Erani Mahal
पाल्पामा मृगौला डायलाईसिस सेन्टर संचालनकाे तयारी पूरा
dye

पाल्पा– जिल्ला सदरमुकाम तानसेनमा अध्याधुनिक सुविधा सहितको मृगौलाको डायलासिस सेवा संचालनको तयारी गरिएको छ । १० वटा मेशिन सहित तानसेनको लक्ष्मी माविको विद्यालय कम्पाउण्ड बन्दीपोखरामा संचालन हुने डाइलाईसि सेन्टरको शुभारम्भको तयारी पूरा भएको अस्पतालले जनाएको छ ।


जिल्लामा डाइलासिस सेवा नहुँदा बुटवल, भैरहवा र काठमाण्डौं जानुपर्ने बाध्यतालाई हटाउँदै गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलले पाल्पाको तानसेनमा डाइलासिस सेन्टर स्थापना गरेको हो । अस्पतालले पाल्पामा सामुदायिक डायलाईसिस सेन्टर सहितको अत्याधुनिक सेवाको शुभारम्भ गर्न सम्पूर्ण तयारी पूरा गरेको छ ।


अस्पतालको लागि भवन, पूर्वाधार, फर्निचर लगायतका व्यवस्थापकीय काम सकिएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाईसिस सेन्टरको यहि चैत ७ गते देखि विधिवत सेवा शुभारम्भ गर्ने तयारी गरेको हो ।


गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसको त्रासले गर्दा उद्घाटनलाई समेत केही समय पर सारिएको बताउनुभयो ।


तानसेनमा हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताउनुभयो ।
पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले तान्सेनमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिक संगै समयको बचत हुने छ भने डायलाईसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताउनुभयो ।
१० वटा मेशिन सहित तान्सेनको बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङजा क्षेत्रका मृगौलाका विरामीहरु लाभान्वित हुने छन् ।
करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट हाल दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।


हाल पाल्पा गुल्मी लगायतका जिल्लाबाट ६४ जना विरामी नियमित डायलाईसिसको लागि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्ष देखि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आउनुको साथै विगत १ महिना देखि दाङ्गको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ ।


तानसेनमा डाइलासिस सेवा संचालन गर्ने बारे स्थानको विवाद हुँदा स्थापना हुन नसकेको सेवा अहिले ठाउँ र भवन पाएसँगै द्रुत गतिमा काम सक्काएर सेवा थालिएको अस्पतालले जनाएको छ ।
पहिले तानसेनको लहरेपिपल प्रावि, पाल्पा अस्पताल लगायतका क्षेत्रमा स्थान हेरिएपनि विवाद भएकाले बन्दिपोखराको लक्ष्मी माविको जग्गामा डाइलासिस सेन्टर खोल्न लागिएको हो ।

आफ्नै गाउँठाउँमा स्थापना गरिएको डाइलासिससेवाले पाल्पा लगायतका जिल्लाका विरामीलाई राहात हुने स्थानीय दिनेश रावलले रानीमहललाई बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रको शान्त र मनोरम वातावरणमा अस्पताल खोलिएकोले विरामीलाई समेत सहजता हुने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update