahal
तानसेन युवा परिषदको घरदैलो तरकारी सेवा किन ?
Untitled-1-copy

गुराँस आत्रेय - तानसेन युवा परिषदले आज आफ्नो एक वर्ष बिताएको छ । युवालाई उद्यमशिलताको तालिम, तानसेनको इतिहास वर्तमान र भविष्यबारे तीनदिने अन्तक्रिया गरी तानसेन घोषणा जारी गर्दै कामको शुरुवात गरेको परिषदले युवा शसक्तीकरण संगै खेलकुदको क्षेत्रमा पनि काम गरेको छ । तानसेनको वडा स्तरीय भलिबल प्रतियोगिता गरेर नगरस्तरीय टिम तयार पारेको छ । परिषदको भावना अनुसारनै तानसेन नगरपालिकाले युवा स्वरोजगार तथा उद्यमशिलता बृद्धिको लागि सहयोग, र्निब्याजी ऋण तथा सहुलियत ऋण लगायतका कामहरु गरिरहेको छ । समाजबादी अर्थव्यवस्था सम्म पुग्ने गन्तव्य निर्धारण गरेको संविधानको मर्मलाई आत्मसात गर्दै परिषदले पछिल्लो पटक हाल घरदैलो तरकारी सेवा सञ्चालन गरिरहेको छ । अहिले तानसेनका घरघरमा तरकारीका गाडीहरु हिँडिरहेका छन् । घरघरमा अत्यन्तै सस्तो तरकारी पाउँदा उपभोक्ताहरु अचम्म परेका छन् । किसानहरु पनि महिनौँ दिन लगाएर आफ्नो रगत पसिना र श्रम संग साटेको तर लकडाउनले माया मारेको उत्पादन बिक्री हुँदा खुशी छन् ।


के हो घरदैलो तरकारी सेवा ?
तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषदले तानसेनका शहरी क्षेत्रमा उपभोक्ताको घरघरै हरियो तरकारी बितरण गर्ने सेवा हो । यसमा किसानले जति रुपैयामा बिक्री गर्दछन् त्यत्ती रुपैयामा उपभोक्ताले घरघरमा बसेर प्राप्त गर्दछन् । बीचमा कुनै रकम नजोडिएकाले तरकारीको मूल्य धेरै सस्तो भएको छ । अहिले युवा परिषदले बिक्री गरेको तरकारीमा बन्दा प्रति किलो १० रुपैया, काउली प्रति किलो २० रुपैया, काँक्रो प्रति किलो ४० रुपैया र सेमी प्रति किलो ४० रुपैया छ । जुन मूल्यमा अहिलेसम्म कुनै सिजनमा पनि तरकारी किन्न नपाएको उपभोक्ताहरु बताउँछन् ।


किन सुरु भयो ?
सामान्य आम्दानी भएका हामीहरुको लागि यो घरदैलो पसल सेवा अत्यन्तै उपयोगी भएको छ की जुन शब्दमा अनुभुती गर्न सकिदैन टुँडिखेलमा भेटिनुभएको (नाम नखुलाएको) सुब्बा साबको कुरा हो । महिनाको ३० हजार कमाउने सरकारी कर्मचारीको यो अवस्था छ भने अरुको के कुरा । व्यापार व्यवसाय लगायत सम्पूर्ण कुरा बन्द छ । परिवारका सबैजना सदस्य घरमै हुनुहुन्छ एक किलो तरकारी एक छाकमा सकिन्छ, संक्रमणमा अर्थशास्त्रकै परिभाषा परिवर्तन गर्ने व्यवसायीबाट खरीद गरेको तरकारी किनेर नियमित खान सक्ने अवस्था थिएन । किसानले उत्पादन गरेको तरकारी बिक्री हुने अवस्था थिएन । उद्यमशिलताको अभ्यास शुरु गरेका युवा तथा अन्य कृषकहरुलाई आफ्नो सन्तानलाई जस्तै माया गरेर उत्पादन गरेको तरकारी बेचेर लागत उठाउनेबेला नबिक्ने भए पछि कस्तो भए होला । देशको मूल अर्थ व्यवस्था धानेको कृषी र कृषकहरु यस्तो घटनाले जिन्दगी कृषीमा नर्फकने योजना बनाए भने के हुन्छ ? यस्तै घटनाबाट जानकार युवा परिषदले घरदैलो पसल सञ्चालन गर्ने योजना बनाएको हो ।


कसरी सुरु भयो ?
युवा समाजमा वर्तमानका संंवाहक र भविष्यका अगुवा हुन् । युवामा रचनात्मकता र सामाजिक भावना भयो भने युवाले भविष्यमा होइन वर्तमानमानै अगुवा बन्न सक्छन् अन्यथा युवालाई केटा को सज्ञा दिइन्छ जसले अपरिपक्व भन्ने बुझाँउछ । स्थापना देखिनै रचनाम्मक काम गर्दै आएको तानसेन युवा परिषदले पहिलो पटक तानसेन नगरपालिका प्रमुखको उपस्थितीमा बसेको तानसेन युवा परिषदको बैठकमा एजेण्डा राख्दा मेयरले राम्रो काम हो अघि बढ्नु भने पछि निर्णय गरिएको थियो । नगर प्रमुखको एउटै कुरा थियो नगरको कुनै पनि कृषकको तरकारी बारीमा कुहिन नदिने, नगरमा बिक्रि गरेर धेरै भएमा अन्य पालिकामा समेत पाहुर पठाउने बताउनुभएको थियो । लगत्तै तानसेनको सबैभन्दा धेरै तरकारी संस्थागतरुपमा बेच्ने मदनपोखरा संगम सहकारीका अध्यक्ष र बजार प्रतिनिधीसंग बैठक बसी आइतबार देखि तरकारी बितरण गर्ने निर्णय भयो । निर्णयमा किसानले जति रुपैयामा तरकारी दिनुहुन्छ त्यत्ती रुपैयामा उपभोक्तालाई दिने, प्याकेजिङको लागी प्लाष्टिक र ढुवानीको लागी इन्धन र तरकारी नबिकेर स्टोर भएमा त्यसको रकम नगरपालिकाले दिने ढुवानीको लागी जिपधनी संग भाडा सहयोग माग्ने र बितरण कार्य युवा परिषद्ले स्वयंसेवक रुपमा गर्ने र नाम घरदैलो तरकारी सेवा राख्ने निर्णय भयो तर त्यही दिन प्रदेश सरकारले कृषि एम्बुलेन्स सेवा शुरु गर्ने निर्णय गर्यो अनि हामीले पनि त्यही नाम राखौ भनेर राखियो तर यो प्रदेशको नभएर नितान्त तानसेन युवा परिषदको कार्यक्रम हो ।


सहयोग कसकसको रहेको छ ?
तानसेन युवा परिषद तानसेन नगरपालिकाको अंग भएकाले मुख्य सहयोग तानसेन नगर सरकारको छ । सामान ढुवानीको लागि प्रयोगहुने साधनमा इन्धन खर्च, तरकारी प्याकेजिङको लागि प्लाष्टिक लगायतका सामान, बिक्रेता परिषदका लागि सदस्यहरुलाई आवश्यक पर्ने माक्स, सेनीटाइजर, कपडा लगायतका सामाग्रीको खर्च लगायत बिबिध खर्च तानसेन नगरपालिकाले गर्ने छ भने संगम सहकारी, व्यवसायी बिष्णु भण्डारी, व्यवसायी तथा युवा परिषद सदस्य भरत भट्टराई, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री जोन परियोजनाले आवश्यक परेकोबेला यातायातको साधन उपलब्ध गराउनुभएको छ । अन्य काम तानसेन युवा परिषदले गरेको छ ।


चुनौती
तानसेन युवा परिषदकोे लागी नौलो प्रकृतीको काम र प्रतिकुल समय भएकाले हरेक पलमा चुनौती सामना गर्नु परेको छ । कोरोना (कोभिड १९) भाइरसले गर्दा देश निरन्तर लकडाउनमा छ । सरकारले घरभित्रै बस्न आग्रह गरेको छ । यो कुनै पनि हिसावले भिडमा जाने वा घरबाट निस्कने अवस्था होइन । यो भाइरस र यसको बिस्तारको बारेमा पुर्ण रुपमा जानकार युवा परिषदले किसानको बारी देखी उपभोक्ताको हातमा दिने बेलासम्म कुनै पनि अवस्थामा भाईरस सक्रमण नहुने गरी व्यवस्थापन गरेको थियो तर लामो समयदेखीको हरियो तरकारीको आवश्यकता अझै एकदमै न्युन मूल्यमा दिने र भिड नहुने कुरालाई व्यवस्थापन गर्न हम्मे हम्मे पर्यो ।

त्यसमा भौगोलिक अवस्थाले तानसेनका सबै गल्लीमा गाढी जाने फराकिलो बाटो छैन जसले गर्दा गल्लिका उपभोक्ताहरु मूल सढकमा निस्कनुपर्ने हुँदा भिड हुनु स्वाभाविक पनि छ । यसले पनि भुकम्प र आगलागी जस्तै जुनसुकै विपदमा पनि आफ्नो घरअगाडीको बाटो फराकिलो हुनु पर्दो रहेछ भन्ने आभास भयो । जुनसुकै कामको सकारात्मक र नकारात्मक पक्ष हुन्छ नै, अझै कामलाई सकारात्मक र नकारात्मक देख्ने आखा र मन नहुने कुरै भएन । अन्य घटनामा जस्तै केही साथीहरुले राजनीतिक आधारमा नराम्रो भन्नु भयो भने केही साथीहरुले सत्यतथ्य नबुझी लकडाउनमा के लेखु के लेखु भएर कमेन्ट गर्नुभयो होला जस्तो लाग्यो । यसलाई नराम्रो भन्ने साथिहरु धेरै न्युन हुनुहुन्थ्यो तर जसले नकारात्मक लिनुभयो उहाँहरुको विचार हामीले मार्गदर्शक मान्यौ । नियमित रुपमा तरकारी पसल चलाई जिबिकोपार्जन गर्नु भएका व्यवसायी साथिहरु सम्भवत हामी संग रिसाउनु हुन्छ होला भन्ने थियो तर समय, परिस्थिती र देशको सबैक्षेत्र बन्द भएको यो अवस्थामा गरिएको यो कार्यमा समर्थन जनाउनुभएको हामीले बुझेका छौ । उहाँहरुलाई हामी नियमित तरकारीबेच्ने व्यापारी नभएको पनि जानकारी गराउन चाहन्छौ ।


युवा परिषद्ले प्रत्येक सूचनामा सबैको घरघरमा आउने बताएको छ लक्ष्य उदेश्य पनि त्यही हो तर उपभोक्ता एकैठाँउमा जम्मा हुनुभयो । त्यसमा कस्को कमजोरी हामी खोतल्ने भन्दा पनि त्यसको व्यवस्थापन गर्ने तर्फ लाग्यौ । एकै दिन ८ गाढी तरकारी विभिन्न क्षेत्रमा पुर्यायौं जसमा हामीलाई स्वयमसेवक परिचालनमा केही समस्या भयो, सबै होटलहरु बन्द भएकाले विहान देखि साझ सम्म काम गर्ने हाम्रा २० जना साथिहरु संगै गाढीका चालकहरु पानी समेत किन्न वा खान पाउनुभएन । तर तरकारी प्राप्त गरेको उपभोक्ताको खुशी देख्दा सबै पिडा बिर्सनुभएको छ । तिन दिनको खटाई पछि अहिले भने चाप घटेको महशुस भएको छ ।

पहिले तरकारी आएन भन्नेहरु अहिले टमाटर आएन वा मैले सेमी पाएन, मैले बन्दा मात्र पाए यस्ता समस्या आउदा हामी भने एक पटक त दिन सकेछौ भनेर खुशी छौ । हामीले एक पटक तरकारी किने पछि एक हप्ताको लागि पुगोस् भनेर नै एकैपटकमा ५ किलो तरकारीको पोका बितरण गरिएको छ । यो लकडाउनको समय हो । अन्त्यमा फेरी पनि तानसेन युवा परिषदको आग्रह छ, लकडाउन भरी हामी तरकारी लिएर तपाईको घरमा आउने छौ हजुरहरु घरभित्रै सुरक्षित बस्नु होला । धन्यवाद ।

लेखक तानसेन युवा परिषद, पाल्पाका अध्यक्ष तथा युवा राजनीतिज्ञ एवम् सामाजिक अभियान्त समेत हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update