Erani Mahal
तानसेनको सडक खाना महोत्सवमा स्थानीयको भीड (तस्वीर सहित)
79885989_460948314479196_8189583415981375488_n

पाल्पा– तानसेनको बिशालबाजार टोल विकास संस्थाको आयोजनामा शुक्रबार सडक खाना महोत्सव भएको छ । तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले सडक खाना महोत्सव गरिएको हो ।

महोत्सवमा स्थानीय नेवारी, मगरी, बाह्मण, मुस्लिम समुदायका प्रचलित खाना तथा परिकारहरुका दुई दर्जन बढी स्टलहरु सडकमै राखिएको थियो । विभिन्न समुदायका भेषभूषासहित सडकमै विभिन्न खानाका परिकार खान र स्वाद लिन पाइने व्यवस्था गरिएपछि स्थानीयहरुको भीड नै लागेको आयोजक दमयन्ती बजीमयले जानकारी दिनुभयो ।

स्थानीय समुदायका रहेको प्रचलित खाना तथा परिकारको प्रचारप्रसार एवं संस्कृति संरक्षणका लागि सडक खाना महोत्सवको आयोजना गरिएको तानसेन–४, का वडा सदस्य गणेश थापाले जानकारी दिनुभयो ।

सडकमा रहेका विभिन्न खानाका परिकारसँगै सांस्कृतिक कार्यक्रममा समेत दर्शकहरुको सहभागिता रहेको थियो । तानसेनको यस अघिका सडक खाना महोत्सवको तुलनामा धेरै दर्शकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

मेला सुरु भएको २ घण्टामै सबै परिकार सकिएपछि स्टल सहभागिहरुलाई थप परिकार पुरउन हम्मे परेको थियो । कतिपय परिकारहरु सकिएपछि दर्शकहरु स्वाद नै चाख्न नपाएर फर्किएका थिए ।

मेलामा नेवारी, मगरी, मुस्लीमका परम्परागत परिकारहरु, च्याउँको परिकार, परम्परागत मकै, कोदोको रोटीका परिकारहरुको साथमा विभिन्न खानाको परिकारहरु राखिएको थियो । मेलामा १० हजार बढी दर्शकहरु सहभागिता रहेको र ५० लाख बढीको कारोवार भएको आयोजकले जनाएको छ ।

महोत्सवको लागि विशालबजारको चोक गल्लीहरुमा ध्वजा पतकाले दुलही झैं सिंगारिएर चिटिक्क पारिएको थियो । जसले गर्दा सहभागिहरुले छुट्टै रौनकता पाएका थिए । केहीले खानासँगै सेल्फी खिचेका थिए भने केहीले टिकटक र युट्युवका लागि भिडियोहरु समेत खिचेका थिए ।

तानसेनका स्थानीयहरु एक दिन सडकमै खाने, सडकमै नाच्ने र सडकमै रमाउन पाउँदा दंग परेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update