Erani Mahal
१५ थरी बाजा बजाउने पाल्पा रामपुरका ढकालकाे याे कला ....
65370426_925962001079546_4093443221403729920_n

पाल्पा - रामपुरका टीकाराम ढकालसँग गीत संगीतका साथी हुनुहुन्छ । उहाँसंग दर्जन बढी प्रकारका बाजा बजाउने कला छ । गीतमा सङ्गीत भर्न धेरै थरीका बाजाको सङ्ग्रह गर्दै आउनुभएका ५८ वर्षे ढकाललाई नयाँ बाजा बजाउने रहर अझै पनि मरेको छैन । रामपुर नगरपालिका–६ प्याक्लुकका ढकाल हार्मोनियम, मुुरली, मोहलीबाजा, मादल, सहनाई, सारङ्गी, अक्टुप्याडलगायत थुप्रै बाजा बजाउन सक्नुहुन्छ ।

तथापि सीप अनुसारको पहिचान भने हुन नसकेको गुनासो गर्नुभयो । सानै उमेरदेखि गाई चराउन जाँदा पात बजाउन देखि मुरली बजाउन थाल्नुभएका उहाँ अहिले करीब १५ थरीका बाजा बजाउन सक्नुहुन्छ ।

१२/१३ बर्षको उमेरबाट बाजा बजाउन थालेको उहाले बताउनुभयो । उहाको घरको कोठा बाजैबाजाले भरिएको छ । आजसम्म कुनै पनि तालीम नलिनुभएका उहाले कतै सिकेर भन्दा आफै गरेर जानेको बताउनुभयो। सानैदेखि गीत सङ्गीतमा निकै रुचि राख्ने उहाँले अहिलेका लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पङ्गेनी, लोकगायक भगवान भण्डारीलाई यस क्षेत्रमा लाग्न हौसला दिनुभयो । उहाँहरु सहित गित संगीतमा आउन इच्छा भएका कलाकारलाई चर्चित बनाउन उहाले पहल समेत गर्नुभयो ।

आफैँले सिकाएका धेरै व्यक्ति कलाकार बने, ढकालले भन्नुभयो, “म गाउँमै बाजा बजाएर बसे पनि गर्व लागेको छ कि नेपाली लोकदोहोरी गीतमा कमै बज्ने मोहली बाजासमेत मसँग छ र मैले बजाउँछु, अनि संरक्षण पनि गर्छु ।” नेपाली लोकगीतमा लोपोन्मुख उक्त बाजा अहिले थोरै मात्र गीतमा बजेको पाइन्छ ।

गाउँघरमा जातीय हिसाबले गन्र्धवले बजाउने सारङ्गी तथा दमाईंले बजाउने सहनाईलगायत ट्याम्पो र ढोलकसमेत आफूले बजाउने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “जोसँग जे जस्तो सिर्जना छ उसले त्यै प्रस्तुति दिने हो । जातभातको कुरा गर्नुहुँदैन ।” अहिलेसम्म कुनै सप्ताह तथा महायज्ञमा जातीय विभेदका कारण नै समाबेश नगरिएका सारङ्गी र सहनाई पनि यस क्षेत्रमा भित्र्याउनुभएको हो । ढकालले वाद्यवाद्यनकै माध्यमबाट जातीय विभेदसमेत तोडेको जिकिर गर्नुभयो ।

स्थानीयस्तर देखि देशका विभिन्न स्थानमा भएका महायज्ञ सप्ताहमा भजनकिर्तन तथा पूजा आरधनामा सङ्गीत दिनु पुग्नु भएको छ। अहिले सम्म काठमाडौ, चितवन, देवघाट, नेपालगन्ज, बुटवल, पोखरा सहित देशका धेरै स्थानमा पुगेको उहाले बताउनुभयो ।

रामपुर भजनकिर्तन मण्डलीको अध्यक्षसमेत रहनुभएका उहाँले व्यावसायिक रुपमा आफू चर्चामा आउन नसके पनि स्थानीय इच्छुक नागरिकलाई सीप हस्तान्तरण गर्ने सोचमा रहेको बताउनुभयो ।रामपुर नगरपालिकाको सहयोगमा उक्त संस्थाको भवन निर्माण पछि वाद्यवाद्यन सिकाएर धेरै सङ्गीतकर्मी बनाउने ढकालको सोच छ ।

भिडियाे हेर्नुहाेस् https://www.facebook.com/bishnumalla.thakuri.77/videos/2172580722953401/?t=9

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update