Erani Mahal
आज म रोएँ !  (सन्दर्भ नारी दिवश)
72307945_392109571701977_220931438374027264_o

– सविता मल्ल
विहान उठ्नासाथ मनमा एकप्रकारको खुसी छायो । मुखबाट अनयास आवाज निस्कियो आहा । आज त नारी दिवश । सधैं झैं उही समयमा उठे । उही दैनिकी पूरा गरें । म मेरो दैनिकीदेखि खुसी छु । मेरो जस्तै दैनिकी धेरै महिलाहरुको देख्दै आएकी छु । यही र यस्तै दैनिकीमा खुसी हुने संस्कार मेरो परिवार र समाजले मलाई निशुल्क उपाहारको रुपमा दिएको छ । तर आज त नारी दिवश नारीको महान चाड ।

अरु चाडमा झैं विशेष परिकार पकाउँछु भन्ने हिम्मत थिएन मसँग । नारी भएकै कारणले हरचाडमा दक्षिणा पाउँथे । नारी भएकै कारणले महिनावारीमा एक्लै सुत्थे । नारी भएकै कारणले भान्सालाई कार्यथलो बनाएकी थिएँ । नारी भएकै कारणले अन्यायमा नबोल्न, ठूलो स्वरले नबोल्न संस्कारमा पारेकी थिएँ । नारी भएकै कारणले घरलाई माइती बनाएकी थिएँ । नारी भएकै कारणले मेरो थर मेरो बुवाको जस्तो छ तर मेरो जस्तो थर मेरो छोराछोरीको छैन । म आफूलाई एक सामाजिक नारी बनाउने हरतरहले कोशिसमा नारी सम्बन्धि लेख रचना पढ्ने मात्र होइन । अथ्र्याउने र विश्लेषण गर्ने प्रयाससम्म गर्छु । प्रकृतिले दिएको भेद मात्र होइन समाज संस्कारले दिएको विभेद पनि महशुस गर्छु । नारीको गुण र शक्ति पनि अदभूत मान्छु अनि नारीको अबोधपन पनि । आज त नारी दिवश अनि हाम्रो दिवश । मेरो अपेक्षा अलि ठूलो भयो क्यारे । घरमा रहनुभएका नागरिक पुरुषले शुभकामना दिनुभएन भनि म दुखेजस्तो भयो ।

विद्यालय र समाजमा भएका विद्वानले पनि शुभकामना दिनुभएन । मेरो लागि कुनै उपाहार त छोडौं नौलो नास्ता समेत पाकेन । कतै कुनै कार्यक्रममा गइएन या भने बोलाइएन । आज नारी दिवश मेरो हजुरआमा भन्दा पनि जेठो हो । सायद उहाँले नारी दिवश शब्द नै सुन्नु भएन होला । मेरो मुमाले रेडियोमा नाम समेत सुन्नुभयो । मेरो यसरी बित्दैछ सायद मेरो नातीनीले यो नारी दिवशको औचित्य बुझ्छे होला । एकसय १० वर्ष अगाडि अमेरिकाबाट हिँडेको यो दिवश अब त नेपालमा आइपुग्छ कि । आखिर यो नारी दिवश कसको लागि हो ।

लेखक

ज्यूदै देवी मानेर पूजा गर्ने कुमारीको लागि ? राष्ट्रपति, न्यायधिश, सभामुख, मन्त्रीजस्ता सम्मानित पदका जिम्मेबारी निभाउने नारीको लागि ? विश्वका ठूला प्रतिष्ठित संस्थाका प्रमुख भएर काम गर्ने सफल प्रतिभावान नेपाली नारीका लागि ? वा गाउँगाउँ उम्मेदुवार उठेका समाजसेवी नारीका लागि ? जब विश्वमा नारी दिवश धुमधामले मनाइन्थ्यो मेरो देशमा सती प्रथा थियो । यो नारी दिवश कसको लागि ? छाउगोठमा बल्तकृत हुने नारीको लागि ? दाइजोको कारणले हस्पिटलमा छट्पटिएका नारीको लागि ? बोक्सीको कारण गाउँ छोड्न बाध्य गराइएका नारीको लागि ? वृद्धा आश्रममा मृत्यू कुरीरहेका नारीको लागि ? डोल्पाको हिउँको पखेरोमा भोकै बसेका, रक्सीको मातले विटाइ खाएका, २० वर्षे जवानीमा विधुवा भएका, देउकी, झुमा, घुम्टो, कम्लरी जस्ता कुप्रर्थाले झेलिएका नारीका लागि आखिर कस्को लागि ? साँझ परिसक्यो, बाँकी ३६४ दिनको यहि दैनिकीमा खुसी हुने यो नारी आज किन गह्रो मन गराएकी होली मसँग फरक पन आएन ।

मसँग निद्रा पनि आएन । म भित्रको नारीत्वले तछाँड, मछाँड गर्दै प्रश्न तेस्र्राइरह्यो । मैले डायरी निकाले । मेरो पागलपनलाई शब्दमा समाले । थुप्रै प्रश्नहरु छन् । तर उत्तर छैन । सायद उत्तर नै छैन । आँसुलाई मनमा राख्न सकिन मेरो महत्वकाँक्षी नयनहुँदै बग्न दिएँ । सायद नारी दिवशको औचित्य सबैका लागि होस भन्न रोंएँ । खै किन किन आज म रोएँ । आज म रोएँ ।।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update