Erani Mahal
पाल्पाको भगवती रथयात्रा नेपालकै राष्ट्रियताको प्रतिक
1462359606gosthi

पाल्पा – नेपाल अग्रेज युद्धको सम्झनामा निकालिने श्री रणउजेश्वरी भगवतीको रथयात्राको पूर्णसन्ध्यामा तानसेनमा कर्णेल उजिरसिंह थापा र राष्ट्रिय स्वाभिमान विषयक विचार गोष्ठी गरिएको छ । तानसेन नगरपालिकाको आयोजना भएको गोष्ठीमा ईतिहासविद् एवं बुद्धिजीवि निर्मल श्रेष्ठ र साहित्यकार झपेन्द्र जिसिले कर्णेल उजिरसिंह, भगवती रथयात्रा र राष्ट्रियता सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै बुद्धिजीवि श्रेष्ठले भगवतीको रथ यात्रा पाल्पालीको मात्र नभएर नेपालको स्वाभिमान जोगाउनका लागि उजिरसिंह थापाले गरेको योगदानको चर्चा र यसलाई राष्टिय पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको गुठीलाई व्यवस्थित गर्नुपर्ने र ऐतिहासिक जात्रालाई पाल्पामात्र नभएर देशभरमै विजयको उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले भगवती रथयात्रालाई तानसेन डेको रुपमा मनाउन सकिने धारणा समेत राख्नुभयो ।


उजिरसिंह थापाको वीरता, धिरता र रणकौशलको चर्चा गर्दै विजयको प्रतिकको रूपमा भगवती रथयात्रालाई तिनै तहका सरकारले सहयोग गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । त्यस्तै अर्का कार्यपत्र पस्तुतकर्ता झपेन्द्रबहादुर जिसीले नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाले गरेको योगदानको चर्चा गदै अग्रेजसंगको युद्ध नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनता र स्वाभिमानका लागि रहेको बताउनुभयो । उहाँले भीमसेन थापा, रणबहादुर शाह, अमरसिंह थापाको नेतृत्वमा कुशलतापूर्वक नेपालको एकीकरण भएको दावी गर्नुभयो ।


लेखक जिसीले उजिरसिंहले गरेको युद्धका कारण अहिले हामी स्वाभिमानका साथ बाच्न सकेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले उजिरसिंहको योगदानको चर्चा मात्र गरेर नपुग्ने भन्दै स्थानीय पाठ्यक्रममा राष्ट्रिय स्वाभिभानका विषयमा विषयबस्तु समेट्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाको अध्यक्ष विशाल दर्लामी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, बरिष्ठ पत्रकार मेघराज शर्मा, सुन्दर श्रेष्ठलगायतले कार्यपत्रमाथि सुझाव दिनुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति बुद्धिप्रसाद शर्मा र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक शोभाखर न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।


कार्यक्रम तानसेन नगरपालिकाका प्रमूख अशोककुमार शाहीको अध्यक्षता र नागरिक समाज पाल्पाका सचिव भेषराज सुबेदीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संघीय सांसद सोमप्रसाद पाण्डेय, प्रदेश सभा सदस्य तुलाराम घर्तीमगर बसन्त, संविधानसभा सदस्य, नारायणी शर्मा घिमिरे, जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, पत्रकार, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रमूखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update