Erani Mahal
तानसेनको बन्दिपोखरामा सामाजिक सुरक्षा भत्ता दिन घरघरमै बैंक खाता !
Mahila

पाल्पा– जिल्लाको तानसेन नगरपालिका वडा नं. ११ बन्दिपोखराले सामाजिक सुरक्षा भत्ता वितरणको लागी सबै सेवाग्राहीको घरदैलोमै गएर बैंक खाता खोलेको छ ।


सामाजिक सुरक्षाभत्ताको रुपमा रहेको वृद्धा भत्ता (जेष्ठनागरिक), अपाङ्ग, एकल महिला, विपन्न परिवारका लागि प्रदान गरिने विभिन्न भत्ताहरुको वितरणको लागि सेवाग्राहीको घरदैलोमै पुगेर बैंक खाता खोलिएको वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले बताउनुभयो ।


सामाजिक सुरक्षा भत्ता लिनको लागि घण्टौं सम्म लाइन लाग्नुपर्ने, वृद्धा, अपाङ्गहरुलाई बैंकसम्म पुगेर खाता खोल्न समेत झन्झट नहोस भनेर घरघरमै पुगेर बैंक खाता खोलिएको रानीमहलसँगको कुराकानीमा घिमिरेले बताउनुभयो ।


नेपाल बैंक लिमिटेड संगको सहकार्यमा वडा नं. ११ ले ४ सय ७५ जनाको घरघरमै गएर सामाजिक सुरक्षाको खाता खोलेको हो । लक्षित वर्गहरुमा नागरिकहरुको भत्ता वितरण कार्यलाई व्यवस्थित र सुरक्षित गर्ने उद्देश्यले वडा नं. ११ ले सेवाग्राहीको बैंक खाता खोलेको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।


नेपाल बैंकका कर्मचारीहरुले वडाभित्रका जेष्ठ नागरिक १ सय ४२, एकल महिला १ सय १९, दलित जेष्ठ नागरिक ७१, बालपोषण बालबालिका १ सय २४, पुर्ण अपांग ७ र आंशिक अपांग १२ जनाको खाता खोलेको कार्यालय सहायक बिष्णु खातिले जानकारी दिनुभयो ।


खाता सञ्चालन भएपछि दोस्रो चौमासिकको भत्ता रकम चैतको पहिलो हप्तामै सबै नागरिकको खातामा जम्मा गरिने वडाध्यक्ष घिमिरेले बताउनुभयो । वडाध्यक्ष घिमिरेले खाता खोल्न छुटेका नागरिकहरुले सक्दो छिटो सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update