Erani Mahal
पीडामा बाँचिरहेको एक योद्धा
Untitled-1

राम बहादुर गरंजा (एसकुमार)  "निराश हुनेहरू हरेक कामलार्इ कठिन ठान्छन् । त्यसमा समस्यै-समस्या देख्छन् । आशावादीहरू हरेक समस्यामा अवसर देख्छन् ।"- स्विटर्न चर्चिल ले भनेझै आशावादीहरू हरेक समस्यासँग संघर्ष गरेर अगाडि बढ्छन् । यो संसारमा यस्ता स्वप्नजिविहरू छन् जसले वास्तवमै केही गरेर देखाएका छन् । तिनिहरू जम्प हानेर, छलाङ्ग मारेर त्यहाँ पुगेका होइनन् । पाइला-पाइला सारेर, कैयौ बाधाहरू झेलेर सफलता प्राप्त गरेका छन् । त्यस्तैगरि हिमाल उठेर महान बनेका छन् भने पानी तल झरी, सागर बनेर महान बनेका छन् । त्यसैले कहिलेकाँही पानी जस्तै तल झरी सागर बन्न सक्नुपर्छ । जो दिएर खुसी हुन्छ, दिन पाउदा वा आफूलार्इ लुटाउँदा खुसी हुन्छ, त्यो हो प्रेम । जो लिन पाउदा खुसी हुन्छ, त्यो त अहंकार मात्र हो । जसलार्इ सामुन्ने देख्ने वित्तिकै चारैतर्फ उत्साह र उमंगको वातावरण पैदा हुन्छ, यस्तै व्यक्तिलार्इ नै मानिसहरू आफ्नो शिर र आखाँमा राख्दछन् । हो पात्र आफू गलत नहुँदा पनि कहिलेकाँही ऊ गतल मान्छेबाट परिचालित हुन सक्छ । त्यसलार्इ उसको नियत नभर्इ भूलवस भएको कमजोरी ठान्नु ठिक होला । यहाँ म त्यही एक पात्र कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी योद्धा तथा आदिवासी जनजाति अभियन्ता कामरेड गिर बहादुर थापा (बिरवल) को विषयमा केही कुरा लेख्ने जमर्को गरेको छु ।

बीरबल थापा । पीडित व्यक्तित्व ।

पाल्पा जिल्ला सिद्धेश्वर ६ हाल रैनादेवी छहरा १, पाल्पा निवासी बुवा गन बहादुर थापा र आमा नरी थापा मगरका कान्छा छोराको रूपमा २०३६ साल असार १ गतेका दिन जन्मिनु भएको हो गिर बहादुर थापा । पाल्पा जिल्लाको सिद्धेश्वर बामपन्थीको आधारक्षेत्र मानिन्छ । उक्त क्षेत्रका ढुङ्गा, माटो, पशुपन्छी लगायत सबैलार्इ कम्युनिष्ट भनेर चिनिन्छ । हुनपनि सिद्धेश्वरका जनताले पुरानो बिचारलार्इ भन्दा परिवर्तनकारी शक्तिलार्इ जहिलेपनि साथ र समर्थन गरिरहेका छन् । त्यही ठाउँका एउटा सामान्य परिवारमा जन्मिनुभएका गिर बहादुर थापा २०५६ सालको शुरूवाती चरणमा नै तत्कालिन नेकपा (माओवादी) मा बिरवलको नामबाट पूर्णकालिन हुनुभएको हो भने २०५५ सालमा माओवादी पाल्पाको स्थापना भएको थियो । २०५६ साल फागुनमा पार्टी सदस्य लिएका बिरवलको पत्नी खेममाया थापा र २ सन्तान लेखा थापा र बुनु थापा छन् । २०५८ साल भदौ २ गते रहवासको चिर्तुङ्गमा हजारौ जनता र कार्यकर्ताको बिचमा जनसरकार पाल्पाको घोषणा हुँदा बिरवल जनसरकार सदस्य हुनुभएको थियो । बर्गिय मुक्ति प्राप्तिको लागि उत्पिडित जातिको मुक्ति अनिवार्य रहेको महसुस गरी सर्वप्रथम नेकपा (माओवादी) ले २०५४ सालमा मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल गठन गर्‍यो । २०५९ सालमा मगर मोर्चा पाल्पाको अध्यक्ष भर्इ आफ्नो सक्रिय जिम्मेवारी सम्हाल्नुभयो ।

लेखक रामबहादुर गर‌जा ।

२०६२/०६३ सालमा सम्पन्न मगर मोर्चा नेपालको केन्द्रिय सम्मेलनबाट केन्द्रिय सदस्य निर्वाचित भर्इ ३/४ कार्यकाल केन्द्रिय सदस्य हुँदै सचिवालयमा रहेर कामकाज गरी मगरहरूको हितको लागि डटिरहनुभयो । बिभिन्न समयमा आदिवासी जनजाति महासंघ, पाल्पाको सल्लाहकारमा रहेर जनजातिको अधिकारको पक्षमा काम गरेको र अहिले पनि सल्लाहकारमा रहनुभएको छ । त्यतिमात्र नभएर नेपाल मगर संघ, पाल्पाको सल्लाहकारमा रहि जातिय मुक्ति आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । त्यस्तैगरि २०६५ साल फागुन १२ गते सम्पन्न एकता अधिवेशनबाट तत्कालिन एनेकपा (माओवादी) पाल्पाको बरिष्ठ कार्यालय सदस्य, २०७१ साल बैशाख १६-१७ गते सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट तत्कालिन नेकपा-माओवादी पाल्पाको सह-सचिव निर्वाचित हुँदै २०७२ साल मंसिर १९ गते सम्पन्न एकता अधिवेशनबाट तत्कालिन नेकपा (क्रान्तिकारी माओवादी) पाल्पाको संयोजक र २०७३ साल अशोज १३ गते सम्पन्न एकताको तेस्रो जिल्ला सम्मेलनबाट नेकपा (माओवादी केन्द्र) पाल्पाको संयोजक बनी पार्टीको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यस्तैगरि पार्टी एकताकै क्रममा २ ठुला वामपन्थी पार्टीबिच एकता भएर देशकै ठुलो दल हुनपुग्यो । सोही क्रममा २०७६ साल जेठ ८ गते तानसेनको नगरपालिकामा सम्पन्न एकता अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको सचिब जस्तो गरिमामय पदमा पुग्नुभयो र हालसम्म सोही पदको जिम्मेवारीमा रहनुभएको छ ।

तर कम्युनिष्ट आन्दोलनका एक अथक योद्धा तथा पूर्व छापामार कमाण्डर जो समाज परिवर्तनको संवाहक आज आफै सुगर, प्रेसर मात्र नभएर दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा छटपटाइरहेको छ । 'छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी' भनेझै जसले आर्थिक अवस्था कमजोर भएकाले उपचारको लागि हारगुहार गरेको छ । उहाँ कुनै बर्ग, पार्टी, क्षेत्र र समुदायको मात्र नभएर सबैको आदारणिय व्यक्तित्व हुनुहुन्छ ।

'एक थुकी सुकी, हजार थुकी नदी' भनेझै सबैले सम्मान र सहयोग गर्नुपर्छ । हिजो बैज्ञानिक समाजवाद हुँदै अन्तत साम्यवाद सहितको बर्गविहिन समाजको सपना बोकेर हिडेका यात्रीहरू आज आफै बाटोमै अलपत्र परेको छ, घाइते भएको छ र रोगले आक्रान्त बनेको छ ।"राम्रो कामको लागि धनको भन्दा पनि हृदय र संकल्पको धेरै आवश्यकता पर्छ ।"-थोमर मुर ले भनेका छन्, हृदय ठुलो बनाऔं र संकल्प गरौं । सबै गुमाएपनि अस्तित्व नगुमाऔं । मन सुन्दरताको दर्पण हो र याद केवल यस्तो स्वर्ग हो, जहाँबाट हामीलार्इ चाहेर पनि भगाउन सकिदैन ।

त्यसैले सबै जनाले संकल्प गरौ "बिरवल बचाऔं अभियानमा" । 'अरू जोगी मरिजा, मेरो झोला भरिजा' भन्ने स्वार्थि परिवेशमा पनि उहाँ निकै फरक पनको मान्छे हुनुहुन्छ । एक क्रान्तिकारी, इमान्दार, लगनशिल र सरल स्वभावको प्रतिभा भएको मान्छे । सबैसँग नरम व्यवहार र समन्वय गर्न सक्ने क्षमता छ उहाँमा । कम्युनिष्ट पार्टीमा मात्र नभएर सबै पार्टीका साथीहरूले रूचाउने प्रिय मान्छे । उहाँसँग धेरै सहकार्य र काम गर्ने अवसर मिल्यो । कहिल्यै पनि खुरापाती, चाप्लुसी र चाकरी नगर्ने एक भद्र स्वभावको व्यक्ति हुनुहुन्छ । मलार्इ संझना छ २०५८ सालमा सिद्धेश्वर साउनेको जंगलमा पहिलो शैन्य तालिम लिने अवसर पाए जसमा तालिमको प्रशिक्षक तथा कमाण्डर का.बिरवल र मञ्जु हुनुहुन्थ्यो ।

त्यतिखेर ६ महिनाको निकै कडा कोर्ष हामीले १ हप्तामा सकेका थियौ, उक्त समयमा उहाँको शैन्य कला देखेर म छक्क परेको थिए । त्यतिमात्र नभएर संगठनको काममा जमेर लाग्ने, कार्यकर्ताको समस्यामा जतिखेरपनि हाजिर हुने र जन्ताहरूमाझ परिचित एक कुशल संगठक पनि हुनुहुन्छ । यो कुनै काल्पनिक नभएर उहासँग काम गर्दाको यथार्थताको भोगाइ हो । त्यसैले हाम्रो सानो सहयोगले उहाँको जीवन रक्षा हुनसक्छ कञ्जुस नगरौ, सहयोगी हातहरू बढाऔं, संकुचित र स्वार्थि भएर नबाँचौ ।स्वास्थ्यको ख्याल गरौ, स्वास्थ्य नै धन हो र सेवा नै धर्म हो ।

 अन्तमा सबैले भन्छन्, जिन्दगी निकै छोटो छ अनि सुन्दर पनि तर म भन्छु चुरोट जस्तो नभएर रबण जस्तै लामो जिन्दगी बाँचौ र आनन्दका साथ जिन्दगीको मज्जा लिगौं ।

 रैनादेवी छहरा १, पाल्पा  निवासी लेखक गरम्जा । उहाँका छिमेकी समेत हुनुहुन्छ ।   

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update