Erani Mahal
रामपुरमा 'तेस्राे मेयर कप' सुरू
83109668_2464881450492492_5536991427625484288_o

पाल्पा – बुधबारदेखि पाल्पाको रामपुरमा शुरु भएको तेस्रो मेयर कप अन्तर्गतको उद्घाटन खेल म्याराथनमा रामपुर ३ का सन्दिप श्रेष्ठ प्रथम भएका छन् । उनले निर्धारित १० किलोमिटरको दुरी ३७ मिनेटमा पार गरेका थिए ।

३७ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै रामपुर नगरपालिका ६ का मनोज क्षेत्री द्धितिय, रामपुर ६ कै सुरेश कुमाल ३९ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै तृतीय र ४० मिनेट ४२ सेकेण्डमा पार गर्दै रामपुर २ का सागर कुमाल सान्त्वना भए । दौडमा १४ जना सहभागी थिए ।

नगर खेलकुद विकास समिति रामपुरको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा ‘‘उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान’’ भन्ने नारा सहित भएको मेयर कपको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले खेल जगतको विकास र युवाको एक्यबद्धताले सकारात्मक समाज परिवर्तन संभव हुने बताउनुभयाे ।

यसैगरी बुधबार पुरुष फुटवल र पुरुष भलिवल प्रतियोगिताका २/२ खेल सकिएको छ । वडा नम्बर २ र १० बिचको खेलमा शुन्यका विरुद्ध ४ गोलले वडा नम्बर १० विजयी भएको छ । त्यस्तै वडा नम्बर ८ र ९ बिचको बिच भएको खेलमा ८ ले शुन्यका बिरुद्ध २ गोलले जित हात पारेको हो ।

पुरुष भलिवलमा ७ र ९ बिचको खेलमा २–१ को सेटमा वडा नम्बर ७ बिजयी भएको छ । त्यस्तै वडा नम्बर ६ र ८ बीचको खेलमा सोझो सेटमा वडा नम्बर ६ बिजयी भएको खेलकुद विकास समितिका अध्यक्ष शंकर खाँणले जानकारी दिनुभयाे ।

कार्यक्रम उद्घाटनका अबसरमा रामपुर नगपालिकाका नगरउपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, इलाका प्रशासन कार्यालयका प्रमुख अशोक आचार्य, वडा नम्बर ७ का निमित्त अध्यक्ष दुर्गादेवी भण्डारी, वडा नम्बर १ का अध्यक्ष मित्रलाल कडेंल, नेपाली काग्रेंसका नगरसभापति नेत्र प्रसाद भट्टराई नेकपा नगर अध्यक्ष कमलराज भट्टराई, नगर सल्लाहाकार देवराज ढकाल, जिल्ला खेलकुद समिति सदस्य कमल सेनले खेलकुद विकासका लागि नगरको भुमिकाका बारेमा बोल्नुभएकाे थियाे ।

नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर खाँणको अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा उपाध्यक्ष मणीरत्न खाँणले स्वागत गरेका थिए भने सञ्चालन महासचिव राजु गुरुङ्ग र सचिव सञ्जु परियारले गर्नुभएकाे हाे ।

विगतमा भलिबल, फुटबल र व्याटमिण्टन गरी ३ विधामा प्रतिस्पर्धा हुँदै आएकोमा यस वर्षदेखि थप परिस्कृत गर्दै ८ वटा विधामा प्रतिस्पर्धा राखिएको समितिका सचिव सञ्जु परियारले जानकारी दिनुभयाे । माघ १८ गतेसम्म सञ्चालन हुने मेयर कप अन्तर्गत वडास्तरीय पुरुष फुटबल प्रतियोगिता, पुरुष भलिवल प्रतियोगिता, वडास्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता, वडास्तरीय क्रिकेट प्रतियोगिता, खुल्ला व्याडमिन्टन प्रतियोगिता, वडास्तरीय रसी तान्ने प्रतियोगिता, खुल्ला म्याराथन प्रतियोगिता र वडास्तरीय सटपुट प्रतियोगिता राखिएको छ ।

प्रतियोगितामा वडास्तरीय पुरुष फुटबल तर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २५ हजार, वडास्तरीय पुरुष भलिबलमा प्रथमले ५० हजार, द्वितीयल ३० हजार र तृतीयले २० हजार प्राप्त गर्नेछन् । यसैगरी वडास्तरीय उपमेयर कप महिला भलिबलमा प्रथमले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार, वडास्तरीय क्रिकेटमा प्रथमले ३५ हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार, खुल्ला व्याडमिन्टनमा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार प्राप्त गर्नेछन् ।

वडास्तरीय रसी तान्ने खेलमा प्रथमले १० हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र, खुल्ला म्याराथुनमा प्रथमले ५ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार बराबरको, वडास्तरीय सट पुट प्रतियोगिता प्रथमले ५ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार ट्रफी मेडल सहित र प्रमाण पत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमध्ये म्याराथन रामपुर बिपी पार्कबाट शुरु हुनेछ । क्रिकेट प्रतियोगिता रामपुर ५ मटेरी ठुलोटारमा सञ्चालन हुनेछ भने बाँकी खेल रामपुर ७ किसानबारीमा खेल मैदानमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update