Erani Mahal
साैर्यमण्डलकै सबैभन्दा सानाे ग्रह 'बुध'
mercury_venus_earth_and_mars_0fEGAMFeE1

बुध ग्रह (Mercury) सौर्यमण्डलका समस्त ग्रहहरूमध्ये सूर्यको सबैभन्दा नजिकमा अवस्थित छ । सूर्यबाट यसको दूरी ५ करोड ७९ लाख ९ हजार १ सय किमी मात्र छ । पछिल्ला अध्यायमा तिमीहरूले  पृथ्वी र सूर्यबीचको दूरीबारे पढ्यौ  । कल्पना गर  पृथ्वी सूर्यसँग बुध ग्रह जति नै नजिक भएको भए के पृथ्वीमा जीवन सम्भव हुन्थ्यो ?

अब विज्ञानलाइ थाहा छ कुनै पनि ग्रहमा जीवन हुनलाई त्यस ग्रह र मातृ ताराको दूरी एकदमै अनुकूल हुनुपर्छ । यस अनुकूल  दूरीलाई 'ह्यभिटेबल  ज़ोन' अथवा 'गोल्डीलॉक ज़ोन' भनिन्छ ।  सौर्यमण्डलमा भएका ग्रह मध्ये एउटा बाहेक अन्य कतै  जीवन नहुनुको अन्य थुप्रै कारण मध्ये ती ग्रह र सूर्यको दूरी नै  प्रमुख बाधाको रूपमा रहेको छ । पृथ्वीदेखि नजिकका ग्रह (बुध र शुक्र ग्रह ) मा सूर्यबाट आउने अत्यधिक तापका कारण जीवन हुने संभावना रहेन  भने पृथ्वीदेखि टाढाका सबै ग्रहमा (मंगलदेखि वरुण ग्रहसम्म ) सूर्यबाट पुग्ने तापको कमीका कारण जीवन हुर्किने संभावना रहेन  ।

अरु सबै ग्रहहरूले जस्तै बुध ग्रहले पनि सूर्यको परिक्रमा गर्छ । यसको परिक्रमा पथ पनि  दीर्घवृत्तीय नै छ । यस कारण यो  कहिले सूर्यको नजिक हुन्छ त कहिले टाढा हुन्छ । सूर्यको नजिक हुँदा अपसौरको स्थितिमा बुध ग्रह सूर्यबाट ४ करोड ६० लाख १ हजार २ सय किमी दूरीमा हुन्छ भने उपसौरको स्थितिमा यो दूरी बढेर ६ करोड ९८ लाख  १६ हजार ९ सय किमी पुग्छ । अपसौर र उपसौरको स्थितिमा सूर्य र बुध ग्रहबीचको दूरीमा  डेढ गुनासम्म फरक हुन्छ ।

बुधले सूर्यको परिक्रमा गर्न जम्मा ८८ दिनको समय लगाउछ । अर्थात् बुधको एक वर्षमा जम्मा ८८ दिन हुन्छ । पृथ्वीको ३६५ दिनको तुलनामा यो निक्कै कम हो । यसको औसत  परिभ्रमण गति ४७.८७  किमीप्रति सेकेण्ड रहेको छ ।

सौर्य मण्डलको सबैभन्दा सानो ग्रह हो बुध । यसको व्यास  जम्मा ४८७९ किमी रहेको छ । अर्थात् हाम्रो चन्द्रमाभन्दा अलिकति मात्रै ठूलो  छ बुध ग्रह । बृहस्पति ग्रहको चन्द्रमा गैनिमीड (५२६२ किमी ) र शनि ग्रह को चन्द्रमा टाइटन (५१५०किमी ) बुध ग्रहभन्दा ठूला छन् ।

बुधको सतह पनि पृथ्वी जस्तै ठोस (Solid ) छ । यसको सतहमा पनि हाम्रो चन्द्रमा झै ठूल्ठूला खाडल (क्रेटर ) छन् । यसको एउटा   ‘कैलोरिस बेसिन ’ (Caloris Basin ) नाम गरेको 'क्रेटर' १५५० किमी व्यासको रहेको छ । बुध ग्रहमा अत्यधिक क्रेटर हुनुका पछाडि यहाँ धेरै उल्कापिण्ड खस्नु नै हो ।बुध ग्रह सौर्यमण्डलको  सबैभन्दा सानो ग्रह भए पनि यसको घनत्व सबै ग्रहमध्ये  दोस्रो नम्बरमा पर्छ । के तिमीहरुलाइ थाहा छ सौर्यमण्डलको सबैभन्दा बढ़ी घनत्व भएको ग्रह कुन हो ? तिमी बसेको पृथ्वी नै यसको जबाब हो ।

बुध अन्य सबै ग्रहहरूको तुलनामा सबैभन्दा तीव्र गतिले सूर्यको परिक्रमा गर्छ । माथि उल्लेख भएझै बुधमा एक वर्ष ८८ दिनको (पृथ्वीको दिनअनुसार)  मात्रै हुन्छ । तर बुधको एक दिन भने पृथ्वीभन्दा निकै लामो  छ । पृथ्वीले सूर्यको एक परिक्रमा गर्दा आफ्नो धुरीमा ३६५ फन्को पूरा गरेको हुन्छ । पृथ्वीले धुरीको एक फन्को पूरा गर्नु  नै हाम्रो एक दिन (दिन +रात )  हुन्छ । पृथ्वीले  पूरा गरेका ३६५ फन्को नै हाम्रो एक वर्षको अवधि हुन्छ  ।  बुध ग्रहले भने सूर्यको एक  परिक्रमा पूरा गर्दा आफ्नो धुरीको  डेढ़ फन्को  मात्रै पूरा गरेको हुन्छ  । बुध ग्रहलाई आफ्नो धुरीको एक फन्को पूरा गर्न  पृथ्वीको दिनको हिसाबले ५८.६४६  दिनको समय लाग्छ । अचम्म नमान बुध ग्रहको डेढ़ दिन मै  त्यहाँको एक वर्ष पूरा भइसकेको हुन्छ   ।   पृथ्वीका ५८ दिन  बुध ग्रहको  एक दिन  बराबरी   हुन्छ । हामी बुध ग्रहमा बसोबास गर्ने भएको भए प्रत्येक डेढ़ दिन नै  नयाँ वर्षको उत्सव मनाउथ्यौं ।

बुधको सूर्यलाई परिक्रमा गर्ने कक्ष  (अर्बिट) पृथ्वीको कक्षभित्र भएकोले (शुक्र  ग्रहको पनि) चन्द्रमाका माफिक यी दुबैको पनि सम्पूर्ण कला (Phases ) पृथ्वीबाट देख्न सकिन्छ । बुधलाई आकाशमा साँझ अथवा बिहानी पख मात्र देख्न सकिन्छ ।

बुध ग्रहबारे मानिसलाई ‘सुमेरियन’ कालदेखि नै थाहा थियो । कहिले यसलाई सूर्यास्तको तारा त कहिले सूर्योदयको तारा पनि भनियो ।

बुधको सतहमा अत्यन्त पातलो वातावरण छ, जुन मुख्य रूपले  सौरवायुबाट आएका परमाणुले बनाउँछन् । तर ग्रह अत्यन्त तातो भएकोले यी परमाणु पनि उडेर अन्तरिक्षमा पुग्छन् । बुधको वातावरण सधै परिवर्तित  भइरहन्छ ।

बुध ग्रहको सतहको तापमान माइनस १७३ डिग्री सेल्सियस देखि ४२७ डिग्री सेल्सियससम्म रहेको छ ।

अहिलेसम्म बुध ग्रहको कुनै पनि प्राकृतिक उपग्रह (चन्द्रमा) बारे थाहा भएको छैन । यसको सतहको  गुरुत्वाकर्षण ३.७ मीटर/सेकेण्ड २ छ भने यहाँको पलायन वेग ४.२५ किमी/सेकेण्ड छ ।

बुध ग्रह सूर्यदेखि धेरै नजिक भएका कारण अत्याधिक प्रकाशित हुनाले यसको धरातलको नक्सा बनाउन ‘हब्बल  टेलिस्कोप’ लाई गाह्रो  हुन्छ । अहिलेसम्म वैज्ञानिकहरूले यस ग्रहको ४५ प्रतिशत भागको नक्सा मात्रै बनाउन सकेका छन् । मानव निर्मित दुइटा अन्तरिक्ष यान ‘मैरीनर १०’ तथा ‘म्यासेन्जर’ ले बुध ग्रहको  यात्रा गरिसकेका छन् ।


बुध (छोटकरीमा)


सूर्यसँग सरदर दूरी — ५,७९,०९,१०० किमी

नजिक हुदा अपसौरमा —४,६०,०१,२०० किमी

टाढा हुदा उपसौरमा — ६,९८,१६,९००किमी

सूर्य परिभ्रमण समय — ८७.९६९ दिन

सूर्य परिभ्रमण गति — ४७.८७किमी / से

उपग्रह (चन्द्रमा) — छैन

व्यास — ४,८७९ किमी

क्षेत्रफल — ७.४८ गुना दसको घात ७ किमी

आयतन — ६.०८३ गुना दसको घात १०  घन किमी

द्रव्यमान — ३.३०२२ गुना दसको घात २३ किग्रा

घनत्व  ---   ५.427 ग्राम  /घन सेंटीमीटर

सतहको गुरुत्वाकर्षण — ३.७ मीटर / से२

सतहको पलायन वेग — ४.२५ किमी / सेकेण्ड

अक्षमा परिभ्रमण समय — ५८.६४६ दिन (१४०७.५ घण्टा )

अक्ष को परिभ्रमण गति ---   १०.८९२  किमी  /घण्टा (३.०२६  मीटर /सेकेण्ड )

वायुमण्डल संघटन —  ४२%  अक्सीजन ( आणविक ), २९% सोडियम, २२% हाइड्रोजन (आणविक ),  ६% हीलियम,   ०.५% पोटेशियम एवम् अन्य  तत्वमा  आर्गन, नाईट्रोजन, कार्वनडाइअक्साइड, वाष्प, जेनान, क्रिटान र नियन रहेका छन् ।

सतहमा  वायुमण्डलीय दाब — नाममात्र

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update