Erani Mahal
रामपुरका ६ वटै वडामा एकैदिन राहत खाद्यान्न वितरण
00000000

पाल्पा - रामपुर नगरपालिकाले संकलन गरेको बिपन्न घरधुरीका आधारमा नगरका ६ वटा वडामा एकैदिन राहत वितरण गरेको छ । वडागत तथ्यांकका आधारमा अति विपन्न, ज्यालादारी तथा घरमा आम्दानी नभएका नागरिकलाई वडाका विभिन्न स्थानबाटै राहत वितरण गरेको हो ।

ठूलो वडा र छरिएर रहेको गाउँ बस्तीका आधारमा वडाका विभिन्न टोलमा वितरण गरिएको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख भिमबहादुर कार्की, वडा अध्यक्ष, पत्रकार सहित वडाका जनप्रतिनिधि, कर्मचारी लगायतको रोहबरमा राहत वितरण गरिएको हो ।

नगरपालिकाले आम्दानीको स्रोत नभएका एकल महिला, न्यून आए भएका अशक्त, दैनिक ज्यालादारी श्रमिक, ७० वर्ष माथिमा मात्रै परिवारमा रहेका जेष्ठ नागरिक र अनाथ बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न तथा औषधी राहतस्वरुप वितरण सुरु गरेको हो ।

रामपुर नगरपालिका वडा न. १ ले पन्थे, बर्दाकोट, फुर्केचौर र स्याउलीबजारबाट वडाका ८५ घरधुरीलाई राहत बितरण गरेको वडा अध्यक्ष मित्रलाल कंडेलले बताउनुभयो । वडा न. २ ले वडा कार्यालय र भलायटारबाट वडाका ६५ घरधुरीमा राहत बितरण गरेको वडा अध्यक्ष तारा बहादुर थापाले जानकारी दिनुभयो ।

वडा नं ४ को कार्यालयले वडाका नागरिकलाई देबिस्थानबाट राहत बितरण गरेको हो । वडाका एक सय २६ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न लगायतका सामग्री वितरण गरिएको वडा अध्यक्ष एकबहादुर नेपालीले बताउनुभयो ।

रामपुर नगरपालिका ६ को कार्यालयले वडाका ६३घरधुरीलाई राहत वितरण गरेको छ । पायक पर्ने स्थानका आधारमा नबदुर्गा माबि र विजयपुर कृषि सहकारीको भवनबाट राहत वितरण गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

यसैगरी वडा नं ७ ले वडाका एक सय ३० जना नागरिकलाई वडा कार्यालय किसानबारीबाट राहत वितरण गरेको वडा अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताउनुभयो ।

वडा न. ९ ले वडा कार्यालयबाट वडाका ७५ बिपन्न घरधुरीमा राहत बाडेको वडा अध्यक्ष इच्छाराम सिंजालीले बताउनुभयो ।

नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरका दशवटै वडाबाट लगत सङ्कलन गरेर परिवार संख्याको आधारमा राहत वितरण कार्यक्रम पहिलो चरण अन्तरगत अन्तिममा रहेको बताउनुभयो । अब बितरण गर्न बाकी १० न. वडामा मंगलबार नै बितरण हुदैछ । पहिलो चरणको राहतमा नगरका १ हजार ६६ घरपरिवारका ४हजार १ सय ३८ नागरिक लाभान्वित हुने गरि राहत प्रदान गरिएको थापाले बताउनुभयो ।

राहत बितरण गरेको स्थलमा पुगी नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा रहेको अनुगमन समितिले राहत बितरणको अबस्थाको अनुगमन गरिरहेको नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।

परिवार संख्याको आधारमा नगरपालिकाले चामल, दाल, तेल, नुन, साबुन, चना संगै माक्स, जिवनजल, सिटामोल र साईनेक्स लगाएतका औषधी समेत प्याकेज बनाएर वितरण गरेको छ । १ जनाको परिवारलाई ५ किलो चामल, १ किलो दाल, आधा लिटर तेल, १ किलो नुन, १ वटा साबुन, १ किलो चना, २ देखि ४ जनाको परिवारलाई २० किलो चामल,२ किलो दाल, १ लिटर तेल, १ किलो नुन, २ वटा साबुन, २ किलो चना र ५ जना भन्दा माथिको परिवारलाई २५ किलो चामल, ३किलो दाल, साढे एक लिटर तेल, २ किलो नुन, ३ वटा साबुन, ३ किलो चना वितरण गरेको छ ।

नगरले प्याकेज नै बनाएर मापदण्ड अनुसार राहत बितरण गरेको र लकडाउनको अबस्था हेरेर आवश्यकता परेको खण्डमा पुनः बितरण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update