Erani Mahal
स्वराेजगार बन्न सराईका महिला समूहलाई  प्रविधि हस्तान्तरण
81552281_772390939894536_5431533547963809792_n

पाल्पा - माथागढी गाउँपालिका-३, सराईका महिला समूहलाई स्वराेजगार बन्न लघु प्रविधि हस्तान्तरण गरिएको छ । मेडपा प्राविधिक सहयाेग परियोजनाको सहयोगमा गाउँपालिका वडा नं. ३ सराईमा रहेका मिलिजुली होजीयारी लघु उद्यमी समूहलाई अध्याधुनिक सिलाई मेसिन प्रदान गरिएको हो ।

समूहलाइ स्वीटर बन्नु मेसिन २ थान, स्वीटर सिलाउने मेसिन २ थान, इन्टरलक मेसिन १ थान, कटिङ् टेबल १ थान प्रदान गरिएकाे हाे । मेसिन प्रदेश सभाका सदस्य नारायणप्रसाद आचार्यले समूहकी अध्यक्ष गीता सारूलाइ हस्तान्तरण गर्नुभयाे ।


कार्यक्रममा पाल्पा क्षेत्र नं. १ (२) का प्रदेश सभा सदस्य समेत रहनुभएका आचार्यले विपन्न महिलाकाे आर्थिकस्तर उकास्नका लागि प्रविधि मेसिन सहयाेगी हुने बताउनुभयाे । आचार्यले अब साना उद्याेग मात्र हाेइन, ठूला उद्याेग समेत संचालन गर्नुपर्ने आवश्यकता रहेकाे भन्दै त्यसका लागि प्रदेश सरकारले सहयाेग गर्ने बताउनुभयाे ।

कार्यक्रममा मेडपाका प्रदेश विज्ञ उत्तम श्रेष्ठले गरिवी निवारण र महिलालाइ उद्यमी बनाउन प्रविधि हस्तान्तरण गरिएकाे बताउनुभयाे । श्रेष्ठले सीप र क्षमता र जाँगर भएकाकालाइ सहयाेग गर्न आफूहरू तयार रहेकाे बताउनुभयाे ।

कार्यक्रममा घरेलु तथा साना उद्याेग विकास कार्यालय पाल्पाका उद्याेग अधिकृत बालकृष्ण गैरेले सरकारले समयसापेक्ष सीप र प्रविधि सहयाेग गरिरहेकाे उल्लेख गर्दै प्रविधिकाे भरपूर उपयाेग गर्न आग्रह गर्नुभयाे । उहाँले स्थानीय स्तरमा उत्पादन भएका बस्तु बिक्री गरेर समूहले आम्दानी बढाउनुपर्ने बताउनुभयाे ।

माथागढी गाउँपालिकाकी कार्यपालिका सदस्य तारा रसालीले महिलाहरूलाई स्वराेजगार बनाउन गाउँपालिकाले समेत विभिन्न तालिमहरू दिइरहेकाे बताउनुभयाे । कार्यक्रममा दिव्यज्याेति मावि व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले महिला समूहले उत्पादन गरेकाे स्वीटर, टाेपी, पन्जा जस्ता सामग्री विद्यालयका विद्यार्थीका लागि उपयुक्त हुने बताउनुभयाे । कार्यक्रम लघु उद्यम विकास केन्द्रका निर्देशक वीरविक्रम सुनारकाे स्वागत, लघु उद्यम विकास सहजकर्ता मनाेज घिमिरेकाे संचालन र वडा अध्यक्ष दिपक थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update