Erani Mahal
गौशाला र प्रस्तावित धर्मशाला निर्माणार्थ रामपुरमा महायज्ञ सुरू
87413570_645215822966431_3305374803430473728_n

पाल्पा - सनातन धर्मको सस्कार र नेपालको राष्ट्रिय जनावर गाइको संरक्षणका लागि व्यबस्थित गौशाला तथा धर्मशाला निर्माणका लागि रामपुर- ६ तातोपानी धाममा श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ । पछिल्लो समय छाडा छोडिदिने गरेको पाइएपछी गाइको रक्षार्थ रामपुर नगरपालिकाले गौशाला निर्माण गरि दिगो व्यबस्थापनका लागि महायज्ञ संचालन गरेको हो ।

यज्ञको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राष्ट्रिय जनावरको संरक्षण गर्नु गाईको संरक्षण मात्र नभइ आस्था र कर्तव्य भएको बताउनुभयो । गाई राष्ट्रियता, सभ्यता र हाम्रो धर्महरु संग जोडिएकाले यसको रक्षा गर्नु आवश्यक छ उहाले भन्नुभयो-गाईको गोबरले लिपपोत गर्ने सस्कार, गहत, दूध साथै पुच्छर समातेर वैतणी तर्ने आस्थाले मानिसलाई असल,सत्कर्ममा डोर्‍याएको छ । नगरपालिकाले गौशालाको सोछ राखेर त्यसयता आवश्यक काम र निरन्तर सहयोग गर्दै आएको बताउँदै गौशालाको व्यवस्थापनको लागि २ बर्ष २०/२० लाख रकम बिनियोजन गरेकोमा आगामी आर्थिक वर्षमा २५ लाख रकम विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले विगतमा भौतिक पुर्वाधारको लागी यज्ञ सञ्चालन हुँदै आएकोमा यस पटकको यज्ञ आफैमा पृथक भएको बताउनुभयो । गाईको दूध, गहत, मल र पुजाका धरोहर गाई हरेक चिजबाट मानवको लागि अति महत्वपूर्ण हुने भएकाले यसको संरक्षणको लागि जुट्न आग्रह समेत गर्नुभयो।

धार्मिक अध्येता बाल व्यास, युवा पण्डित नारायण प्रसाद न्यौपानेले गौशालामा गौमातालाई साथमा राखेर प्रवचन सुन्ने सुनाउने पुण्य अवसर कमै मात्रामा मिल्ने बताउदै आनन्दित कथा सुन्न पाल्पा,स्याङ्जा ,तनहु,नवलपुर,कास्की, रुपन्देही सहित छिमेकी जिल्लाका भक्तजनलाई अबसरमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष हिमाल मल्ल, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बोल्दै महायज्ञ जगतको सृष्टि कर्ता गौमाताको संरक्षणका लागि हुने भएकाले नगरबासी मात्रै नभई सबै जना उत्सवको रुपमा सहभागी हुन आग्रह गर्नुभयो ।


५ करोड बढी दान संकलन गर्ने लक्ष्य रहेको महायज्ञमा ३ करोड गौशाला र २ करोड प्रस्तावित धर्मशाला निर्माणमा लगाउने योजना छ । महायज्ञमा गंगा आरति, गौदान, व्रतवन्धको समेत व्यवस्था गरिएको मूल आयोजक समितिका संयोजक एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

यज्ञ उट्घाटन अघि शोभा कलश यात्रा निकालिएको थियो । यज्ञस्थलबाट सुरु भएको कलश यात्रा बेझाँड बजार, किसानबारी, विजयपुर, तालपोखरा हुँदै यज्ञमा पुगेको थियो । गाईलाई अघि लगाएर सुरु गरिएको यात्रामा महिला समुह, क्लव, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागीता रहेको थियो ।

श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रम उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत, पिताम्बर भण्डारीको धन्यवाद र सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायण प्रसाद न्यौपानेको मुखार विन्द बाट प्रवचन भैरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update