Erani Mahal
तलब बढाएर हाेइन, एक गाँस काटेर मुलुक बनाउने प्रस्ताव आउनुपर्थ्याे : नेता शर्मा
bisho-prakash-sharma-1

पाल्पा - प्रमूख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पत्रकारको घाटीमा तरबार झुण्ड्याएर लोकतन्त्रमाथि प्रहार गर्न खोजेको आरोप लगाउनुभएको छ । मिडिया काउन्सिलको विद्ययेकले पत्रकारले स्वतन्त्र रुपमा लेख्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गरेको भन्दै शर्माले पत्रकारको जीवनलाई असुरक्षित बनाएर सरकार अघि बढ्न नसक्ने बताउनुभयो ।


नेपाल प्रेस युनियन पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले लोकतान्त्रिक मुलुकमा पनि पत्रकारले जथाभावी लेख्न नपाउने भन्दै प्रेस काउन्सिल आफैँले पत्रकारको आचारसंहिता बनाउन सक्ने धारणा राख्नुभयो । पत्रकारिता क्षेत्रलाई मर्यादित र अनुशासित बनाउने हो भने काउन्सिल आफैले आचारसंहिता बनाउनुपर्छ प्रवक्ता शर्माले भन्नुभयो सरकारले नियन्त्रण गर्न खोज्नु राम्रो होइन ।


सरकारले अहिले लोकप्रियता प्राप्त गर्न बजेट ल्याएको भए पनि कार्यान्वयनमा भने चुनौती देखिएको उहाँले बताउनुभयो । कतिपय बजेट तथा कार्यक्रम राम्रो भए पनि मूलतः बजेट तलब बढाउनमा केन्द्रित भएको उहाँको टिप्पणी छ । सरकार र प्रधानमन्त्री लोकप्रिय बन्न खोजेको हो भने र साँच्चै राष्ट्र बनाउन खोजेको हो भने एक रुपियाँ गाँस काटेर मुलुक निर्माण गर्ने प्रस्ताव ल्याउनुपथ्र्यो प्रवक्ता शर्माले भन्नुभयो ।


नेकपाको संसदमा दुई तिहाई छ भनेर संसदीय प्रक्रिया र बिधि मिचे पनि काङ्ग्रेस जिम्मेवार भएर सडकमा नगएको उहाँको भनाई छ । विगतको नेकपा एमालेले छाँया सरकारको अभ्यास गरेको स्मरण गर्दै उहाँले छाँया सरकारबाट सरकारको गतिबिधिमा निगरानी हुनु राम्रो हो भन्नुभयो । छाँया सरकारले वर्तमान सरकारको राम्रो कामलाई सहयोग र नराम्रो कामलाई रोक्ने उहाँको भनाई छ ।

नेता शर्माले चन्दा आतङ्क र हत्या हिंसा छाडेर मूल राजनीतिमा आउन विप्लवलाई उहाँले आग्रह गर्नुभयो । नेपाली काङ्ग्रेसले हिजो प्रचण्डलगायतका सबै नेताहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको भन्दै अहिले प्रधानमन्त्री केपी शर्माओलीले विप्लवलाई मूल धारमा ल्याउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update