Erani Mahal
पाल्पाका होटल व्यवसायीलाई प्रजिअको अनुरोध : पर्यटकमैत्री बन्नुहोस्
hotel

पाल्पा– पाल्पाका होटल व्यवसायीहरुलाई पाल्पाका प्रजिअले पर्यटकमैत्री बन्न आग्रह गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू संघसँग छलफलको आयोजना गरेर पर्यटकलाई गर्ने आतिथ्यता र दिइने सुविधा र सेवालाई सुधार गर्न अनुरोध गर्नुभएको हो ।


जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा होटल तथा रेष्टुरेन्टहरूले सेवा, सत्कार र मर्यादित व्यवहार कायम गर्ने प्रतिवद्धता समेत गरेका छन् । होटल व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले सबै होटल १० बजेसम्म खोल्न दिनुपर्ने, आवश्यक बेलामा मात्र प्रहरी चेकिङ गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।


होटल व्यवसायी जिवलाल सुवेदी, जयराम सापकोटा, लक्ष्मण वस्याल, अमृत नेपाल, वसन्त कुँवर, साजन सुवेदी, शोभा कार्कीलगायतले होटल क्षेत्रमा प्रहरी प्रशासनको तर्फबाट हुनुपर्ने सहयोगका बारेमा चर्चा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मर्यादित र स्तरीय सेवाका लागि होटल व्यवसायी संघले पहल गर्नुपर्ने बताउनुभयो ।


पाल्पामा पछिल्लो समयमा होटल व्यवसायीहरुको दररेट एकरुपता नभएको, मनोमानी बढेको, पर्यटकमैत्री नभएको भन्दै व्यवसायीहरु एक आपसमा मिलेर संघ नै दर्ता गरेर सामुहिकताको काम सुरु गरिएको संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।


अरबौंको लगानी रहेको पाल्पाका होटलमा पर्यटक मैत्री व्यवहार गर्न र बसाई लम्बाउन सकेमा पाल्पाको विकास हुने उहाँको भनाई छ । पर्यटक आएर घुमेर फर्किने अवस्था नदिनका लागि पूर्वाधारसँगै पर्यटकको बसाई लम्बाउने काममा सरोकारवाला सबै लाग्नुपर्ने व्यवसायीको माग छ ।

पाल्पामा पानी, यातायात आदिको समस्या देखाउँदै व्यवसायीले सेवा सुविधा बढी लिने गरेको पर्यटकहरुको गुनासो छ, अबका दिनमा पाल्पामा यस्ता गुनासा आउन नदिने प्रविवद्धता व्यवसायीहरुले गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update