Erani Mahal
गुल्मीमा भैँसी करणीको पोल खुल्ने डरले ७२ वर्षीय वृद्धको हत्या !
Bhaisir-

प्रेम सुनार गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–७, रुपाकोट देउराली निवासी ७२ वर्षीय देवीराम भण्डारीको हत्याको रहस्य भैँसी करणीसँग जोडिएको छ । पुस ५ गतेको उक्त घटनाबारे प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान लगभग यही निष्कर्षमा पुगेको बताइएको छ ।


प्रहरी स्रोतका अनुसार काउले दाईका नामले परिचित भण्डारी सदा झैँ त्यस दिन खोलाखेत भन्ने स्थानमा रहेको बेसी गोठमा झरेका थिए । देउराली भन्ने स्थानमा उनको घर र तल खोलाखेत भन्ने बेसीमा अर्कैको खेती अधिया (उब्जनी आधा आधा हुनेगरी) गर्दथे र त्यहाँ भैँसीसमेत पालेका थिए ।


उनी प्रायः सधैँ दिउँसो चार बजेदेखि साढे चार बजेभित्र भैँसी दुहुने र घाँसपात लगायतका काम सकेर घर निस्कन्थे । तर त्यस दिन गोठ नजिकैको कुटानी पिसानी मिलमा उनी धेरैबेर अलमलिएको हुँदा त्यस साँझ भैँसी दुहुन ढिला भयो ।

भैँसी दुहुनका लागि गोठमा जाँदा उनले थोरे भैँसीलाई एक जना युवाले करणी गरेको अवस्थामा देखेको बताइन्छ । आफ्नो गोठमा बाँधेको भैँसी करणी गरिरहेको अवस्थामा फेला पारेपछि उनले करणी गर्ने युवालाई एक थप्पड हाने । त्यसपछि ती युवाले दबदबेको लाठी प्रहार गरेर वृद्धलाई ढालेर गोठ मै रहेको सिलौटा प्रहार गरेर उनको हत्या गरे ।

प्रहरी स्रोतले जनाएअनुसार हत्यामा संलग्न तिनै युवा गत वर्ष पनि उनै वृद्धको भैँसी करणी गरेको अवस्थामा फेला परेका थिए । स्थानीय समाजसेवीहरुले उनलाई भैँसी करणी गरेबापत गत वर्ष २५ हजार जरिवानासमेत तिराएका थिए ।

स्थानीयवासी खिमलाल भण्डारीका अनुसार गत वर्ष पनि ती युवाले ‘काउले दाई’ (मृतक भण्डारी) कै भैंसी
करणी गरेपछि २५ हजार तिराइएको हो ।

गोठमै देवीराम भण्डारीको हत्या भएको घटनालाई प्रहरीले गत वर्षको सोही घटनालाई केन्द्रमा राखेर अनुसन्धान थालेको थियो । सोही क्रममा प्रहरीले भैँसी करणीमा संलग्न चन्द्रकोट गाउँपालिका–८, तुराङ्गका २० वर्षीय युवकलाई अनुसन्धानको निशाना बनायो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा लाठी र ढुङ्गाले हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले बताउनुभयो ।

भैँसी करणी गर्न लागेको बेला देवीराम भण्डारी गोठमा आएपछि आफूलाई एक थप्पड हानेको र रिसको झोँकमा आफूले पहिला दबदबेको लाठीले हानेको र पछि चारपाटे ढुङ्गाले हिर्काएर मारेको बताएका छन् । उनले हत्यामा प्रयोग गरेको लाठी र ढुङ्गासमेत उनकै बयानका आधारमा बरामद गरिएको स्रोत बताउँछ ।

सरकारी वकिल नभएका कारण निजको बयान लिन बाँकी रहेको एसपी खड्काले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update