Erani Mahal
पाल्पा र पाेखराकाे पर्यटन प्रवर्द्धनका गर्न लेकसाइटमा डिजिटल बोर्ड
76

पाल्पा - पाल्पाली समाज पोखराले पाल्पा पोखराको पर्यटन प्रवर्द्धनका गर्न लेकसाइटमा डिजिटल बोर्ड राखेको छ । पोखरा महानगरपालिका वडा नं ६ बाराहीचोकमा राखिएको डिजिटल बोर्डको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सम्युक्त रूपमा शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई पर्यटकीय महानगरपालिका घोषणा गर्ने तयारीमा लागेको बताउनुभयो । सिद्धार्थ राजमार्ग स्तरोन्नति गरेर पोखरा आएका पर्यटकलाई श्रीनगर जाने वातावरण बनाउन सकिने उहाँको भनाई छ । महानगरपालिका प्रमुख जीसीले कम्तिमा १० वर्षभित्र पोखराको प्रति व्यक्ति आय २२ हजार डलर पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पोखराको पर्यटन विकासका अनुभवलाई पाल्पा र तानसेनले उपयोग गर्न चाहेको बताउनुभयो । डिजिटल बोर्डले पाल्पाको पर्यटन मात्र होइन, अन्य आर्थिक विकासका सम्भावना उजागर गर्न मद्दत गर्ने नगरप्रमुख शाहीको भनाई छ । उहाँले सिद्धार्थ राजमार्गलाई सुनौली पोखरा क्षेत्रका १५ स्थानीय तहले सिद्धार्थ करिडोरको रूपमा विकास गर्न चाहेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले दुई अन्तर्राष्ट्रिय विमानस्थलको बीचमा रहेको पाल्पाले पर्यटनबाट धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व उद्योगमन्त्री हरिप्रसाद पाण्डेयले यो डिजिटल बोर्डमा पोखरादेखि लुम्बिनीसम्मका विभिन्न स्थानका दृष्य राख्नाले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले पाल्पामा मैले गर्ने लगानी मान इज्यत प्रतिष्ठाका लागि होइन, जन्महुर्केको थलोप्रतिको सम्झनाका लागि हो भन्नुभयो । उद्योगपति पाण्डेले आधुनिक कृषि, साना उद्योगको विकास, कालीगण्डकी पानीको स्रोतको उपयोग र आइटीको विकास गर्न सके पाल्पाले फड्को मार्न सक्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाको पर्यटन प्रवर्द्धनमा पोखरामा बस्ने पाल्पालीहरूको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

पाल्पाली समाज समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले डिजिटल बोर्ड सार्वजनिक खरिद ऐनअन्तर्गत १८ लाख ४२ हजार रूपैयाँमा खरिद गरिएको र तयारी खर्चसमेत गरी २२ लाख खर्च भएको जानकारी दिनुभयो । बोर्ड निर्माणका लागि तानसेन नगरपालिकाको कुल लागतको २५ प्रतिशत, पाल्पा उद्योग वाणिज्य संघले १ लाख, पाल्पा व्यापार संघले १ लाख रूपैंया सहयोग प्रदान गरेका छन् ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, पाल्पाली संगमका अध्यक्ष पदम न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, पोखरा पर्यटन परिषदका संयोजक चिरञ्जीवी पोखरेलले पाल्पाली समाजको रचनात्मक कार्यका लागि बधाई ज्ञापन गर्नुभयो । समाजका सचिव केशव नेपालको सञ्चालन र अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update