पाल्पा– तिनाउँ गाउँपालिका स्तरीय वन उपभोक्ता महासंघको अन्तरक्रिया कार्यक्रम दोभानमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समिति तिनाउँ गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमु्ख अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगर रहनु भएको थियो ।
प्रमुख अतिथि घर्तीले सामुदायिक वनहरुको संरक्षण र प्रर्वद्धनमा केन्द्र र प्रदेशको ऐनको आधारमा स्थानीय तहले समेत ऐन बनाएर काम गर्ने बताउनुभयो । उहाँले वन व्यवस्थापन र संरक्षणमा सामुदायिक वन उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वडा नं. २ का वडा अध्यक्ष प्रेम पाण्डे, जिल्ला कोषाध्यक्ष लक्ष्मी ज्ञवाली, सव डिभिजन वन कार्यालय तिनाउँका रेञ्जर गोविन्द पोखरेल लगायतले आफ्नो धारणा राख्दै सामुदायिक वन संरक्षण र उपभोगमा सबै उपभोक्ताहरुको सहभागिता आवश्यकता रहेको बताउनुभयो ।
समूहका सदस्य शुशिला विष्टको संचालन र गाउँपालिका स्तरीय अध्यक्ष गोविन्द पाण्डेको अध्यक्षतामा भएको थियो । तिनाउँपालिका स्तरीय वन उपभोक्ता महासंघमा ८४ वटा सामुदायिक वनका उपभोक्ता समितिहरुको सहभागिता रहेको छ ।