Erani Mahal
युवालाई स्वरोजगार बनाउने कार्यक्रमप्रति टोल विकास संस्था उत्साहित
Tol-Vikas-1

पाल्पा - समाज परिवर्तन र तानसेनको विकासका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहने नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो । तानसेन नगरपालिकाको आयोजना, टोल विकास संस्था समन्वय समितिका संयोजक केशवराज पौडेलको अध्यक्षता, ग्रामीण आर्थिक विकास संघ रेडा र युएनडिपीको सहयोगमा सम्पन्न टोल विकास संस्था र वडाअध्यक्षहरुको लागि युवाहरुका लागि उद्यमशीलता कार्यक्रमबारे छलफल कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरप्रमुख अशोककुमार शाहीले भन्नुभयो–“ तानसेनका महिलालाई गृहणीबाट उद्यमी बनाउनु पर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ ।

त्यसका लागि महिलाहरू अगाडि बढनुहोस् उत्पादनशील काममा सहयोग गर्न तानसेन नगरपालिका तयार छ । समृद्धि आत्मनिर्भरता र स्वाधिनताका लागि महिलाहरुले घरबाटै सानै भएपनि उत्पादनमूलक काम गर्न शुरु गर्नुहोस् ।” नगरप्रमुख शाहीले समाज समृद्ध बनाउन कृषिमा आधारित युवा उद्यमशीलतालाई प्रोत्साहन गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले पाल्पाली ढाका, करुवा लगायत परम्परागत सीप संरक्षणका लागि समेत नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । टोल विकास संस्थाहरुलाई सबल बनाउनुपर्छ भन्ने कुरामा नगरपालिका दृढ रहेको शाहीले प्रष्ट पार्नुभयो । उक्त अवसरमा नगर प्रमुख शाहीले भौतिक निर्माण मात्र विकास होइन सामाजिक दायित्व समेत महत्वपूण कुरा हो भनेर तानसेनले दलित अल्पसंख्यक महिला स्वास्थ्य स्वयसेविका, सरसफाइकर्मी र अपाङ्गता भएकाहरु समेत करीव १७ सय परिवारको निशुल्क स्वास्स्थ्य बीमा तानसेन नगरपालिकाले गरेको जानकारी गराउनु भयो ।


आय आर्जनका माध्यमबाट आत्मनिर्भर हुन चाहने तानसेन नगरपालिका भित्रका उद्यमशील युवालाई तानसेन नगरपालिकाले युएनडिपीको सहयोगमा बैंक मार्फत् बिना धितो ऋण प्रवाह गर्ने भएपछि यतिबेला तानसेन नगरबासी उत्साहित बन्न पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेका अनुसार तानसेन नगरपालिकाद्वारा सञ्चालित आर्थिक विकासका प्रमुख प्राथमिकता प्राप्त कार्यक्रमहरुमा दलित सशक्तिकरण, महिला स्वावलम्वी कार्यक्रम र युवा स्वरोजगार मुख्य रहेका छन् ।

टोल विकास संस्थासँगको छलफल कार्यक्रममा बोल्दै तानसेन नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले समृद्धिका लागि युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनु पर्छ भनेर तानसेनले यो कार्यक्रम ल्याएको बताउनु भयो । पाठकले महिलालाई आग्रह गर्दै खेतबारी बाझो नराखौँ, काम गरौँ उद्यमी बनौँ सहयोग गर्न नगरपालिका तयार छ भन्नु भयो । तानसेन वडा नं ६ का अध्यक्ष सागरमान महर्जनले नगरप्रमुखको नेतृत्वमा तानसेनले नेपालकै लागि नमूना कार्यक्रम शुरु गरेको बताउँदै यो कार्यक्रम हामी सबैको भनेर सफल पार्न सहयोग गर्न सबैसँग आग्रह गर्नु भयो ।

रेडाका कार्यक्रम अधिकृत राजेन्द्र कुँवरको सञ्चालन, टोल विकास संस्था समन्वय समितिकी सदस्य तथा कार्यपालिका सदस्य शशी श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा जानकारी दिदै टोल विकास संस्था समन्वय समितिका कोषाध्यक्ष सुदर्शन कोइरालाले १८२ टोल विकास संस्था नगरपालिकामा सूचीकृत भएको र करीव ९ करोड पूँजी परिचालन गरेको बताउनु भयो । नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष प्राप्तीका बारेमा सहजीकरण गर्नु भयो ।

उद्यमशीलता विकास कार्यक्रम, सरोकारवाला संस्थाहरुको भूमिका बारेमा जानकारी गराउँदै ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले प्रभावकारी ढंगले युवाहरुको लागि उद्यमशीलता विकास कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको सहयोगको खाँचो रहेको बताउनु भयो । उहाँले स्थानीय तहहरुमध्ये पहिलोपटक तानसेन नगरपालिकाले अगाडि सारेको यो सोच सकारात्मक रहेको बताउँदै युवा स्वरोजगारको अवस्थाबारे प्रस्तुती गर्दै कार्कीले १ सय जना युवा वा समूहलाई ऋण प्रवाह गरिने बताउनु भयो । उहाँले सञ्चारकर्मी लगायत लक्षित समुहमा समेत अभिमुखीकरण गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा टोल विकास संस्थाहरुको तर्फबाट सिर्जना टोल विकास संस्थाकी रमा पन्तले बोल्दै अति राम्रो कार्यक्रम हुनाले सबैले मिलेर सफल पार्न आग्रह गर्नु भयो । खुला छलफलमा रुद्रप्रसाद शर्मा, ओमप्रकास ढकाल, तुलबहादुर रावल, नुमा बस्याल, रिता भट्टराई, मिना ढुंगाना लगायतले सुझाव दिनु भएको थियो । अधिकाँश टोल विकास संस्थाका महिलाहरुले युवा स्वरोजगार कार्यक्रम उपयोगी र सान्र्दभीक छ भन्ने प्रतिक्रिया प्रकट गरेका छन् ।


कार्यक्रममा सहभागीहरुले सुझाव तथा जिज्ञासा राख्ने क्रममा बेरोजगार युवालाई समेटनुपर्ने, तानसेन भित्रका महिलासँग रहेको सीप संरक्षण र उत्पादन वजारीकरण गरिनुपर्ने, पाल्पाली ढाका तथा करुवा उद्योग ग्राम स्थापना गर्नुपर्ने, समूहगत रुपमा लागनीलाई प्राथमिकता दिनुपर्ने, ग्रामीण भेगका युवालाई समेटनुपर्ने, सबै वडाका युवाहरुलाई वडाअध्यक्ष मार्फत कार्यक्रमबारे जानकारी गराउनुपर्ने लगायतका सवाल उठाउनु भएको थियो ।


विभिन्न टोल विकास संस्थाका प्रतिनिधि र वडा सचिव तथा सरोकारवाला समेत करीव २ सय जनासहभागी कार्यक्रममा उठेका सवालको जवाफ दिने क्रममा नगरप्रमुख अशोककुमार शाहीले भन्नु भयो–महत्वपूर्ण र महत्वाकाङक्षी कार्यक्रम हुनाले सतर्कतापूर्वक अगाडि बढ्न जरुरी छ भन्ने सुझाव मनन गर्ने छौँ । तानसेन नगरपालिकाको युवा स्वरोजगार कार्यक्रमका लागि युएनडिपीले हामीलाई सहयोग गर्ने आँट गरेको छ, रेडा र नेपाल बैंक लिमिटेडले सहकार्यका लागि हात अगाडि बढाएका छन् ।

युवा स्वरोजगार कार्यक्रम सफल बनाउन महिलाहरुको समेत महत्वपूर्ण भूमिका रहने भएकाले सहयोगका लागि आग्रह गर्दछौँ ।” कार्यक्रममा बोल्दै टोल विकास संस्था समन्वय समितिका संयोजक तथा उक्त कार्यक्रमका अध्यक्ष केशवराज पौडेलले टोल विकास संस्थाहरुलाई सबल र सशक्त बनाएर नगरपालिकाको विकासमा सघाउने बताउनु भयो ।

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update